१४ कात्तिक, पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पति विवरणअनुसार अधिकांश मन्त्री पैतृक तथा व्यक्तिगत कमाइबाट धनी देखिएका छन् भने केही मन्त्री सामान्य जीवनशैलीका देखिएका छन् ।
आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो । पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने २ दिनअघि बसेको मन्त्रीपरिषदले निर्णय गरेको थियो ।
गण्डकीका मुख्यमन्त्रीसहित प्राय सबै मन्त्री धनी देखिएका छन् । तीमन्त्रीमध्ये पनि सबैभन्दा धनी व्यवसायी पृष्ठभूमिबाट आएका विन्दुकुमार थापा, प्रकाशबहादुर अधिकारी र भेषबहादुर पौडेल छन् । उनीहरुको ठाउँ–ठाउँमा प्रशस्त घरजग्गा र सुनचाँदी छ ।
मुख्यमन्त्री पाण्डेसँग पैतृक सम्पत्ति नै काफी
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् ।
पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा ४ कित्तामा जग्गा छ भने कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् ।
यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५ सय तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २ सय तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् ।
व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ७४ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । यसअघि उनले त्यहाँ २४ लाख ९६ हजार रहेको बताएका थिए ।
पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६७ लाख रुपैयाँ तलब तथा उपदानमार्फत नगद जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् । यसअघि यो शीर्षकमा ६० लाख रुपैयाँ रहेको उनले बताएका थिए । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । यसअघि उनले छोरा सुयोग्गराजको नाममा बैंकमा १ लाख ५६ हजार मौज्दात देखाएका थिए ।
मुख्यमन्त्री पाण्डेको दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर रहेको विवरणमा खुलाएका छन् ।
मुख्यमन्त्री पाण्डेसँग श्रीमतीको नाममा एउटा मारुती बलेरो कार छ । त्यसको खरिद मूल्य पाण्डेले जम्मा ३२ हजारमात्र देखाएका छन् ।
पाण्डेले आफूसँग टिभी २ वटा, फ्रिज २ वटा, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् ।
विन्दुकुमारको सुन ९० तोलाबाट १६० तोला पुग्यो
गण्डकीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा नै छन् । व्यापारिक पृष्ठभूमिबाट आएका थापाको श्रीमती, छोरा र कम्पनीको नाममा प्रशस्त घरजग्गा र शेयर छ ।
मन्त्रीको थापाको श्रीमती मनलक्ष्मी थापाको नाममा मात्र अर्बौं पर्ने घरजग्गा १९ ठाउँमा छ । थापाकै अर्की श्रीमती राधा थापा क्षेत्रीको नाममा १३ ठाउँमा घरजग्गा छ । छोरा सौगातका नाममा १० ठाउँमा शेयर र विभिन्न सम्पत्ति छ भने थापाको विभिन्न कम्पनि, होटल, रिसोर्ट, अटोमा लगानी छ । थापाले पोखरा महानगरपालिकाका ८, ९, १७, २८, २९, ६ नम्बर वडामा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
विन्दुकुमारको नाममा नयाँ बजारमा भव्य ३ घर छन् । पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गरेका छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि छन् । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलको मुख्य लगानीकर्ता पनि उनै हुन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयर धनी पनि हुन् ।
थापासँग अघिल्लो कार्यकालमा भन्दा सुनको मात्रा पनि बढेको छ । अघिल्लो कार्यकालमा कानुनमन्त्री हुँदा उनीसँग ९० तोला सुन रहेकोमा अहिले १६० तोला पुगेको छ । ७५० तोला चाँदी र २० तोला हिरा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
