News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद विक्रम तिमिल्सिनाले घाँटी संक्रमणका कारण सहज रूपमा बोल्न नसकेको र मतदातासँग सम्पर्कमा आउन नसकेको बताएका छन्।
- चुनावी दौडधुपमा नेताहरूमा अनिद्रा, उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या र मानसिक तनाव बढ्ने चिकित्सकहरूले बताएका छन्।
- नेकपा एमाले नेता खगेन्द्र राई चुनावी दौडधुपका कारण बेहोस भएर मृत्यु भएका छन्, चिकित्सकले हृदयघातको अनुमान लगाएका छन्।
२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विक्रम तिमिल्सिना घाँटी संक्रमण (टन्सिलाइटिस)ले सहज रूपमा बोल्न सकेका छैनन् । निद्रा कम, खानपान अनियमित र लगातार भाषणले उनको घाँटी समस्या देखिएको हो।
तिमिल्सिनाले सामाजिक सञ्जाल मतदातालाई धन्यवाद दिंदै भनेका छन्, ‘केही दिनदेखि सहज रुपमा बोल्न सकेको छैन । तपाईंहरूको फोन उठाउन सकेको छैन । बोल्न मिल्ने बित्तिकै सम्पर्कमा रहनेछु ।’
चिकित्सकका अनुसार चुनावमा सक्रिय नेता, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मीहरूले पर्याप्त पानी पिउनु, समय मिलाएर खाना खानु, सकेसम्म आराम लिनु र स्वास्थ्य परीक्षण गरिरहनु आवश्यक हुन्छ । तर, उनीहरूले व्यवस्ताका बेला शरीरको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिने जोखिम उत्तिकै रहन्छ ।
२१ फागुनको निर्वाचनमा ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए । २ लाख १५ हजार त सरकारी कर्मचारी नै खटिएका थिए ।
त्यस्तै, प्रत्यक्ष उम्मेदवार ३ हजार ४०६ र समानुपातिक उम्मेदावर ३ हजार ३१३ थिए ।
चुनावी दौडानमा उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या, अनिद्रा, पाचनसम्बन्धी समस्या र स्वरसम्बन्धी समस्या धेरै नेतामा देखिने चिकित्सक बताउँछन् ।
अभियानमा रातभरि यात्रा र कार्यक्रमले निद्रा बाधा पुर्याउने र अनियमित खानपानले पेट र पाचन प्रणालीमा असर पार्ने उनीहरूको भनाइ छ । ‘नेताहरूको जीवनशैली चुनावी बेला अनियमित हुन्छ । तनाव, भीडभाड र लामो भाषणले शरीरमा अत्याधिक दबाब आउँछ’, मनोचिकित्सक डा. सगुनबल्लभ पन्त भन्छन्, ‘चुनावी दौरानमा धेरै नेतामा थकान, ब्लड प्रेसर र घाँटी सम्बन्धी समस्या देखिन्छ ।’
न्युरो रोग विशेषज्ञ डा. राजिव झाका अनुसार चुनावी प्रचारप्रसारका बेला नेताहरू घरदैलो, सभा–समारोह र कार्यकर्ता भेटघाटमा निरन्तर व्यस्त रहँदा नियमित जीवनशैली बिग्रिने गर्दछ । ‘सामान्यतया मानिसलाई आठ घण्टा सुत्ने, आठ घण्टा काम गर्ने र केही समय आराम वा मनोरञ्जनका लागि छुट्याउन स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ’, डा. झा भन्छन्, ‘तर चुनावको समयमा त्यो नियम नेताहरूले पालनै गर्दैनन् ।’
अन्य समयमा मतदातासँग प्रत्यक्ष भेटघाट नहुँदा नेताहरूलाई चुनावको बेलामा धेरै समय घरदैलो अभियानमा खर्च गर्नुपर्ने उनको भनाइ छ । त्यसका कारण उनीहरू लामो समयसम्म पर्याप्त आराम र नियमित जीवनशैलीबाट टाढा रहने गर्छन् ।
