+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोशीमा कांग्रेसको भागको मन्त्रालय कांग्रेसलाई नै हस्तान्तरण

हरि अधिकारी हरि अधिकारी
२०८१ कात्तिक ८ गते १६:०३

८ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू मातहतमा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई दिएका छन् ।

कांग्रेस–एमाले गठबन्धन सरकार गठन हुँदा स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको थियो ।

कांग्रेसभित्र आन्तरिक भागबण्डामा स्वास्थ्य मन्त्रालय डा. शेखर कोइराला समूहले पाएको थियो । तर भागबण्डामा असन्तुष्टि जनाउँदै कोइराला समूहले नाम नपठाएका कारण २८ भदौमा मन्त्रिपरिषद विस्तार हुँदा स्वास्थ्य मन्त्रालय खाली नै रह्यो ।

त्यतिबेला यो मन्त्रालय मुख्यमन्त्री कार्कीले आफूसँगै राखेका थिए । तर डेढ महिनासम्म कांग्रेसबाट कसैको नाम नआएपछि कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

बिहीबार मुख्मन्त्री कार्कीले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखलाई पठाएका थिए । कार्कीले दशैंअघि कांग्रेस संसदीय दललाई खाली रहेको मन्त्रालयका लागि मन्त्री पठाउन भनेका थिए । तर कांग्रेसले नाम दिन सकेन ।

‘अहिले हाम्रो मान्छे आउदैनन्, दिइराख्नुहोस् भन्ने कुरा आयो’, मुख्यमन्त्री कार्कीले अनलाइनखबरसँग भने, ‘उहाँहरुको सल्लाहमै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको हो, अर्काे मन्त्री नआउञ्जेल उहाँले हेर्नुहुन्छ ।’

गत असार तेस्रो साता कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री तथा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री पाउने सहमति भएको थियो ।

पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा डा. शेखर कोइरालाले दाबी गरेका थिए । कोइरालालाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने प्रयास पनि भयो । तर आलोचना हुने भन्दै केन्द्रीय नेतृत्व मन्त्रालय फुटाउने निर्णयबाट पछि हट्यो ।

सभापति शेरबहादुर देउवाले एउटा मन्त्री र एउटा राज्यमन्त्री लिन कोइरालालाई प्रस्ताव गरे । करिब दुई महिना शेखर कोइरालाई मनाउने प्रयास भयो, तर कोइराला तयार नभएपछि २८ भदौमा कोइराला समूहलाई बाहिरै राखेर कांग्रेसले तीन मन्त्री र १ राज्यमन्त्री सरकारमा पठायो ।

कांग्रेसको भागमा अब एउटा मन्त्री र एउटा राज्यमन्त्री बाँकी छ । कोइरालाले नाम पठाए स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिनेछन् ।

स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले आफूलाई जिम्मेवारी दिएको बताए ।

‘कांग्रेसको भागमा परेको मन्त्रालय कांग्रेसले नै सञ्चालन गर्ने भन्ने हो’, उनले भने । दलले नाम दिएपछि आउने मन्त्रीले स्वास्थ्य मन्त्रालय सञ्चालन गर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला पक्ष भने तत्काल सरकारमा मन्त्रीको नाम नपठाउने पक्षमा छ ।‘ हाम्रो माग २ वटा मन्त्रालय हो, त्यहो पुरा हुनेहुँदा जान्छौं, नत्र जाँदैनौं,’ कोइराला समूहका एक सांसदले भने,‘ अहिले नै जाने कुरा आउँदैन् ।’

कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्रीी कार्कीसहित रामबहादुर मगर आर्थिक मामिला, पाँचकर्ष राई सामाजिक विकास, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला र एकराज कार्की खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारीमा छन् ।

कांग्रेसबाट भुपेन्द्र राई भौतिक पूर्वाधार विकास, खगेनसिं हाङगाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन् ।

एमालेबाट सृजना राई र कांग्रेसबाट भूमिप्रसाद राजवंशी राज्यमन्त्री छन् । राई मुख्यमन्त्री कार्यालयमा छिन् भने राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री हुन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?