थापासँग २ करोड, १ करोड १२ लाख र १ करोड १६ लाख रुपैयाँका ३ वटा विभिन्न कम्पनीका गाडी छन् । थापाको लुम्विनी विकास बैंकमा ५६ लाख र एनएमबी बैंकमा ६ करोड ६३ लाखको शेयर छ ।
थापाले मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७ र सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८ कित्ता सेयर अघिल्लो सम्पत्तिमा खुलाएका थिए । यसपटकको सम्पत्ति विवरणमा भने त्यो शेयरबारे उल्लेख छैन ।
थापाले एनएमबी बैंकमा १२ करोड ३१ लख, ग्रिन डेभलपमेन्ट बैंकमा १२ करोड ५० लाख, पोखरा फाइनान्समा ८५ करोड, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख र ३० लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।
अर्का धनाड्य मन्त्री प्रकाशबहादुर केसी
गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी पनि अर्का धनी मन्त्री हुन् । उनको पनि पोखरा र ललितपुरमा घरजग्गा छन् ।
उनको पोखरा १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर–२ मा पनि उनको घरजग्गा छ । पोखरा–१२, पोखरा–१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौं पर्ने जग्गाहरु छन् ।
उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् ।
माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने उनले खुलाएका छैनन् । श्रीवृद्धि सहकारी र वाराही प्रशारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् ।
१ करोड ९ लाख रुपैयाँ त उनले विभिन्न व्यक्तिलाई ऋण नै दिएका छन् ।
उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् ।
भेषबहादुर पौडेलसँग पनि मनग्य सम्पत्ति
अहिलेका गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल पनि धनी छन् । लमजुङ, काठमाडौं र पोखरामा उनको घरजग्गा छ ।
पौडेलले ठाउँ–ठाउँमा सम्पत्ति देखाए पनि त्यसको मूल्य भने खुलाएका छैनन् । उनको लमजुङ बेशीसहर बजारमा ८ ठाउँमा जग्गा छ । ८० तोला सुन, ६० तोला चाँदी, ५ सेट हिरा र २५ लाख नगद उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले कृषि विकास बैंक, ग्लोबल आइएमई, एसबीआई बैंकमा खाता रहेको उल्लेख गरे पनि रकम खुलाएका छैनन् । उनको ग्लोबल आईएमई बैंकमा ११ हजार कित्ता र लिबर्टी हाइड्रोमा १८ हजार कित्ता शेयर छ ।
व्यापार व्यवसायसमेत गर्दै राजनीतिमा लागेका पौडेलको गेट वे हिमालयन रिसोर्टका नाममा ८० लाख र ५६ लाखको २ वटा जिप रहेको सम्पत्ति विवरणमा बताएका छन् । उनले अन्य ठाउँमा छिटफुट जग्गा तथा सम्पत्ति हुन सक्ने बताएका छन् ।
उनले १२ करोड राष्ट्रिय वाणिज्य बैंकबाट, १ करोड सिद्धार्थ बैंकबाट र ५० लाख नबिल बैंकबाट ऋण लिएको खुलाएका छन् ।
टकराज गुरुङसँग काठमाडौं र लमजुङमा घर, ५ करोड बराबरको होटल
गण्डकी प्रदेशका अर्थमन्त्र टकराज गुरुङको लमजुङ र काठमाडौंमा घरजग्गा छ । काठमाडौंका २ ठाउँमा २ कित्तामा घरजग्गा रहेको खुलाएका गुरुङको लमजुङ राइनासमा ११ कित्ता जग्गा छन् भने ५ करोड रुपैयाँ बराबरको होटल राइनास होम सञ्चालनमा रहेको खुलाएका छन् ।
श्रीमतीको नाममा १०/१० तोला सुनचाँदी रहेको अर्थमन्त्री गुरुङले खुलाएका छन । श्रीमती र आफ्नो नाममा ३३ र १२ लाखका २ वटा गाडी रहेको अर्थमन्त्री गुरुङले खुलाएका छन् ।
कृष्ण पाठकले देखाए छोराबुहारीले जोडेका सम्पत्ति
बागलुङबाट समानुपातिक चुनाव जितेर मन्त्री बनेका एमाले सांसद कृष्ण पाठकसँग पनि आफूले जोडेकोभन्दा पैतृक र छोराबुहारीले जोडेको सम्पत्ति देखाएका छन् ।
