२२ असोज, काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिक नेपालको आर्थिक शक्ति भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघको एसिया प्रशान्त क्षेत्रको २६औं सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको सामाजिक–आर्थिक शक्तिका रुपमा आत्मसात गरेको बताए ।
श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने नीति समेत लिइएको उनको भनाइ छ । सामाजिक सुरक्षा कोषको स्थापना गरी सबै श्रमिक एवम कामदारलाई कोषको दायरामा ल्याइ भरपर्दो सामाजिक सुरक्षा प्रणाली स्थापित गरिएको समेत उनले बताए ।
उनले भने, ‘श्रमिक र उद्यमी व्यवसायीबीच सु–सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोत्साहन गर्ने नीति लिइएको छ, श्रम सम्बन्ध सुधारका लागि श्रम सम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित छ ।’
आजको दिनमा श्रमिकलाई सबैभन्दा आवश्यकता प्रभावकारी सामाजिक सुरक्षाको रहेको समेत उनले बताए । श्रमिकले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पाउनु पर्ने भन्दै उनले यसलाई समयानुकूल समायोजन गर्ने नीति सरकारको रहेको उनले दाबी गरे ।
बैठकमा साउथ एसिया ट्रेड यूनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले नेपालले सामना गर्ने हरेक श्रमिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए । ‘नेपालसहित सम्पूर्ण एसिया प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका समस्याहरू श्रमिकहरूले भोगिरहनु परेको छ। तर नेपाल सरकार भने श्रमिकको मुद्दामा कम सक्रियता छ। अब श्रमिकको जिम्मेवारी पूर्ण रुपले निभाउनु जरूरी छ ।’

यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरोलगायत प्राकृतिक विपद्बाट केही वर्षबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिबाट गरिखाने श्रमिक वर्गमा पर्न गएको समस्या आइपरेको बताए ।
उनले भने, ‘जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरोलगायत प्राकृतिक विपद्बाट केही वर्षबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षति भएको छ। यसले गरिखाने श्रमिकवर्ग ठूलो मारमा परेका छन्। नेपालले यसबारेमा आवाज उठाउनु जरूरी रहेको छ।’
यस्तै भारतीय राष्ट्रिय ट्रेड युनिनयन कंग्रेसका उपाध्यक्ष चन्द्रप्रकाश सिंहले मोदी सरकारले किसानहरुको मुद्दालाई बेवास्ता गरेको भन्दै चाँडै नै कार्यान्वयन गराउन आफूहरूले दबाब सृजना गरिरहेको बताए । ‘भारतमा पनि किसान तथा श्रमिकहरूको माग र मुनालाई मोदी सरकारले कुनै वास्ता नै गरिहरेका छैन। हामीले श्रमिक र किसानको मुद्दालाई कार्यान्वयन गराउन दबाब बढाइरहेका छौं’, उनले भने, ‘ अब पनि मोदी सरकार कानमा तेल हालेर सुते सत्ताबाटै हटाउने गरी हामी सडकमा श्रमिकका मुद्दा लिएर उत्रनेछौं।’
हिल्टन होटलमा आयोजित एशिया प्रशान्त क्षेत्रको बैठकमा नेपाललगायत सबै वरिष्ठ ट्रेड युनियनका नेताहरुले शुभकामना दिएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4