दशैंको मौका छोपेर मासुका लागि अत्याधिक मात्रामा पशुप्राणी भित्र्याइने गरिन्छ । खासगरी राँगाभैंसी, खसीबाख्रा बोकेका गाडीको त्यहाँ लस्कर लाग्छ ।
हामीले स्वाद मानी–मानी खाने मासुको स्रोत हुन् यी । तर यी पशुप्राणीको हालत देख्यो भने तपाईं-हाम्रो आङ सिरिङ्ग हुन्छ । मन रुन्छ । किनभने यी अवोध पशुप्राणीलाई अत्यन्तै क्रूर ढंगले यातना दिएर गाडीमा कोचिएको देखिन्छ । क्रूरता पनि यस्तो कि, मानौं यिनीहरु जघन्य अपराधी हुन् ।
पटक्कै बस्न नमिल्ने गरी एउटै ट्रकमा कोचेर, नाथ्री र पुच्छर बाँधेर राँगाभैंसीलाई ढुवानी गरिन्छ । त्यो पनि क्षमताभन्दा बढी कोचेर । दानापानी खान नदिई । एक दिन होइन, चार-पाँच दिनसम्म ।
काठमाडौं ल्याइपुर्याउँदा यी पशुहरु शिथिल, रोगी र घाइते भइसकेका हुन्छन् । उनीहरुको शरीरमा घाउचोट देखिन्छ । नाथ्रीको डोरी कसिएर टाउको अररिएको हुन्छ । पुच्छर सुन्निएको हुन्छ ।
राँगाभैंसी मात्र होइन, खसीबोकाको पनि उस्तै बिजोग देखिन्छ । कसैलाई छतमा बाँधेर, कसैलाई डिंकीमा थुनेर यातनापूर्वक ढुवानी गरिन्छ ।
यतिबेला नागढुंगामा पुग्दा यस्ता दृश्यले मन पोल्छ ।
जबकि पशुलाई यसरी क्रूरतापूर्वक ढुवानी गर्नु अपराध मानिन्छ । यिनीहरुलाई कसरी सहजतापूर्वक ढुवानी गराउने भनी पशु ढुवानी मापदण्ड बनाइएको छ । सो मापदण्ड पालना भए नभएको अनुगमन वा निगरानी गर्न राज्यले ठाउँठाउँमा पशु क्वारेन्टिन स्थापना गरेको छ । क्वारेन्टिनमा कर्मचारी खटाएको छ । तर त्यहीं क्वारेन्टिनको अगाडिबाट अवोध पशुको यसरी ढुवानी गरिन्छ, मानौं देशमा कुनै नियम कानुन छैन ।
रुपन्देहीबाट मंगलबार काठमाडौंको नागढुङ्गामा आएको गाडीमा २८ वटा राँगाभैंसी ल्याएको थियो । उनीहरूलाई पुच्छरमा बाँधेर यताउता फर्किन पनि अप्ठेरो हुने गरी ल्याइएको थियो । त्यस्तै सिन्धुलीबाट काठमाडौं आएको यात्रुवाहक बसको छतमा र डिकीमा कोचेर २२ वटा खसी बोका ल्याएका थिए । जबकि यात्रुबाहक गाडीमा जनावरलाई ढुवानी नै गर्न पाइँदैन ।
यसरी यात्रुबाहक गाडीमा छतमा राखेर तथा डिकीमा कोचेर खसी बोका ल्याउन पाइँदैन भन्ने कुरा नै थाहा नभएको गाडीका चालक बताउँछन् । ‘यसरी यात्रुबाहक गाडीमा खसी बोका ल्याउन पाइँदैन भनेर हामीलाई थाहै छैन । ढुवानी मापदण्ड के हो र त्यसको उल्लङ्घन गरे के–कस्तो जरिवाना हुन्छ भन्ने जानकारी छैन’ उनी भन्छन् ।
यसरी जनावरलाई ल्याउनु मापदण्ड विपरीत हो भन्ने कुरा उनीहरूलाई बताइसक्दा पनि उनीहरू गल्ती भयो अबदेखि यसरी ल्याउँदैनौं भनेर भने उनीहरूले भनेनन् । उल्टै गाडी रोक्ने पशु क्वारेन्टिनलाई गाली गर्न थाले ‘यो कानुन हामी जस्तो किसानलाई र गरिबलाई मात्र लागू हुन्छ, ठूलालाई हुँदैन । दशैंको बेला अलि अलि खसी बोका बोक्दा के हुन्छ । एक छिनमा काठमाडौँ लगेर यिनीहरूलाई काटेर नै खाने हो क्यारे ।’
पशु क्वारेन्टिनले उनीहरूलाई अर्को गाडी ल्याएर खसी बोका लिएर जान भने तर उनीहरूले मानेनन् । एकैछिनमा क्वारेन्टिनले उनीहरूलाई जरिवाना तिराएर पठायो ।
