+

डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ? (भिडियो)

२०८१ कात्तिक  ७ गते ११:५७ २०८१ कात्तिक ७ गते ११:५७
डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ? (भिडियो)

डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । सन् २००४ मा पहिलो पटक नेपालमा डेंगु पुष्टि भएको थियो । त्यसपछि प्रत्येक दुई-तीन वर्षको अन्तरालमा संख्यात्मक रुपमा यसको वृद्धि हुँदै गएको देखिन्छ ।

संख्यात्मक रुपमा मात्र हैन पछिल्लो समय यसको कारण मृत्युदर पनि बढ्दै गइरहेको छ । काठमाडौंमा सन् २०१९ मा धेरै मान्छे संक्रमित भएका थिए । त्यसपछि सन् २०२२ मा मृत्यु हुनेको संख्या बढेको देखिन्छ । आधिकारिक तथ्यांकलाई आधार मान्ने हो भने ८८ जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो वर्ष भने धरानमा डेंगुको संक्रमण धेरै फैलिएको थियो ।

दुई-तीन वर्षको अन्तरालमा डेंगुको प्रकोप बढेको पाइन्छ भने प्रत्येक प्रकोपपछि डेंगुको बिरामी र मृत्युदर पनि बढेको नै पाइन्छ । पछिल्लो समय लामखुट्टेबाट फैलिने कीटजन्य रोगहरूमा डेंगु बढी देखिन्छ ।

डेंगु कसरी काठमाडौं पस्यो ?

सन् २०१० मा पनि डेंगु एकदमै फैलिएको थियो, टेकु अस्पतालमा पनि बिरामीको चाप धेरै थियो । त्यो बेला मैले अनुसन्धान गरेर एउटा लेख समेत प्रकाशित गरेको थिएँ । जसमा काठमाडौं स्थानीय जातको लामखुट्टेले टोकेर डेंगु भएको थियो, अर्थात् डेंगु फैलिरहेको ठाउँमा नगई काठमाडौँमा नै डेंगु भएको थियो । सम्भवतः त्यो नै पहाडी क्षेत्रमा डेंगु फैलिएको भन्ने पुष्टि गर्ने पहिलो केस थियो ।

पछिल्लो केही वर्षयता भने वर्षेनी डेंगु लगातार बढेको देखिन्छ । दुर्भाग्यवश यसको नियन्त्रणका लागि हामीले चासोका साथ पर्याप्त मात्रामा कदम चालेको देखिंदैन । जसको नतिजा स्वरूप सङ्क्रमित नियमित बढेको देखिन्छ ।

डेंगु तीव्र गतिमा, आक्रामक रुपमा र घातक रुपमा फैलिएको छ । यस्तोमा यसप्रति चिन्तित भएर नियन्त्रणको उपाय नअपनाउने हो भने समस्या झन् बढेर आगामी वर्ष झन् यसको चुनौती बढ्ने सम्भावना देखिन्छ ।

डेंगु कति घातक ?

सामान्यतया यो एकदमै घातक समस्या होइन । किनभने यसको मृत्युदर सामान्यतया एक प्रतिशत मात्र हुन्छ भनिन्छ । तर यसले लाखौं मान्छे सङ्क्रमित हुन्छन्, यस्तोमा त्यसको एक प्रतिशत पनि त धेरै नै हुन्छ ।

सन् २०२२ लाई नेपालको इतिहासमा नै डेंगुको लागि घातक वर्ष पनि भन्ने गरिन्छ । यो वर्ष ८८ जनाको मृत्यु भएको आधिकारिक तथ्यांक छ । तथ्यांक बाहेक पनि त कतिको मृत्यु भएको होला । लगभग एक सय जनाको मृत्यु डेंगुको कारण भएको होला । यो मानेमा डेंगु बिस्तारै घातक बन्दै गइरहेको छ कि छैन भनेर अध्ययन हुन बाँकी छ । डेंगु संक्रमण बढी घातक स्वरूपमा परिवर्तन हुँदै गइरहेको हुनसक्छ ।

छिमेकी मुलुक बंगलादेशमा पनि पछिल्लो समय डेंगुको कारण मृत्यु हुनेहरूको संख्या बढ्दो छ । नेपालमा भन्दा पहिले यो बंगलादेशमा फैलिएको भए पनि त्यहाँ पनि यसलाई नियन्त्रण गर्न सकिएको छैन । नेपालमा फैलिएकै लगभग २० हुन लाग्यो, यस्तोमा पछिल्लो समय यसले थप जटिलता निम्त्याएको देखिन्छ । यसको स्वरूपमा जुन प्रकारले परिवर्तन भइरहेको छ, जसले गर्दा भविष्यमा कुनै अप्ठेरो अवस्था पो सिर्जना गर्ने त होइन भन्ने चिन्ता थपिएको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगुका बिरामी । फाइल तस्वीर

