
कतिपय मानिसको आनीबानी यस्तो अनौठो र अपत्यारिलो हुन्छ कि त्यसले उनीहरुलाई जेलको हावा खुवाउँछ । ग्रीसमा एकजना २८ वर्षीय युवक छिमेकीको जुत्ता सुँघ्ने बानीका कारण जेल जानु परेको छ।
जुत्ता सुँघ्नका लागि पटक-पटक छिमेकीको घर परिसरमा छिरेर दिक्क पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।
ग्रीसको सिन्दोस सहरमा गत अक्टोबर ८ मा एक युवक पक्राउ परे । बिहान सबेरै छिमेकीको घर परिसरमा छिरेर बाहिर राखिएका जुत्ताहरु सुँघिरहेको अवस्थामा उनलाई देखेपछि छिमेकीले प्रहरीलाई खरब गरेका थिए र पुलिसले उनलाई पक्रिएको थियो ।
नाम नखुलाइएका ती युवक यसअघि पनि जुत्ता सुँघ्नका लागि आफ्नो घर परिसरमा पटक-पटक लुसुक्क छिर्ने गरेको र उनको त्यस्तो बानीले दिक्क पारेको भन्दै उनीविरुद्ध छिमेकीले प्रहरीमा खबर गरे ।
पक्राउ गरेर स्थानीय अदालतमा उपस्थित गराइएका ती युवकको बयान तथा प्रमाणहरुका आधारमा अदालतले उनलाई एक महिनाको जेल सजाय सुनायो । साथै उनी ३ वर्षसम्म परीक्षण कालमा निगरानीमै रहनुपर्नेछ ।
अदालतको बयानमा ती युवकले भनेका छन्- मलाई यस्तो बानी कसरी लाग्यो भन्ने ठ्याक्कै थाहा छैन । मलाई आफैंप्रति लाज तथा दिक्क लागेको छ । मैले यसबारेमा वर्णन नै गर्न सक्दिनँ । मलाई मेरो अवस्था झनै खराब हुनबाट रोक्नका लागि सहयोग गर्नुहोस् ।
आफू जुत्ता सुँघ्नकै लागि छिमेकीको घर परिसरमा जम्मा तीन पटकसम्म छिरेको पनि उनले स्वीकार गरे । ती युवकले अदालतमा गल्ती स्वीकार गर्दै माफी पनि मागेका थिए । साथै अरुलाई हानी गर्ने आफ्नो कुनै मनसाय नरहेको पनि उनले बताए ।
छिमेकीले पनि ती युवाले कुनै हिंश्रक व्यवहार नगरेको तर उनको त्यो अनौठो तथा घिनलाग्दो बानीका कारण आफूहरुलाई दिक्क लागेको बताएका छन् ।
प्रतिक्रिया 4