२ असोज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउको चर्चा चलेसँगै सहकारी पीडित कास्की जिल्ला अदालत बाहिर उपस्थित थिए । गितेन्द्रबाबु राई (जीबी) समूहले पोखरामा खोलेको सूर्यदर्शन सहकारीबाट झण्डै डेढ अर्ब अपचलन हुँदा २ वर्षभन्दा लामो समयदेखि आन्दोलनरत पीडित अब भने मुद्धा वार कि पार हुनेमा आशावादी देखिए ।
शुक्रबारै गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशीको मुद्धामा म्याद थपबारे बहससमेत भइरहँदा पीडित बचतकर्ता भने अब रवि पनि समातिने भएपछि न्याय पाउन सक्ने चर्चा गर्दै थिए । दशैं विदासमेत परेकाले म्याद थप हुन नसकेका छबिलालको मुद्धामा शुक्रबार गत असोज १७ गतेलाई आधार मानेर २० दिन हिरासतमै रहने भएका छन् ।
६ असोजमा जोशी पक्राउ परेसँगै रवि पक्राउ पर्ने त्रास रास्वपामा देखिएको थियो । तर रवि पक्राउ परेनन् । दशैं सकिए लगतै रवि पक्राउ परे । अब सूर्यदर्शनको मुद्धा पेचिलो बन्ने पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।
रवि लामिछाने गृहमन्त्री हुँदादेखि नै पोखरादेखि काठमाडौंसम्म सूर्यदर्शन सहकारीको मुद्धामा ध्यानाकर्षण गराएका पीडितले पटक पटक आन्दोलन र प्रदर्शन गरे । पोखरा आउने प्रधानमन्त्रीदेखि प्रत्येक राजनीतिक नेतृत्वसँग भेटेर पीडितले न्यायका निम्ति हारगुहार गरेका थिए । रविलाई भेटेर ध्यानाकर्षण गराउनेदेखि कालो झण्डा देखाउनेसम्म पीडितले गरे ।
रवि गृहमन्त्री हुँदा जीबी राईलाई समातेर पीडितलाई न्याय दिलाउनसक्ने आशावादी रहे पनि निराशामा बदलिएपछि अब रवि नै पक्राउ परे भने निकास निस्कन सक्ने जोहरीकर्ता जैशीले बताए । संयोजक श्रेष्ठले पूर्व गृहमन्त्री रविले प्रत्येक्ष जनताको पैसा हिनामिना गरेको नदेखिए पनि उनीमार्फत भएको हिनामिना र सहकारी ठगको अब पर्दाफास हुन सक्ने विश्वास व्यक्त गरे ।
‘रवि नै पक्राउ परेपछि अब भने यो मुद्धा बचतकर्ता पीडितको मात्र रहेन, देश र राज्यकै भयो । प्रत्येक राजनीतिक नेतृत्वकै भयो,’ संयोजक श्रेष्ठले भने, ‘हेर्दा राजनीतिक मुद्धाजस्तो देखिए पनि यसले घटनाले पीडितकै न्यायको ढोका खुल्न सक्छ ।’
पीडितले सूर्यदर्शन सहकारी प्रकरणमा रवि पनि जोशी भएको भन्दै पुरक जोहरी दिएका थिए भने जीवी राईलाई भगाउने काम पनि उनैले गरेको आरोप उनीहरुको थियो ।
देशका विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड गएको संसदीय छानबिनले देखाएको छ ।सूर्यदर्शन सहकारीबाट ५ करोड रुपैयाँ गएको देखिन्छ । पोखराको सूर्यदर्शनबाट रविको नाममा लिएको एक करोड रुपैयाँ गोर्खा मिडियाको नाममा हिसाब मिलान गरिएको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
रवि २०७९ असारसम्म गोर्खा मिडिया नेटवर्कको साझेदार थिए, उनको नाममा १ करोड ऋण लिएको प्रतिवेदनमा छ ।
पोखरा महानगरपालिका, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गर्ने क्रममा रविको नाममा रहेको यो ऋण गत साल असारमा मात्र मिलाएको पाइएको थियो ।
प्रतिवेदनअनुसार २०७८ जेठ ३ र असार ९ गते मेघा बैंकको चेकबाट गोर्खा मिडियाको नाममा ५०÷५० लाख रुपैयाँको एकाउन्ट पे चेक काटिएको थियो ।पेश्की लिएको त्यो एक करोड रकम टीभीका प्रबन्ध निर्देशक तथा सञ्चालक (१५ प्रतिशत शेयर भएका) रविको नाममा ऋण लिएर मिलान गरिएको छ ।
रविको नाममा रहेको ऋण चुक्ता गर्न २०८० असार १३ गते गोर्खा मिडियाको नाममा खाता खोलेर १ करोड ३० लाख रुपैयाँ ऋण लगेको पाइएको छ । तर, लामिछानेले भने त्यो रवि आफू नभएको दाबी गर्दै आइरहेका छन् ।
सहकारी ठगी प्रकरणमा रवि लामिछाने, माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए । पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर उनीहरुले पुरक जाहेरी दिएका थिए ।
विज्ञ समूहले जीबीका व्यापारिक साझेदार पूर्वडीआईजी छविलालको घरमा छापा मारेर सीआईबीले पोखरा ल्याएको २ वटा सफ्टवेयरको समेत हेरेको थियो । सूर्य थापा नेतृत्वमा बनेको संसदीय छानबिन समितिले रविसँगै थुनामा रहेका सूर्यदर्शन सहकारीका पदाधिकारी तथा सञ्चालकसँग पनि बयान लिइसकेको छ । त्यो बयानमा पनि रविले आफू सहकारी ठगीमा संलग्न नभएको र प्रतिवेदनमा उल्लिखित रवि आफू नभएको दाबी गरेका छन् ।
उनी गृहमन्त्री हुँदा सुस्त भएको अनुसन्धान अहिले कांग्रेस नेता रमेश लेखक गृहमन्त्री भएपछि फेरि तीव्र बनेको थियो । कांग्रेसकै संसद अवरोध र दबाबपछि संसदीय छानबिन समिति बनेको हो ।
सिआइबीसहित अनुसन्धान गरेको कास्की प्रहरीले पुरक जाहेरीमाथि पनि अनुसन्धान थालेको छ । हालै कास्कीका डिएसपी वसन्तकुमार शर्माको नेतृत्वको टोलीले काठमाडौं पुगेरै रविको बयान लिएर फर्किएको छ । प्रहरीकाअनुसार पुरक जाहेरीमाथि पनि छिट्टै मुद्धा चलाउने तयारी भइरहेको छ । कास्की रविमाथि पनि मुद्धा चल्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।
सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्यार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् । पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् । शुक्रबार रविसहित १४ जनाविरुद्ध प्रक्राउ पुर्जी जारी भएको हो ।
पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पुरक जाहेरी र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसनधान गरी गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको थियो । त्यसकै भोलिपल्ट मेयर आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तन्तरण गरेका थिए ।
२०८० भदौ २१ गतेसम्म सस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणालीसफ्टवेयरमा उल्लेख भएका कुल १८७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको पाइएको प्रतिवेदनले देखाएको छ ।
प्रहरी प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्धामा१ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
प्रतिक्रिया 4