वाकिङ डेंगु

नेपालमा सामान्यतया ज्वरो आएर जीउ दुखेर अस्पताल जाने चलन छैन । त्यसले गर्दा मान्छेहरू ज्वरो आउँदा पनि जीउ दुख्दा पनि आफ्नो दिनचर्यामा नै व्यस्त हुन्छन्, एकदमै गाह्रो नभई अस्पताल पुग्दैनन् । त्यसैले मैले यसलाई नयाँ नाम दिएको छु ‘वाकिङ डेंगु’ । खानामा रुचि छैन, एक-दुई दिन ज्वरो आयो फेरि कम भयो तर ऊ आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको हुन्छ ।

यस्तो डेंगुमा त मान्छेहरू अस्पताल पुग्दैनन् । जसलाई थप जटिलता हुन्छ त्यस्ता व्यक्ति मात्र अस्पताल पुग्छन् । त्यसैले यस्तो अवस्थामा अस्पताल पुग्नैपर्छ भने ‘वार्निङ साइन’ बनेको छ । केही व्यक्ति नाक वा गिजाबाट रगत बगेपछि अस्पताल आउने गरेको देखिन्छ । यो डेंगुको जटिल संकेत हो ।

८० प्रतिशत भन्दा बढी मान्छेहरू संक्रमित भए पनि आठ दिनदेखि १५ दिन सम्ममा आफैं निको हुन्छन् । तर केही व्यक्ति जसमा जटिल डेंगु हुनसक्ने सम्भावना हुन्छ । उनीहरू भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

डेंगु कसका लागि बढी खतरानाक ?

पहिले हामी डेंगुको लक्षणको बारेमा कुरा गर्थ्यौं । यो केले सर्छ कसरी सर्छ भन्ने कुरा गर्थ्यौं । लामखुट्टे नियन्त्रण गर्ने तरिकाको बारेमा धेरै चर्चा गर्थ्यौं । तर लामखुट्टे नियन्त्रण गर्ने उपाय भने त्यति प्रभावकारी भएको छैन । लामखुट्टे झन् आक्रामक अवस्थामा छ । त्यही कारण कस्तो समूहका लागि यो बढी जटिल हुन्छ वा यसकै कारण मृत्यु हुन्छ भन्ने कुरा जान्नु जरुरी हुन्छ ।

सन् २०२२ को तथ्यांकलाई आधार मानेर हेर्दा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, मधुमेह, उच्च रक्तचाप, तथा श्वासप्रश्वास सम्बन्धी दीर्घरोगीहरूमा घातक डेंगु हुनसक्ने चेतावनी नदेखिए पनि अस्पताल गएर चिकित्सकको परामर्शमा बस्नुपर्छ । सन् २०२२ मा मृत्यु हुने व्यक्तिहरू पनि यही समूह भित्रका थिए । त्यसैले यस्ता व्यक्ति सचेत हुनुपर्छ ।

जटिल डेंगुको संकेत

जटिल डेंगुका पूर्व संकेतहरु एकदमै महत्वपूर्ण छ । यो संकेत केही परीक्षणबाट थाहा हुन्छ भने केही परीक्षण विना नै । वाकिङ डेंगुको अवस्थामा छ र तारन्तार बान्ता हुन्छ, नाक, गिजा वा दिसामा रगत देखिन्छ, सहन गाह्रो हुने गरी जीउ दुख्छ, एकदमै कमजोर महसुस हुन्छ भने यो जटिल डेंगुको संकेत हो ।

अस्पताल गएर परीक्षण गर्दा पेटमा पानी जमेको, छातीमा पानी जमेको, कलेजोको आकार बढेको र रगतमा प्लेटलेटको संख्या कम भएको र हेमाटोक्रिटको संख्या बढेको देखिन्छ । साथै सेतो रगत पनि घटेको पाइन्छ । यी दुवै जटिल डेंगुको पूर्वसंकेत हो ।

धेरै अवस्थामा लामखुट्टे नियन्त्रण गर्न नसकिने र डेंगु देखिए पनि अस्पताल नगई घरमै बस्ने गरेको पाइन्छ । अस्पताल गए पनि तै झोलिलो खाऊ, सिटामोल खाऊ भन्ने त हो त्यसैले अस्पताल नजाने भन्ने सोचको कारण नै वाकिङ डेंगुको सिर्जना भएको हो । तर यदि जटिल संकेत देखा पर्छ भने बेवास्ता गर्नु हुँदैन र तुरुन्त अस्पताल जानुपर्छ । वृद्धवृद्धा र दीर्घरोगीले पनि चिकित्सकको परामर्श लिनुपर्छ ।

