+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मध्यपुरथिमिमा महाकाली नाचको रौनक

रासस रासस
२०८१ भदौ ८ गते १५:३५

८ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा परम्परागत बाजा र देवीदेवताको नाच प्रदर्शन भइरहेको छ ।

गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पच्चमी अर्थात शनिबार रातिसम्म तीन दिन र चार रात टोलटोलमा विभिन्न देवी देवताका मुकुण्डो धारण गरेको हातमा विभिन्न देवी देवताले बोक्ने हतियार बोकेर नील बाराही, भैरव र महाकाली विभिन्न देवी देवताका प्रतीक देवगणका नाचिरहेका छन् ।

सदियौँदेखि चल्दै आएको यी जात्रा एवं नाचहरु कहिले र कसको पालादेखि सञ्चालनमा आयो भन्ने यकिन तथ्य नभेटिए पनि पुर्खौदेखि तान्त्रिक शक्ति र दस्तावेजका आधारमा मन्त्र एवं तचन्त्रको आधामार दैवी शक्तिलाईै ऊर्जावान बनाइ नाचिदै आएको छ ।

मध्यपुरथिमिमा नाचिन नील बाराही नाच देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको र पुस्तौँदेखि पुस्तान्तरण हुँदै चल्दै आएको भए पनि भैरव तथा महाकाली नाच भने धेरै वर्ष रोकिदै पुन: चल्दै आएका छन् । यद्यपि केही वर्षयता भने यी नाचले पनि निरन्तरता भने पाइरहेका छन् ।

परापूर्वकालमा भूत, प्रेत, पिचासलगायतका राक्षसी शक्तिले यहाँका बासिन्दालाई दैनिक दुःख दिने, मार्ने, खाने गरेपछि दैवी शक्रिलाई उजागर गरेर तान्त्रिकले तन्त्र विद्याद्वारा मध्यपुरथिमि भित्रका तीन देश अर्थात, बोडे, नगदेश र थिमिमा यी नाचहरु नचाउन थालेपछि भूत, प्रेत, पिसाचहरु आउन छाडेको र यहाँका बासिन्दा सुरक्षित रहेको किम्बदन्ती रहदै आएको छ । दैवी शक्तिको आधारमा नाचिनै आएका यी नाचहरु बोडे देशमा नील बाराही, नगदेशमा महाकाली र थिमिमा भैल अर्थात भैरब नाच प्रर्दशन गरिने गरिन्छ ।

ठूलो शक्ति पीठको रुपमा मानिने मध्यपुरथिमिको बोडेको प्रसिद्ध नीलबाराही मन्दिरलाई आधार मान्दै अनवरतत रुपमा युगौदेखि चल्दै आएको नीलबाराही नाचले रात बिहान केही नभनी बोडेबासीलाई जगाइ रहेको छ ।

बोडेमा भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल टोलमा प्रर्दशन गर्ने गरिन्छ । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जनाको नाचमा प्रतक्ष्य संलग्नता रहने गर्दछ ।

बोडेको लाकुछेँ अर्थात देवता घरबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन: खासी टोल भएर लाकुछेंमा आएर मुकुण्डो निकाले पछि समापन हुने स्थानीय दीलकृष्ण प्रजापतिले जानकारी दिए । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान दक्षिणा दिने परम्परा रहेको उनले बताए ।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नु पर्ने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने मध्यपुरथिमि नगरपालिकाका वडा नं. ८ का वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले बताए ।

विगत २६ वर्षदेखि पोङ्गा पुजामा सहभागी हुदै आएका ४५ वर्षीय रोमन धों श्रेष्ठ आफ्नो पुर्खाको आठ पुस्ता अगाडिदेखि नील बाराही नाचमा सहभागिता रहदै आएको बताउदै उनले देवगण फेरिदाँ पनि पोङ्गा पूजाको कोटा नफेरिने बताउँछन् । नाचमा सहभागी हुने देवगणको मृत्यु भएमा वा नीलबाराही देवीको दैवी शक्तिले बाहेक अरु अबस्थामा देवगण फेर्न नपाइने प्रचलन छ ।

नाच अवधिभर देवगणले खान हदैन, भुईमा बस्न हुदैन, कसैसँग बोल्न हुदैन, घामपानीमा छाता ओड्न हदैन, दिशा पिसाब गर्न हुदैन र जुत्तासमेत लगाउन हुदैन, नाच नाच्नेहरुले निकै कडा नियमको पालना गर्नुपर्छ ।

देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालु (सहयोगी)को काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।

नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुदैन । परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ । नाच अबधीभर राती टोलटोलमा नाचने र बिहानदेखि पूजा गर्नेको भीड लाग्छ ।

मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चाररात मनाईने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरबनाचले यतिखेर मध्यपुरथिमिमा रौनकता थपेको छ ।

मध्यपुरथिमि‐५ ताहनानीबाट यसवर्ष निकालिएको भैरब नाच अर्थात भैल प्याँख भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमि क्षेत्रभर नचाईएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ ।

यसवर्ष थिमि भैलः प्याखँमा कृशल प्रजापतिले ज्यापुंग, अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी, साहिल प्रजापतिले लिपा दाँगीको भूमिका निर्वाह गरिरहेका छन् ।

धाँ बाजा, भुस्या, मुवाली र पुँगा बाजाको तालमा तहाननी द्यः छें बाट सुरु भएको भैल प्याँख थिमिको बिभिन्न टोलमा नचाईएको र हरेक दिन राती ९ बजेपछि सुरु भइ रातभर नाच्ने थिमि भैलः ताहननी व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले बताए ।

यसैगरी मध्यपुरथिमि‐७ नगदेशमा पाँच वर्षपछि परम्परागत एवम् मौलिक महाकाली प्याखँ (नाच) प्रदर्शन भएको छ । कूल १६ देवीदेवता रहने यस नाचमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भुत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ रहन्छन् ।

यसवर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डंगोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवालले देवगण बनेर महाकालीमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा नाचिरहेका छन् ।

मध्यपुरथिमिलाई भुतप्रेत, पिचास र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा शुरु भएको भैल नाचका गुरु अर्जनु श्रेष्ठ बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?