छोराबुहारीको वैदेशिक रोजगारको कमाइबाट काठमाडौंको चन्द्रागिरी नगरपालिकामा १ करोड ४९ लाख रुपैयाँमा घरजग्गा किनेको उनले उल्लेख गरेका छन् । त्यो जग्गा कृष्णकुमारी पाठक र कविता पाठकको नाममा रहेको छ ।
पाठकको बागलुङ नगरपालिकामा घर छ । बागलुङ–१२ मा ३ कित्तामा उनले आफ्नो नामको जग्गा देखाएका छन् ।
उनीसँग ८ तोला सुन र २० तोला चाँदी छ । उनले झण्डै २ लाख बैंक मौज्दात देखाएका छन् भने काठेखोला हाइड्रोपावरमा एक सय कित्ता सेयर रहेको खुलाएका छन् ।
पद्मा जिसीसँग टोखा र कावासोतीमा घर, ३१ तोला सुन
गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्री पद्मा जिसी श्रेष्ठसँग आफ्नो र श्रीमानको नाममा घरजग्गा र सम्पत्ति छ ।
उनको काठमाडौं टोखामा र नवलपुरको कावासोतीमा घर छ । कावासोतीमा ४ कित्तामा उनको जग्गा छ भने श्रीमान तथा पूर्वसांसद जीवनराम श्रेष्ठको नाममा ४ कित्ता जग्गा छ ।
श्रेष्ठसँग ३१ तोला सुन र २८५ तोला चाँदी छ । १ लाख ११ हजार रुपैयाँमात्र बैंक मौज्दात खुलाएकी जिसीको एनएमबी बैंकमा ३९ लाख ९० हजार व्यक्तिगत ऋण रहेको उल्लेख गरेकी छन् । श्रीमान जीवनको नाममा ३७ लाख रुपैयाँको गाडी समेत छ ।
उनको पिपुल्स हाइड्रोमा १० लाख रुपैयाँ, कामना सेवा विकास बैंकमा २ हजार ८०० कित्ता र कालीगण्डकी सहकारीमा १ लाख सेयर रहेको जिसीले खुलाएकी छन् ।
फणिन्द्र देवकोटासँग पालुङटार र कीर्तिपुरमा घर, १०/१२ तोला सुन
ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाको पनि गोरखा पालुङटार र काठमाडौं कीर्तिपुरमा घर छ । उनले काठमाडौंमा पैतृक सम्पत्ति बकसपत्रबाट प्राप्त जग्गामध्ये ९ आना बेचेर घर बनाएको खुलाएका छन् ।
बण्डा नभएको २ वटा घर बुवा टेकनाथकै नाममा गोरखा पालुङटारमा रहेको देवकोटाको सम्पत्ति विवरणमा उल्लेख छ । ११ वटा कित्तामा पालुङटारमा उनको जग्गा छ ।
देवकोटाले काठमाडौं कीर्तिपुर–४ मा घर निर्माण भएको जग्गासमेत गरी पैतृक सम्पत्तिबाट १ रोपनी जग्गामध्ये ९ आना बचेर घर बनाएको खुलाएका छन् ।
उनले ६० लाख रुपैयाँ जग्गा किन्नका लागि दाङ निवासी पवन रेग्मीलाई बैना दिएको पनि खुलाएका छन् । उनले चुनावका लागि पवनबाट केही रकम लिएको र उक्त रकम तीन वर्षको व्याजमा कट्टा हुने गरी कारोबार गरेको बताएका छन् । बैनास्वरुप दिएको रकमबाट जग्गा पास गरी दिन बाँकी रहेको तर उक्त जग्गाको मूल्य बढ्दै गएको देवकोटाले खुलाएका छन् ।
देवकोटासँग १०/१२ तोला सुनका गहना रहेको उल्लेख गरेका छन् । उनले झण्डै ५ लाख बैंक मौज्दात गरेको बताएका छन् । देवकोटाको एउटा स्कुटर छ । नेपाल लाइफ इन्सुरेन्समा शेयर रहेको र विभिन्न आमा समूह, महिला समूहमा मासिक बचत गरेको देवकोटाले सम्पत्ति विवरणमा खुलाएका छन् ।
देवकोटाले घडी ३ थान, मोबाइल ४ थान, ल्यापटप ३ थान, सोलार, फ्रिज, माइक्रोओभन, दराजहरुलगायत सम्पत्ति आफूसँग रहेको खुलाएका छन् ।
मित्रलालको बस्यालसँग पर्वत र रुपन्देहीमा जग्गा, ५० लाख लगानी
पर्वतबाट चुनाव जितेर पर्यटनमन्त्री बनेका एमाले सांसद मित्रलाल बस्यालको जीवनस्तर भने सामान्य देखिएको छ ।
उनले आफ्नो नाममा पर्वत पैयुँमा र छोराका नाममा रुपन्देहीमा १२ वटा कित्ता जग्गा रहेको विवरणमा खुलाएका छन् । करिब ५ रोपनीमा धान खेती गर्ने गरेको उल्लेख गरेका छन् ।
उनले न्यू अन्नपूर्ण मेट सप्लायर्समा ५० लाख रुपैयाँ लगानी गरेको उल्लेख गरेका छन् ।
उनीसँग ८ तोला सुन छ । आफूसँग सवारी साधन नभएको बस्यालको भनाइ छ ।
प्रतिक्रिया 4