यस्तो बेलामा नेताहरू अधिक तनावमा हुन्छन् । तनावले शरीरका विभिन्न अंगलाई असर गर्ने मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेल बताउँछन् । ‘तनावले अनिद्रा निम्त्याउँछ । अनिद्राले थप तनाव बढाउँछ’, डा. पौडेल भन्छन्, ‘यस्तो प्रक्रियाले मानव शरीरका हरेक अंगलाई असर गर्छ । तर सबैभन्दा बढी असर मुटुमा पर्छ ।’
लामो समय तनाव भइहँदा ‘सिम्पथेटिक’ स्नायुप्रणाली सक्रिय हुन्छन् । त्यससँगै ‘कर्टिसोल’ हार्मोन शरीरमा निस्कन्छ ।
यो हर्मोनको वृद्धिले मुटुको धड्कन छिटो छिटो कम्पन गराई रक्तचाप बढाउँछ । जसकारण मुटुमा रक्तनलीहरू साँघुरिन्छ । यसले मुटुको धड्कन बढाउने, रक्तनली साँघुरो बनाउने र अन्ततः मुटुमा गम्भीर असर पार्नेगर्छ ।
त्यसैगरी चिकित्सकका अनुसार अनियन्त्रित रक्तचापले मुटुका मांसपेशीहरूलाई कमजोर बनाउँछ । मिर्गौलाको कार्यक्षमता घटाउँछ र मस्तिष्कमा स्ट्रोकको जोखिम बढाउने गर्छ । मुटुका मांसपेशी कमजोर हुँदा नसामा बोसो र रगतको ढिक्का जम्न पुग्छ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयघात हुने चिकित्सक बताउँछन् ।
मतदानको अघिल्लो दिन २० फागुनमा खोटाङ ऐसेलुखर्क गाँउपालिका–७, माक्पामा यस्तै घटना भयो । नेकपा एमाले नेता खगेन्द्र राई प्रतिनिधि सभाको चुनावका लागि दुई हप्तादेखि अत्याधिक दौडधुप गर्दै थिए । त्यसदिन उनी माक्पाकै च्यानटारमा आफन्तको घरमा पुजाको निम्तो मानेर फर्किने क्रममा बाटोमा बेहोस भए । स्थानीयहरूले केही बेरमा नजिकैको जाल्पा सामुदायिक अस्पतालमा पुर्याए । तर, उनको उपचारको क्रममा मृत्यु भयो । एमाले पूर्व केन्द्रीय सदस्य समेत रहेका खगेन्द्रमा उच्च रक्तचापको समस्या थियो ।
माक्पाका वडाअध्यक्ष अरुण राईका अनुसार खगेन्द्र बाइकमाथि शरीर राखेर अडिएको अवस्थामा भेटिएका थिए । ‘उहाँमा छाती दुख्ने समस्या पनि थियो । प्रेसरको औषधि पनि सेवन गर्नुभएको थियो’, वडाअध्यक्ष राईले भने, ‘चुनावी दौडधुपले पनि होला केहीदिनदेखि प्रेसर लो भएको बताउँदै आउनुभएको रहेछ ।’
चिकित्सकले खगेन्द्रको मृत्युको कारण ह्रदयघात हुनसक्ने अनुमान लगाएका छन् । चिकित्सकका अनुसार अधिकांशले आफूलाई ‘स्वस्थ’ ठान्छन् । तर वास्तवमा कतिपयले स्वास्थ्य परीक्षण गरेका हुँदैनन् । जसका कारण अचानक स्वास्थ्य समस्या निम्तिन सक्छ । ‘स्वास्थ्य अवस्था थाहा नभई चुनावी दौडधुपमा होमिँदा स्वास्थ्यका विभिन्न जोखिम धेरै हुन्छ’, डा. पौडेल भन्छन् ।
एकपटकको तनाव मात्रै होइन, निरन्तर र दीर्घकालीन तनावले गम्भीर रोगहरू निम्त्याउन सक्छ । डा.पौडेलका अनुसार, लामो समयसम्म चलिरहने तनावले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो बनाउँछ । जसले मधुमेहको जोखिम बढाउँछ । यसका साथै, शरीरको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ । सामान्य रुघाखोकी पनि लम्बिने हुन्छ र सानो संक्रमणले पनि ठूलो रूप लिन सक्छ ।