यसरी मापदण्ड विपरीत पशु ढुवानी गर्नेहरूलाई काठमाडौं नपठाउन पनि सक्थ्यो क्वारेनटिनले तर जरिवाना तिराएर पठायो । मापदण्ड विपरीत पशु ढुवानी गर्नेहरूलाई जरिवाना मात्र तिराउने र छुट दिने हो भने यो क्रम निरन्तर चलिरहन्छ । त्यसैले पशु कल्याण ऐन छिटो भन्दा छिटो बन्नु जरुरी देखिन्छ ।
मुलुकी ऐन अपराध संहिताको दफा २९० मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने र त्यसो गरे तीन महिनासम्म कैद या पाँच हजार रुपैयाँ जरिवाना वा कैद र जरिवाना दुवै हुने व्यवस्था छ । तर न मापदण्ड पालना हुन्छ न कारबाही नै हुन्छ ।
पशु ढुवानी मापदण्डअनुसार भएको छ कि छैन भनेर हेर्न एनिमल नेपालकी फिल्ड अफिसर लक्ष्मी घिमिरे पनि नागढुंगा पुगेकी थिइन् । ‘पशु ढुवानी मापदण्ड अनुसार हुनुपर्छ भनेर पशु अधिकारकर्मीहरूले निरन्तर आवाज उठाइरहेको भए पनि पूर्ण रुपमा कार्यान्वयन भने भएको छैन’ उनले भनिन् ।
घिमिरे भन्छिन्, ‘मासु उत्पादनमा ओसारपसार हुने पशुलाई मापदण्ड अनुसारकै व्यवहार गर्नुपर्छ । मापदण्ड पूरा नगर्दा मासु स्वस्थकर हुँदैन । यसको असर मान्छेमा नै पर्ने हो । त्यसैले पशु कल्याणको विषय मान्छेसँग पनि प्रत्यक्ष सरोकार राख्ने विषय हो ।’
पशु ढुवानी गर्दा मापदण्ड अनुसार भएको छ कि छैन भनेर अनुगमन गर्ने पहिलो जिम्मेवारी कृषि तथा पशु मन्त्रालय अन्तर्गतको पशु विभागको हो । पशु विभागले क्वारेन्टिन राखेर अनुगमन गर्न सक्छ । साथै नेपाल प्रहरीले पनि यसको अनुगमन र नियन्त्रण गर्न सक्छ । मापदण्ड पालना गरेको छैन भने ढुवानी रोक्न सकिने र जरिवाना पनि हुने अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् ।
त्यसो त पशु ढुवानी मापदण्ड बनेको १७ वर्ष हुँदा पनि यसको कार्यान्वयन राम्ररी भएको छैन । यो मापदण्ड कार्यान्वयन नभएकै कारण दशैंमा मासुका लागि काठमाडौं उपत्यका भित्रिने राँगाभैंसी, खसीबोकाहरू कोच्चिएर सकसका साथ भित्रिरहेका छन् ।
२०६४ सालमा जारी भएको मापदण्ड कागजमै सीमित हुँदा क्रूर तरिकाले पशु ढुवानी भइरहेका छन् । पशुलाई चरम यातना दिन नपाइने कानुन नेपालमा पटक-पटक बने पनि कार्यान्वयन भने हुन सकेको छैन ।
मापदण्ड अनुसार पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । त्यसैगरी शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न पाइँदैन । राँगाभैंसीसँग पाडापाडी मिसाउन हुँदैन । सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्छ । नाक र पुच्छर पनि बाँध्न पाइँदैन । राँगाभैंसी, खसीबोका राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस वा सोतर राख्नुपर्छ ।
पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । पशुलाई गाडीभित्र ०.८४ देखि १.२७ वर्ग मिटर स्थान उपलब्ध हुनुपर्छ । यसो गर्दा एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् ।
मासुका लागि पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै राजधानी काठमाडौंमा हुने पशु ढुवानीलाई नियाल्ने हो भने मापदण्ड पालना नभएका थुप्रै उदाहरण भेट्न सकिन्छ । यो राजमार्ग भएर दैनिक हजारौंको संख्यामा राजधानी भित्र्याइने राँगाभैंसी र खसी–बोकालाई चरम यातना दिंदै कष्टपूर्ण तरिकाले ढुवानी गरिन्छ ।
प्रतिक्रिया 4