काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ हङकङमा प्रदर्शन हुने भएको छ । आइतबार स्थानीय गोल्डेन सिन सिनेमामा यो फिल्मको विशेष प्रदर्शन गर्न लागिएको हो ।
सोही कम्पनीले पहिलोपटक नेपाली फिल्मको वितरण अधिकार समेत पनि खरिद गरेको छ । स्क्रिनिङमा सहभागि हुन निर्देशक सुब्बासहित कलाकार प्रसन राई, पशुपति राई लगायत त्यसतर्फ जाँदैछन् । निर्माता राई सातादेखि नै त्यहाँ छन् ।
निर्देशक सुब्बाले चिनियाँ दर्शकलाई लक्षित गरी पहिलोपटक नेपाली फिल्मको स्क्रिनिङ गर्न लागिएको बताए ।
‘हङकङको नेपाली समुदायमा अक्टोबर २० मा गाउँ आएको बाटो चिनियाँ दर्शकमाझ प्रदर्शनको तयारी भएको छ । त्यसपछि छिट्टै थाइल्यान्ड, इन्डोनेसिया, इटाली र बेलायतमा प्रदर्शनमा जाँदै छ’, उनले भने ।
निर्माता राईले प्रदर्शनका लागि फिल्म चिनियाँ भाषामा सबटाइटल तयार गरिसकेको बताए । हङकङका नेपाली समुदायलाई फिल्म हेर्न आउन आग्रह गर्दै उनले भने, ‘यो फिल्म हङकङवासीका लागि विशेष छ । नेपाली समुदायले हेरेपछि मात्रै यहाँको बक्स अफिसमा पहिलोपटक देखाउन सघाउ पुग्नेछ ।’
कार्यकारी निर्माता देवराज राईले आफूहरूले धेरै घेरा भत्काउँदै फिल्मलाई त्यहाँसम्म लैजान सफल भएको बताए । उनले भने, ‘गाउँ आएको बाटो समयमा हङकङ आएन भनेर धेरै गुनासो आएको थियो । नेपाली फिल्मलाई यहाँको समुदायसम्म पु¥याउने अठोटले अलि ढिलो भए पनि धेरै घेरालाई भत्काउँदै अगाडि बढ्ने ठूलो आत्मबल र सोहीअनुरूपको प्रयास गरेका थियौँ ।’
नेपालको फिल्ममेकिङको इतिहासमा हङकङका फिल्ममेकर यसमा संलग्न भएर काम गरेका छन् । सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेका छन् ।
सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदीप राई, रामली राई, सुमन बोनेम, मायादेवी राईलगायत छन् । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ ।
फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साओ पाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया 4