न्युरोरोग विशेषज्ञ डा. राजिव झा चुनावी कारणले ओपीडीमा आएका बिरामीमध्ये नेतादेखि कार्यकर्तासम्ममा डिप्रेसन, एन्जाइटी र अनिद्राका समस्या लिएर आउने गरेको बताउँछन् । ‘कतिपय नेतालाई चुनावको नतिजाले ले पनि मानसिक दबाब बढाउँछ । विशेषगरी पराजित भएका नेताहरू वा कार्यकर्तामा निराशा, चिन्ता र निद्रा नलाग्ने समस्या देखिन्छ’, डा. झा भन्छन् ।
‘चुनावले बढ्न सक्छ मानसिक तनाव’
चुनावी प्रतिस्पर्धा, जित–हारको दबाब र कार्यकर्ताको अपेक्षाले नेताहरूमा मानसिक तनाव बढाउँछ । कहिलेकाहिँ चिन्ता, अनिद्रा र मानसिक थकान पनि देखिन्छ ।
निर्वाचन सकिएपछि राजनीतिक दलका नेता तथा उम्मेदवारहरूमा मानसिक तनाव देखिन सक्ने मनोचिकित्सक बताउँछन् । चुनावी प्रतिस्पर्धाको तीव्र दबाब, हार–जितको परिणाम, ठूलो आर्थिक खर्च तथा सामाजिक अपेक्षाले नेताहरूको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने डा. पन्त बताउँछन् ।
डा.पन्तका अनुसार चुनावमा हार–जित राजनीतिक प्रक्रियाको स्वाभाविक पक्ष भए पनि अप्रत्यासित परिणाम आउँदा केही उम्मेदवारमा मनोवैज्ञानिक समस्या देखिन सक्छ । ‘चुनावमा लामो अनुभव भएका नेताहरूले हार–जितलाई स्वाभाविक प्रक्रियाको रूपमा लिन्छन् । तर अपेक्षा विपरीत परिणाम आउँदा केही व्यक्तिमा हिनताबोध, आशाहीनता वा तनावका लक्षण देखिन सक्छन्’, डा. पन्त भन्छन् ।
पन्तका अनुसार यस्तो अवस्थामा अनिद्रा, डर, अनिश्चय, आत्मबल कमजोर भएको अनुभव, मानिसहरूबीच जान संकोच हुने जस्ता लक्षण देखिन सक्छन् ।
अधिकांशमा यस्तो तनाव समयसँगै कम हुँदै जान्छ । राजनीतिक दलभित्र हुने छलफल, समीक्षा तथा नेताहरूबीचको संवादले पनि परिस्थितिलाई सामान्य बनाउन सहयोग बनाउने उनको भनाइ छ ।
पहिले नै मानसिक स्वास्थ्य समस्या भएका वा स्वभावले अत्यधिक चिन्तित हुने व्यक्तिहरूमा समस्या केही बढ्न सक्ने पन्त बताउँछन् ।
चुनावमा ठूलो आर्थिक लगानी हुने भएकाले हारसँगै आर्थिक दबाब पनि थपिन सक्ने उनी बताउँछन् । साथै, सामाजिक सञ्जाल र सार्वजनिक टिप्पणीका कारण उम्मेदवारहरूलाई आलोचना वा आरोपको सामना गर्नुपर्दा थप मानसिक दबाब पर्न सक्ने उनको भनाइ छ ।
डा. पन्तका अनुसार चुनावको परिणामपछि पहिलो एक महिना मनोवैज्ञानिक रूपमा संवेदनशील समय हुन सक्छ । उक्त अवधिमा केही व्यक्तिलाई काउन्सिलिङ वा विशेषज्ञ सहयोग आवश्यक पर्न सक्छ ।
‘राजनीतिज्ञ पनि मानिस नै हुन् । हारलाई जीवनको अन्तिम पराजय जस्तो नलिएर आत्ममूल्यांकन गर्ने अवसरका रूपमा लिनुपर्छ,’ डा. पन्त भन्छन् ‘यदि डर, अनिद्रा, त्रास वा मानिससँग भेटघाट गर्न गाह्रो हुने अवस्था हुँदा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु उपयोगी हुन्छ ।’
प्रतिक्रिया 4