+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हदको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:०८

१३ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने माग प्रतिनिधिहरुले राखेका छन् ।

विधान र राजनीतिक प्रतिवेदन माथि आइतबार विचार राख्ने क्रममा प्रतिनिधिहरुले ३२ वर्षे उमेर हद लागु गर्नुपर्ने मत राखेका हुन् । प्रस्तावित विधानमा अर्को राष्ट्रिय सम्मेलन पछि ३२ वर्षे उमेर हदको लागु हुने व्यवस्था राखिएको छ ।

प्रस्तावित विधानमा भनिएको छ, ‘आगामी राष्ट्रिय सम्मेलनपछि ३२ वर्षे उमेर पार गरेको व्यक्ति संगठनको कुनै पनि तहको जिम्मेवारीमा रहन योग्य मानिने छैन ।’ उमेर हदको पक्ष र विपक्षमा मतहरु आएको राष्ट्रिय सम्मेलनमा सहभागीहरुले जानकारी गराएका छन् । आठ प्रदेशको संरचनामा बहुमत प्रदेशबाट उमेर हद कायम राख्नुपर्छ भन्ने मत आएको उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिए ।

३२ वर्ष उमेर पार नभएकाले उमेर हदको माग राखेको अखिल क्रान्तिकारीका नेता मदन ढकालले जानकारी दिए । ‘३२ वर्ष पार गरेकाले उमेर हदको कुरा गरेका छैनन्’, ढकालले अनलाइनखबरसँग भने,‘यो मुद्दा अलि बढी स्ववियु सभापतिहरुले उठाएका छन् ।’

अखिल क्रान्तिकारीको एजेण्डा अनुसार त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद लागू गरेको थियो । तर, संगठनभित्र भने उमेरहद लागु गरिएको छैन । अखिल क्रान्तिकारीमा उमेर हदको विषय सुरुमा ल क्याम्पसबाट उठेको थियो ।

नयाँ पुस्ताका सबैजसो उमेर हद लागु गर्नु पक्षमा देखिएका छन् । उम्मेदवारका आकांक्षी तर उठ्न नपाउने वा जित्न नसक्नेले पनि उमेर हदमा लचक देखिएको राष्ट्रिय सम्मेलनका एक प्रतिनिधिले बताए । ‘यसको विरोध गर्नेले ३२ नै किन? अझै तल उमेरहद राखौं भन्ने तर्क पनि राखेका छन्’, ती प्रतिनिधिले भने ।

अखिल क्रान्तिकारीका नेताहरुका अनुसार ३२ वर्षे उमेर हद लगाउँदा अहिले अध्यक्षमा दाबी गर्ने सबैजना उम्मेदवार हुन पाउने छैनन् । अध्यक्षका लागि १८ जनाले दाबी गरेका छन् । राष्ट्रिय सम्मेलनमा ३५ वर्षको उमेर हदको पक्षमा पनि विचार आएको विद्यार्थी नेता ढकालले जानकारी गराए ।

३५ वर्षे उमेर हद राखिए नरेश रेग्मी र मदन भुल अध्यक्षमा प्रतिस्पर्धा गर्न पाउने छन् । भुल नेता जनार्दन शर्मा निकट छन् । रेग्मीलाई उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङको समर्थन रहेको विद्यार्थी नेताहरु दाबी गर्छन् ।

उमेर हदको पक्षमा विशेषतः नेता शर्मा समूहका विद्यार्थीहरु रहेका छन् । वर्षमान पुन निकट एक विद्यार्थी नेताले भने,‘उमेर हद लागु गरियो भने हाम्रो पक्षको उम्मेदवार बलियो छ भन्ने बुझाई पनि जनार्दन समूहमा छ ।’

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन १० असोजदेखि किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?