+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोशी प्रदेशमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १०:३०

१५ असोज, काठमाडौं । बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ ।

वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

मोडेलले के देखाउँछ ?

वर्षा पूर्वानुमानमा प्रयोग हुने विभिन्न मोडेलहरु छन् । बुधबारदेखि सुरु हुने वर्षाबारे युरोपियन, चाइनिज र इण्डिन मोडेलले फरक-फरक सम्भावना देखाएका छन् । ती तीनवटै मोडेलबाट हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने साझा निष्कर्ष निकाल्न सकिन्छ ।

चाइनाको मोडेलले हल्का खालको वर्षा हुने सम्भावना देखाएको छ । युरोपियन मोडेलले भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखाएको छ । भारत मौसम विज्ञान विभागले आसाम, मेघालयतिर भारी वर्षा भइरहेको देखाएको छ ।

इण्डियन स्याटेलाइट तस्वीरमा कोशी प्रदेशमा बादलको ठूलो ढिक्का आइसकेको देखिन्छ । यसको अर्थ कोशी प्रदेशमा आजैदेखि वर्षाको प्रभाव देखिन थालिसकेको छ । यसको प्रभाव काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि पनि देखिनसक्ने सम्भावना छ ।

नेपालका मौसमविद के भन्छन् ?

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेल यो वर्षाले बुधबारदेखि कोशीदेखि गण्डकीसम्म प्रभाव पर्नसक्ने बताउँछन् ।

उनका अनुसार कोशी प्रदेशसहित पूर्वी नेपालमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा भने पानी पर्दै रोकिँदै गर्ने सम्भावना रहेको उनले बताए ।

उनका अनुसार यसपटक मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ । स्थानीय वायुको समेत प्रभावले केही स्थानमा भारी वर्षा पनि गराउने सम्भावना रहेको उनले बताए ।

यसैगरी हावापानीका अध्यता एवम् विपदविद डा. धर्मराज उप्रेतीले बुधबार यो प्रणालीको प्रभाव बढी देखिने बताए । उनका अनुसार काठमाडौं उपत्यकामा आजै अपराह्नपछि यसको असर देखिन सुरु हुने छ । तर सबैभन्दा बढी असर बुधबारको दिन पर्ने छ ।

उनले भने, ‘अघिल्लोपटक परेको भारी वर्षाले जमिन कमजोर भएकाले यसपटक हल्का पानी पर्दा पनि पहिरो झर्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।’

मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे चेतावनी

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यसैगरी बुधबार दिउँसो कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुधबार राति भने कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

त्यसैले महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ ।

त्यसैले सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?