आन्तरिक रक्तस्राव भएर मृत्यु समेत हुनसक्छ

डेंगु हुँदा रक्तस्राव भएर शरीरमा विभिन्न परिवर्तन आएर समस्या हुने हो । डेंगु फिवर, डेंगु ह्यामरिङ, डेंगु सक सिन्ड्रोममा यो तीनवटा भागमा डेंगुलाई बाँड्न सकिन्छ । डेंगु फिवर त सामान्यता केही समयमा आफैं निको हुन्छ, डेंगु ह्यामरिङ फिवरमा रक्तस्राव हुन्छ, डेंगु सक सिन्ड्रोम धेरै रक्तस्राव भएर मान्छे बेहोस नै हुन्छ यो अवस्थामा पनि उपचार भएन भने मान्छेको मृत्यु हुन्छ । यसको ठ्याक्कै यही उपचार भन्ने त छैन तर लक्षणमा आधारित उपचार गर्न सकिन्छ । यसले ‘मल्टी अर्गान फेलिएर’ विभिन्न अंगहरुमा क्षति पुर्‍याउँछ, त्यसैले बेवास्ता गर्नु हुँदैन ।

डेंगुको समान्य लक्षण

संक्रमित लामखुट्टेले टोकिसकेपछि चारदेखि १० दिनको अवधिमा अचानक ज्वरो आउने, जीउ दुख्ने र खानामा अरुचि हुने, शरीरमा साना-साना बिमिरा देखा पर्ने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने र वाकवाकी लाग्ने जस्ता लक्षणहरु पनि देखा पर्न सक्छन् ।

बिरामीहरूले जोर्नीमा असाध्यै पीडा हुने गुनासो गर्छन् र भन्छन्- ‘मलाई कोरोना दुई पटक भयो, तैपनि त्यति पीडा भएन जति डेंगुको कारण भयो ।  यो रोग त शत्रुलाई पनि नलागोस् ।’

डेंगु लागिसकेपछि ८ देखि १० दिनको जुन अवस्था हुन्छ त्यो असाध्यै पीडादायक हुन्छ । खाना खान मनै लाग्दैन, खाना देख्ने बित्तिकै बोमिट होला जस्तो हुन्छ । यस्तो लक्षण देखा परे रगत जाँच गरेर त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ । डेंगुकै लागि निश्चित औषधि त बनेको छैन । तर लक्षणको आधारमा उपचार भने गरिन्छ ।

ज्वरो आउने, वाकवाक लाग्ने र हल्का जीउ दुख्ने अन्य समस्यामा पनि हुन्छ । यस्तोमा डेंगु नै हो भनेर पत्ता लगाउन जीउ दुखाइलाई आधार मान्न सकिन्छ । यसमा जुन जीउ दुखाइ हुन्छ त्यो अति नै पीडादायक हुन्छ । दुखाइको अर्को नाम नै डेंगु हो ।

कोभिड, स्क्रबटाइफस र अन्य फ्लु पनि गर्मी मौसममा फैलिन्छ । तर डेंगु फैलिरहेको स्थानबाट फर्किएको छ र यस्ता लक्षण देखिन्छ भने डेंगु हुनसक्छ । त्यसैले परीक्षण गर्नुपर्छ ।

आफूखुसी औषधि खाँदा झन जटिल

हाम्रोमा केही समस्या देखिए आफूखुसी औषधि खाने चलन छ । तर यसले फाइदा गर्नुको साटो बेफाइदा गर्ने सम्भावना हुन्छ । त्यसैले चिकित्सकको सल्लाह विना कुनै पनि औषधि सेवन गर्नु हुँदैन । दुखाइ कम गर्न जथाभावी फ्लेक्सन, ब्रुफिन जस्ता औषधि सेवन गर्दा लक्षणलाई थप जटिल बनाउन सक्छ । एन्टिबायोटिकको सेवनले पनि यो समस्या समाधान हुँदैन । त्यसैले आफूखुसी जथाभावी औषधि सेवन गर्नु हुँदैन ।

डेंगुको समस्या हरेक उमेर समूहका व्यक्तिलाई हुन्छ । तर यति बालबालिका तथा शिशुलाई डेंगु भयो र त्यसको कारण मृत्यु भयो भन्ने तथ्यांक त छैन । तर ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूमा यो संक्रमण भएको र त्यसकै कारण मृत्यु भएको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, गर्भवती महिला र बालबालिका पनि यस संक्रमणको जोखिमयुक्त समूहमा पर्छन् ।

डेंगु हुनै नदिन के गर्ने ?

