+
+
Shares

प्रस्तावित राजदूतको सुनुवाइ : सांसदलाई बैठक सक्नै हतार

करिब डेढ घण्टा चलेको संसदीय सुनुवाइ सुन्दा यस्तो लाग्थ्यो, सांसदहरुलाई कति बेला सुनुवाइको औपचारिकता पूरा गर्ने भन्ने मात्र हतार थियो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ भदौ १८ गते २०:३१

१८ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले मंगलबार कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलको सुनुवाइ गर्‍यो । बिहान साढे ११ बजेबाट सुरु भएको सुनुवाइका क्रममा न सांसदले गहकिला प्रश्न गरे, न प्रस्तावित राजदूतले चाहे जति जवाफ दिन पाए ।

करिब डेढ घण्टा चलेको संसदीय सुनुवाइ सुन्दा यस्तो लाग्थ्यो, सांसदलाई कति बेला सुनुवाइको औपचारिकता पूरा गर्ने भन्ने मात्र हतार थियो ।

प्रस्तावित राजदूतलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न सुरुमा २० मिनेट समय दिइएको थियो । लिखित रूपमा तीन पेजको कार्ययोजना पेश गरेका उनले त्यसको व्याख्या गर्न थाले ।

नेपाली कामदारहरूको प्रमुख रोजगार गन्तव्य कतार भए पनि भोलिका दिनमा त्यो अवस्था रहन नसक्ने बताए । ‘ज–जसको सम्झौता सकिएको छ तिनलाई फिर्ता पठाउन नीति कतारले लिंदैछ, यसले नेपालीहरू थप मारमा पर्न सक्छन्’, पौडेलले भने । एआई लगायत सूचनाप्रविधिको विकासका कारणले समेत अदक्ष कामदार कटौतीको नीति कतारले लिनसक्ने भएकाले नेपाल सरकारले ख्याल गर्नुपर्ने सुझाए ।

आफू राजदूत भएर गए कतारबाट नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाए । पोखरा र भैरहवा विमानस्थलमा कतारबाट जहाज उडानका लागि पहल गर्ने र नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना पौडेलले सुनाए । ‘उताबाट पर्यटक लिएर आउने र यता (पोखरा र भैरहवा विमानस्थल) बाट नेपाली उत्पादन पठाउन सकियो भने दुवै देशको हितमा हुन्छ’ उनले भने, ‘यसमा मेरो पहल हुनेछ ।’

उनले नेपाल र कतारको सम्बन्ध कस्तो अवस्थामा छ ? अब कस्तो बनाउन भूमिमा खेल्ने ? नेपालले कतारबाट के कस्ता लाभ लिन सक्छ ? कतारमा रहेका नेपालीहरूको अवस्था के छ ? जस्ता विषयमा बोल्न खोजेका थिए । तर समय नै पाएनन् ।

‘पौडेलजी अब सकियो । किनभने हामीले तपाईंको (कार्ययोजना) हेरेका छौं । २० मिनेट समय दिएको २५ मिनेट भइसक्यो । व्याख्या गर्न थाल्नुभयो भने अझै एक घण्टा लागिहाल्छ’ समिति सभापति ईश्वरीदेवी न्यौपानेले भनिन्, ‘अब टुंग्याउनेतिर लाग्दा हुन्छ ।’

त्यसपछि पौडेलले थप दुई मिनेट समय मागे । दूतावासको संरचनामा सुधार लगायत कार्य गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि पहल लिने प्रतिबद्धता जनाए ।

त्यसपछि सांसदहरूले प्रश्न सोधे । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ‘कतारबाट नेपालमा कसरी लगानी भित्र्याउन सक्छौं’ भनेर सोधे । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्ययोजनामा आवश्यक मिहिनेत नपुगेको टिप्पणी गरे । ‘कार्ययोजना ठीकै छ, नराम्रो छैन । तर अझ मिहिनेत चाहिएको जस्तो देखिन्छ’, उनले भने ।

नेपालमा उच्चस्तरीय भ्रमणका लागि पहल लिनुपर्ने र कतारमा रहेका नेपाली कामदारहरूले सामाजिक सुरक्षा, सेवा/सुविधा र सहुलियत पाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।

एमाले सांसद लीलानाथ श्रेष्ठले एक महिनादेखि शव नेपाल ल्याउन नसकिएको भनेर कतारबाट फोन आउने गरेको सुनाए । यसमा कसरी काम गर्नुहुन्छ भनेर प्रश्न सोधे । कतारमा निकट भविष्यमा पानीको समस्या हुनसक्ने भन्दै एमाले सांसद श्रेष्ठले नेपालबाट निर्यात गर्नका लागि के गर्न सकिन्छ भनेर पनि पौडेललाई सोधे ।

सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कटाक्ष गरिन्, ‘आज मलाई के लागिरहेको छ भने प्रस्तावित राजदूतले बोल्दै गर्दा हामी विद्यार्थी, हजुर प्राध्यापक जस्तै ।’

माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले कतारले पेट्रोलियम पदार्थको सन्दर्भमा प्रविधिको प्रयोग गरेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिक्न सक्ने विषयमा ख्याल गर्न सुझाए ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले राजदूतलाई आराम गर्ने पदका रुपमा बुझ्न थालेको भन्दै यसलाई चिर्ने गरी काम गर्न सुझाए । एमालेकी सांसद ईश्वरी घर्तीले कतारमा रहेका नेपाली महिला कामदार समस्यामा पर्ने, असुरक्षित रहेको गुनासो आउने गरेको बताइन् ।

नेपालीले राजदूतलाई भेट्न नपाउने गरेको भन्दै उनले सोधिन्, ‘त्यहाँ रहेका नेपालीहरूले यहाँलाई सजिलै भेट्न पाउनुहुन्छ कि पाउनुहुन्न ? त्यो वातावरण बन्छ कि बन्दैन ?’

