फोन विना कति समय बस्न सकिन्छ ? सायद एक घण्टा पनि गाह्रो होला । अहिले प्रविधिले यति आवश्यक बनाइसक्यो कि स्मार्ट फोनले ‘अलराउण्डर साथी’ जस्तो काम गर्छ ।
कल, क्यामरा, म्यासेज, मोबाइल बैंकिङ, बिहान उठाउने र औषधि खान सम्झाउने अलार्म, नयाँ ठाउँमा हराउन नदिने म्याप, जानकारी खोज्ने गुगल, समाचार पढ्ने न्युज पोर्टल, मनोरञ्जनका विभिन्न माध्यम मोबाइलमै उपलब्ध छन् ।
यसरी हेर्दा मोबाइल खाना र पानीजत्तिकै जरुरी भइसक्यो भन्दा फरक नपर्ला । मोबाइलले दैनिकी सहज बनाएको छ भने योसँगै विभिन्न खालका स्वास्थ्य समस्या पनि निम्त्याएको छ ।
के कस्ता स्वास्थ्य समस्या देखिन्छ ?
गर्दन र काँधमा समस्या
हामी मोबाइल हेर्दा टाउको निहुराउँछौं । यही पोस्चरमा लामो समयसम्म बस्छौं । यस्तो बानीले गर्दन र काँधमा पोस्चर बिगारेर दुखाइ निम्त्याउँछ । गर्दन र काँध भारी हुने समस्या देखिन सक्छ ।
तल्लो ढाड दुखाइ
फोन लगातार घण्टौं चलाउँदा कुन पोजिसनमा बसेको याद नहुन सक्छ । यस्तोमा गलत तरिकाले बस्दा मेरुदण्डको हड्डीमा दबाब पर्छ । यसले तल्लो कम्मरमा दुखाइ बढाउँछ । कहिलेकाहीं समस्या यति बढ्छ कि उठ्न-बस्न समेत गाह्रो हुन्छ ।
हात र औंलामा दुखाइ
फोनमा लगातार टाइप र स्क्रिन स्वाइप गर्दा औंला र हातको मांसपेशी बढी चल्दा हात झमझमाउने र दुखाइ बढ्न सक्छ । त्यस्तै, फोन कानमा राखेर घण्टौं बोल्दा नाडीमा पनि दुखाइ अनुभव हुनसक्छ ।
आँखामा थकान
फोनको चमकदार स्क्रिनमा घण्टौं एकोहोरो हेर्दा आँखा पोल्ने, सुक्खा हुने, टाउको दुख्ने, धमिलो देख्ने र आँसु बग्ने समस्या हुनसक्छ ।
टाउको दुखाइ
लगातार निहुरिएर वा रातभर मोबाइल हेर्दा टाउको दुख्ने र भारीपन महसुस हुन्छ । यसले निद्रालाई समेत प्रभावित पार्न सक्छ, जसले शरीरलाई आलस्य बनाउँछ ।
दुखाइ हुने मुख्य दुई कारण
गलत तरिकाले बस्नु
शरीरका हड्डीहरू स्वस्थ राख्न सही पोस्चर आवश्यक हुन्छ । लामो समयसम्म गलत पोस्चरमा बस्दा दबाबका कारण हड्डीको बनावट बिग्रिन्छ र दुखाइ सुरु हुन्छ । यस्तोमा टाउको र ढाड झुकाएर वा गलत तरिकाले लामो समयसम्म फोनको प्रयोग गर्नेहरूमा ढाड, टाउको र गर्दनको दुखाइ बढ्छ ।
लामो समय एउटै हातमा फोन समातिराख्नु
फोन लगातार एउटै हातले एउटै पोजिसनमा समातेर प्रयोग गर्दा हातको मांसपेशी थकित हुन्छ । आँखाले पनि एकोहोरिएर स्क्रिन हेर्दा थकान बढ्छ । विना विश्राम मोबाइल प्रयोग गर्दा मांसपेशी र आँखामा असर पर्छ ।
के गर्ने ?
– लामो समयसम्म झुकेर नबस्ने
– एउटै पोजिसनमा मोबाइल समातेर नबस्ने
– मोबाइललाई सधैं आँखाको सिधा रेखामा राखेर हेर्ने
– बस्दा ढाडको पछाडिको भाग सिधा राख्ने
– अँध्यारोमा मोबाइलको चमक कम गरेर मात्रै प्रयोग गर्ने
– हरेक २० देखि ३० मिनेटमा फोनबाट टाढा हेर्दै विश्राम लिने र शरीर तन्काउने
– मोबाइलको स्क्रिन समय घटाउने
– खाना खाँदा वा परिवारसँग समय बिताउँदा फोन टाढा राख्ने
– सुत्नुअघि मोबाइल हेर्ने बानी कम गर्ने । किनकि यसले दिमागलाई आराम मिल्दैन र निद्रा बिगार्छ ।
प्रतिक्रिया 4