+
+

सागसब्जी बेचेर वार्षिक ६ लाख आम्दानी

रासस रासस
२०८१ कात्तिक १५ गते ८:१२

१५ कात्तिक, रामपुर (पाल्पा) । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ ।

बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिएका उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन् । उनको मिहिनेत ६ रोपनी जग्गामा लटरम्म काउली, गोलभेंडाले  प्रस्तुत गरेका छन् ।

उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । उनले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन् ।

वार्षिक रूपमा ६ लाख बराबरको आम्दानी गर्दै आएको उनी बताउँछन् । बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए । ‘बजारको  चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ’, उनले भने ।

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले बताए । उनले ‘टनेल’भित्र र बाहिर खेती गर्नुभएको छ । टनेलभित्र उत्पादन धेरै हुने गरेको सुनाए ।

युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि ८ लाख रकम ब्याज अनुदान उपलब्ध गराएको उनी बताउँछन् ।

सबैको साथ र हौसला पाएकाले उनी खेती विस्तार गर्न उत्साहित छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?