प्रस्तावित राजदूत पौडेलले जवाफ दिने क्रममा आफ्नो अध्ययन/अनुसन्धान कामदारको हक–अधिकारसँग सम्बन्धित रहेको भन्दै पृष्ठभूमि सुनाए । अनि राजदूत भएमा नेपाली कामदारको अधिकतम हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

खाडी मुलुकमा काम गर्न जाने अदक्ष कामदारहरु जोखिमयुक्त क्षेत्रको काममा पुग्ने गरेको उनले सुनाए । ‘मस्ट डिफिकल्ट, मस्ट डेन्जरस र मस्ट डर्टी । यस्तो श्रममा मात्रै नेपालीहरू बढी छन् भनेर भनिन्छ’ प्रस्तावित राजदूत पौडेलले भने, ‘यस्ता मजदुर कतारमा २० लाख रहेको र त्यो दक्षिणएसिया अथवा दक्षिण पूर्वी एसियाबाट नै छ ।’

नेपालले नेपाली कामदारको तलब वृद्धिको प्रस्ताव राख्दा कतार सरकारले अन्य मुलुकका कामदारहरू पनि भएकाले एउटा देशको मात्रै बढाउन नसकिने जवाफ दिने गरेको उनले सुनाए । आफू राजदूत भएमा कतारमा कामदार पठाउने देशहरूको क्लब मार्फत कामदारको तलब वृद्धिको विषय उठान गर्ने प्रतिबद्धता जनाए ।

महिला कामदारलाई फोन समेत नदिने समस्या रहेको आफ्नो जानकारीमा रहेको भन्दै पौडेलले उनीहरुको शारीरिक र मानसिक सुरक्षाको लागि काम गर्नुपर्ने बताए । ‘जे पहल गर्नुपर्छ, त्यो पहल गर्नमा मबाट कमी हुँदैन’, प्रस्तावित राजदूत पौडेलको प्रतिबद्धता छ ।

नेपालको वैदेशिक व्यापार र प्रत्यक्ष लगानी नेपाल भित्र्याउने पहल लिने सुरुकै प्रतिबद्धता दोहोर्‍याए ।

पौडेलले करिब ८ मिनेट बोलेपछि समिति सभापति न्यौपानेले रोकिन्, ‘सकियो होइन, अब ?’

पौडेलले श्रमसँग सम्बन्धित विषय सकिएको जवाफ दिए ।

तर सभापति न्यौपानेले रोक्दै भनिन्, ‘श्रममा मात्रै १० मिनेट लगाइदिनुभयो भने त गाह्रो हुन्छ ।’

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाएकाले पनि सुनुवाइ प्रक्रिया छिटो गर्नुपर्ने उनको जोड थियो । ‘जानकारी सबै छ । यहाँले त्यसको कार्यान्वयन गर्नु नै हुन्छ, लेख्नु पनि भएको छ’ सभापति न्यौपानेले भनिन्, ‘अब छोट्याउनुस् ।’

समिति सभापतिले रोक्न खोजेपछि प्रस्तावित राजदूत पौडेलले आफूले इरानमा पनि काम गर्नुपर्ने स्मरण गराए । ‘इरानको बारेमा मैले चर्चा नै गरेको छैन । जहाँ मैले काम गर्नुछ’, पौडेलले भने ।

वैदेशिक व्यापारका लागि पानी, चिया लगायत नेपाली उत्पादन निर्यात गर्न सकिने भए पनि उत्तिकै जटिलता रहेको बताए । यसका लागि हुने अनुसन्धानमा राज्यको लगानी चाहिने बताए ।

पौडेललाई सभापति न्यौपानेले फेरि रोकिन्, ‘११ मिनेट भयो ।’

पौडेलले भने वैदेशिक व्यापार प्रवर्द्धन र विदेशी लगानी भित्र्याउनका लागि दुवै पक्षले विन–विनमा कारोबार गर्ने भएकाले यस अनुकूल नीति–नियम चाहिने बताए ।

त्यसपछि भने सभापति न्यौपानेले प्रस्तावित राजदूतलाई कटाक्ष गरिन्, ‘आज मलाई के लागिरहेको छ भने प्रस्तावित राजदूतले बोल्दै गर्दा हामी विद्यार्थी, हजुर प्राध्यापक जस्तै ।’

पौडेलले आफूले अझै केही राख्न चाहेको बताए । ‘अरु केही कुराहरू छुटेका छन्’ उनले भने ।

त्यसपछि सांसदहरूले ‘अब पछि भन्दा हुन्छ’ भनेर बिदा हुन सुझाए । बोल्नै नपाएपछि प्रस्तावित पौडेलले सांसदहरूसँग क्षमा माग्दै भने, ‘धेरै धेरै धन्यवाद, म क्षमा चाहन्छु । किनभने डेढ घण्टाको क्लास लिने बानी लागेको हुनाले पनि हो । धेरै धेरै धन्यवाद ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?