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुको जोखिमबाट बच्नु हो । यो कुरा सुन्दा धेरै सहज छ तर लामखुट्टेको टोकाइबाट बच्न भने गाह्रो छ । व्यावहारिक रुपमा लामखुट्टेको टोकाइबाट बच्न गाह्रो छ । किनकि लामखुट्टेको नियन्त्रण गर्नेतिर हाम्रो ध्यान नै गएको छैन । यस्तोमा लामखुट्टेको नियन्त्रण नगर्ने अनि यसको टोकाइबाट बच्नुपर्छ भन्नु गलत हो ।

एडिस जातको लामखुट्टे दिनमा बढी सक्रिय हुन्छ । दिउँसोको समयमा हामी प्राय: आफ्नो कार्यस्थलमा व्यस्त हुन्छौं, यो बेला लामखुट्टेले टोकेर गएको थाहा नै हुँदैन । यस्तोमा लामखुट्टेको टोकाइबाट बच्नु भन्नु कत्तिको उपयुक्त हुन्छ भन्ने प्रतिप्रश्न सिर्जना हुन्छ । विश्वको लगभग आधा जनसंख्या डेंगुको जोखिममा छ । तर यसको नियन्त्रणको सटिक उपाय भने अहिलेसम्म पत्ता लागेको छैन ।

यस्तोमा लामखुट्टे नियन्त्रण गर्न मनसुन सुरु हुनुभन्दाअघि नै पानी जम्ने ठाउँहरू कहाँ कहाँ छन् ? त्यो ठाउँमा लामखुट्टेको लार्भा छ कि छैन ? छ भने त्यसलाई नष्ट गर्न के के उपाय अपनाउने लगायत कुरामा ध्यान दिनुपर्छ । लामखुट्टेलाई नियन्त्रण गर्न सबैतिरबाट अभियान नै गर्नुपर्छ ।

सन् २०१९ मा जब काठमाडौंमा डेंगु देखियो त्यो बेला नै यसलाई नियन्त्रण गर्नतिर लागि पर्नुपर्ने हो । तर चासो दिइएन त्यसैले नै सन् २०२२ मा धेरैको मृत्यु भयो । अहिले यसरी डेंगु बढिरहेको बेलामा पनि लामखुट्टे नियन्त्रणको उपाय भने अपनाइएको छैन । यस्तोमा कसरी बच्ने त डेंगुबाट ?

डेंगु हुने सबै जना अस्पताल जानैपर्छ त ? पर्दैन । किनभने डेंगु लागेका सबै व्यक्ति जटिल अवस्थामा पुग्दैनन् । त्यसैले धेरै जसो सामान्य डेंगु आफैं निको हुन्छ, त्यसैले सबै अस्पताल जानैपर्छ भन्ने छैन । तर जटिल डेंगुको पूर्वलक्षणहरु भने थाहा पाउनुपर्छ । त्यसैले यसको व्यापक प्रचार गर्नुपर्छ । यस्तोमा जटिल अवस्थामा बिरामीले उपचार पाउन सहज हुन्छ ।

डेंगुका सेरो टाइप चार प्रकारका हुन्छन्, टाइप डेन वान, टु, थ्री र फोर । चारवटै सेरो टाइप नेपालमा प्रमाणित छ । कुनै व्यक्तिलाई टाइप वान डेंगु लाग्यो र दोस्रो पटक पनि त्यही टाइप भयो भने लक्षण कडा हुँदैन । तर त्यही व्यक्ति फेरि डेंगु हुँदा फरक सेरो टाइप भयो भने लक्षणको जटिलता बढ्न सक्छ । दुई वर्षभित्र डेंगु हुँदा त कुनै पनि टाइप धेरै जटिल हुँदैन । तर दुई वर्षको अन्तरालपछि भने जटिल हुनसक्छ । त्यसैले सेरो टाइप छुटाइन्छ । यसले बिरामीको अवस्था पत्ता लगाउन सहज हुन्छ र सरकारलाई तथ्याकं राख्न पनि सहज हुन्छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

डा. शेरबहादुर पुन डेंगु रक्तस्राव

धेरै कमेन्ट गरिएका

डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ? (भिडियो)

डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ? (भिडियो)

तनावले कसरी मुटुलाई असर गर्छ ?

तनावले कसरी मुटुलाई असर गर्छ ?

प्याकेटबन्द फ्रुट जुसको नालीबेली, यो वास्तवमै पिउनयोग्य छ ?

प्याकेटबन्द फ्रुट जुसको नालीबेली, यो वास्तवमै पिउनयोग्य छ ?

महिनावारीको बेला किन रोकी-रोकी रक्तस्राव हुन्छ ?

महिनावारीको बेला किन रोकी-रोकी रक्तस्राव हुन्छ ?

पुरुष बन्ध्याकरणबारे ९ भ्रम र सत्य

पुरुष बन्ध्याकरणबारे ९ भ्रम र सत्य

धुम्रपानको लतले मुखको क्यान्सर, कस्तो अवस्थामा निको हुन्छ ?  

धुम्रपानको लतले मुखको क्यान्सर, कस्तो अवस्थामा निको हुन्छ ?