+
+
उडान कटौती :

हवाई भाडा बढ्दा घटे भारतीय पर्यटक, होटल व्यवसाय प्रभावित

जहाज चढेर आउने भारतीय पर्यटकको संख्यामा भारी गिरावट आउनुमा बढेको हवाई भाडा मुख्य कारण रहेको व्यवयासीहरू बताउँछन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ कात्तिक २३ गते १८:२५
तस्वीर सौजन्य : भुमराज तिवारी

२३ कात्तिक, काठमाडौं । सन् २०२४ को अक्टोबर महिनामा भारतीय र अमेरिकी पर्यटक आगमन बराबरी संख्यामा भयो । समान्यतया अन्य महिनामा भारतीयको आगमन अन्य मुलुकको तुलनामा दोब्बर हुने गरेको थियो । तर, हवाइ भाडा बढेपछि भारतीय पर्यटकहरूको संख्यामा भारी गिरावट आएको छ ।

नेपाल पर्यटन बोर्डले मनसुनजन्य घटनाका कारण भारतीय पर्यटकको आगमन कम भएको बताएको छ । तर, सडक मार्गबाट आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दैन । जहाज चढेर आउने भारतीय पर्यटकको मात्र गणना हुन्छ ।

जहाज चढेर आउने भारतीय पर्यटकको संख्यामा भारी गिरावट आउनुमा बढेको हवाई भाडा मुख्य कारण रहेको व्यवयासी बताउँछन् । त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा विमानस्थल बन्द हुँदैछ । यसले साविकको उडानहरूमा ३० प्रतिशतसम्म कटौती हुँदैछ । यसको प्रभावले हवाई भाडा आकासिएको छ ।

अक्टोबरमा १६ हजार ३१३ जना भारतीय आउँदा १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएका छन् । होटेल संघ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठका अनुसार ३/६ महिना अगाडि नै भ्रमण निश्चित गर्ने प्रवृत्ति रहेका युरोपेली र अमेरिकी पर्यटकहरूको आगमनलाई नेपालमा भएको पछिल्लो निर्णयले असर गरेन ।

तर, छिमेकी मुलुकका पर्यटकहरू फुर्सद मिलाएर भ्रमणमा निस्कन्छन् । ‘एक त बाटोघाटो राम्रो छैन, अर्कोतर्फ भाडा छोइनसक्नु छ,’ उनी भन्छन्, ‘यसको असर आगमनमा देखिएको हो ।’

अहिले नेपालमा पदयात्रा सिजन चलिरहेको छ । सोहीकारण अमेरिकी र युरोपेली पर्यटकको आगमनमा भने ठूलो गिरावट छैन । अहिले काठमाडौंबाट भारतको नयाँ दिल्ली रुटकै भाडा तेब्बरसम्म बढेको छ ।

अग्रिम होटेल बुकिङ रद्द कति ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजभन्दा ६ महिना अगाडिदेखि नै २३ कात्तिकदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुने जानकारी वायुसेवा कम्पनीलाई गराएको थियो । सोही अनुसार टिकट व्यवस्थापन गर्न भनिएको प्राधिकरणले बताउँदै आएको छ । विमानस्थल साविकको क्षमतामै चलिरहेकै समयमा वायुसेवा कम्पनीले भाडा बढाए । यसले विगतमा टिकट बुक गरिसेकका पर्यटकलाई खासै असर नपरे पनि आगामी दिनमा भने सिट व्यवस्थापन चुनौती छ । सोहीकारण यसबीचमा भने अग्रिम बुकिङ रद्द हुने समस्या नरहेको हानको भनाइ छ ।

‘ट्रेकिङ सिजनमा काठमाडौं, पोखराजस्ता सहरमा सामान्यतया ट्रान्जिट पर्यटक आउँछन्,’ कोषाध्यक्ष श्रेष्ठ भन्छन्, ‘उनीहरु १/२ दिन सहर बसेर पदयात्रामा निस्कन्छन्, सहरमा होटेल चल्ने भारतीय र चिनियाँ पर्यटकबाटै हो ।’ यी पर्यटकको आगमन कम हुँदा चिन्ता बढ्ने उनले बताए । अग्रिम बुकिङ रद्द हुँदा पनि छिमेकी मुलुककै पर्यटकको बढी रद्द हुने बताइएको छ ।

अक्टोबर २०२४ मा चीनबाट ७ हजार ७५० जना पर्यटक नेपाल आएका छन् । चीनतर्फको आगमन समेत कोभिडयता उल्लेख बढ्न सकेको छैन । ‘ठूलै संकट आए जसरी अग्रिम बुकिङ रद्द भएको अवस्था छैन,’ उनी भन्छन्, ‘बरु नेपाल आउने रकमले अर्को मुलुकमा सहजै घुम्ने अवस्थामा पर्यटकले गन्तब्य परिवर्तन गर्ने सम्भावना छ,’ उनले भने ।

पर्यटकीय सिजन जारी रहेका कारण अधिक बुकिङ रद्द नभएको एक पाँचतारे होटेल सञ्चालक बताउँछन् । अब जाडोयाम सुरु हुने र यो बेला स्वभाविक रूपमा कम आगमन हुने हुँदा सकेसम्म छिटो स्तरोन्नतिको काम सक्नु पर्ने वा यसबीचमा भारत र चीनबाट धेरै उडान भैरहवा र पोखरामा राख्न पहल गर्नुपर्ने उनको भनाइ छ ।

भैरहवाका व्यवसायी भने उत्साहित

होटेल संघ नेपाल हानका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चहलपहलले भैरहवामा भने उत्साह थपेको छ । ‘उहाँहरू आशावादी हुनुहुन्छ,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘अहिलेका उडानले भविष्यमा पनि निरन्तरता पाओस भन्ने उहाँहरुको माग छ ।’

अहिले थाई एयर एसिया, नेपाल एयरलाइन्स, फ्लाई दुबई र जजिरा एयरवेजले भैरहवाबाट उडानको योजना बनाइरहेका छन् । पोखरामा भने कुनै पनि कम्पनी इच्छुक देखिएका छैनन् ।

भाडा बढेपछि सरकार के गर्दैछ ?

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे अन्तर्राष्ट्रिय हवाई भाडाबारे छलफल थालेका छन् । भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको गुनासो आएको छ । मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग छलफल गरे ।

सो अवसरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यस अघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदेशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नुपर्ने बताए ।

छलफलका क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वभाविक रुपमा वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनीहरू र केही ट्राभल एजेन्सीहरूको ठूलो हात रहेको बताए । गरिब श्रमिक सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य भएको उनको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?