+

इनर्जी ड्रिङ्कले स्वास्थ्यमा पुर्‍याउन सक्छ हानि

२०८१ मंसिर  ३० गते १२:२८ २०८१ मंसिर ३० गते १२:२८
Shares
इनर्जी ड्रिङ्कले स्वास्थ्यमा पुर्‍याउन सक्छ हानि

इनर्जी ड्रिङ्कलाई सामान्यतया ऊर्जा प्रदान गर्ने पेय पदार्थको रूपमा बुझिन्छ । त्यसैले थकान मेट्न र शरीरमा शक्ति बढाउन धेरैले यसलाई सेवन गर्छन् । विशेषगरी युवावर्गमा यसको लोकप्रियता बढी छ ।

बजारमा विभिन्न प्रकारका इनर्जी ड्रिङ्क उपलब्ध छन्, जसले तत्काल शरीरलाई सक्रिय बनाउन सक्छ । तर लामो समयसम्म यसको सेवनले स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ । उच्च चिनी र क्याफिन भएका यी पेय पदार्थ पछिल्लो समय मधुमेहको प्रमुख कारण बनेका छन् ।

हालै कम्बोडियाले विद्यालयहरूमा इनर्जी ड्रिङ्कको बिक्रीमा प्रतिबन्ध लगाएको छ । यसको कारण युवाहरूमा मधुमेह र मोटोपनजस्ता समस्या बढिरहेको छ ।

यसले वास्तवमै ऊर्जा दिन्छ ?

चिनीको सेवनले तत्काल ऊर्जा प्राप्त हुन्छ । इनर्जी ड्रिङ्कमा रहेको क्याफिन र टउरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ, जसले सेवनकर्तालाई स्फूर्त महसुस गराउँछ । तर सामान्य अवस्थामा कृत्रिम रूपमा स्नायु प्रणालीलाई सक्रिय गर्नु राम्रो होइन ।

नर्जी ड्रिङ्कको स्वास्थ्यमा असर

इनर्जी ड्रिङ्कमा उच्च चिनीको मात्रा हुन्छ, जसले शरीरमा फ्याट र ट्राइग्लिसराइड्सको रूपमा भण्डार हुन्छ । यसले फ्याटी लिभर र उच्च ट्राइग्लिसराइड्सको समस्या निम्त्याउन सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ । उच्च रक्तचापको समस्या पनि हुनसक्छ । क्याफिन र चिनीको उच्च मात्रा हृदय गति र रक्तचाप बढाउन सक्छ, जुन मुटुको स्वास्थ्यका लागि हानिकारक छ ।

इनर्जी ड्रिङ्कको सेवन गर्दा क्याफिनको मात्रा बढ्छ, जसले चिन्ताको स्तर बढाउँछ । जसकारण निद्रामा असर पर्छ । अनिद्रा, टाउको दुखाइ र माइग्रेन जस्ता समस्या इनर्जी ड्रिङ्काका कारण निम्तिन सक्छ । साथै, ग्लुकोजको उच्च मात्रा एसिडिटी बढाउन सक्छ, जसले ग्यास्ट्राइटिस र एसिड रिफ्लक्सको समस्या निम्त्याउन सक्छ ।

क्याफिनको अत्यधिक सेवनले शरीरलाई निर्जलीकरण गर्न सक्छ, जसले मिर्गौलामा असर पुर्‍याउँछ । चिनीको उच्च मात्राले पनि मिर्गौलामा तनाव पुर्‍याउँछ, जसले मिर्गौलाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।

बालबालिकामा असर

यदि बालबालिका वा युवावर्गले इनर्जी ड्रिङ्क सेवन गरेमा, यसले मस्तिष्कको विकासमा हानि पुर्‍याउन सक्छ । यसले बालबालिकामा रिस नियन्त्रण गर्न समस्या हुनसक्छ र व्यवहारमा परिवर्तन आउन सक्छ । लगातार सेवनले शरीरको प्राकृतिक ऊर्जा घट्न थाल्छ, जसले थकान र मानसिक तनावको अनुभूति गराउँछ ।

नर्जी ड्रिङ्कको सेवनले निम्त्याउने गम्भीर समस्या

रक्तचाप वृद्धि : उच्च क्याफिन सामग्रीले मुटुको धड्कन र रक्तचाप बढाउन सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ ।

अनिद्रा : क्याफिन र अन्य तत्त्वले निद्रामा बाधा पुर्‍याउँछन्, जसले थकान र चिडचिडापन निम्त्याउँछ ।

पाचन समस्या : उच्च क्याफिन र चिनीको मात्राले पेट दुख्ने, वाकवाकी र पखाला जस्ता समस्या निम्त्याउन सक्छ ।

टाउको दुखाइ र माइग्रेन : क्याफिनले केही व्यक्तिमा टाउको दुखाइ वा माइग्रेन ट्रिगर गर्न सक्छ ।

पोषणको कमी : इनर्जी ड्रिङ्कले भोकलाई कम गर्न सक्छ, जसले पोषणको कमी निम्त्याउँछ ।

(भट्टराई पोषणविद् हुन् ।)

इनर्जी ड्रिंक प्रवीण भट्टराई स्वास्थ्य समस्या
प्रवीण भट्टराई
लेखक
प्रवीण भट्टराई
पोषणविद्

भट्टराई पोषणविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय