२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा परिस्थिति थप सहज बन्दै गएको बताएका छन् ।
केन्द्रीय मूख्यालय च्यासलमा शनिबार बसेको ४० औं सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँगको समन्वय ठीक तरिकाले हुँदा सरकार सञ्चालन सहज बनेको ब्रिफिङ गरेका हुन् ।
‘समन्वय राम्रो भइरहेको छ । अझ राम्रो परिस्थिति बनाउन कांग्रेस र हाम्रो संयन्त्र बनाएका हौं’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले भने । कांग्रेस र एमाले नेताहरु सम्मिलित राजनीतिक संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बताएका छन् ।
‘कांग्रेससँग मिलेर बनेको सरकारले काम गर्ने परिस्थिति सहज बनिरहेको छ । हामी मुलुकको हितमा काम गरिरहेका छौं’, ओलीले बैठकमा भनेका थिए । सरकार सञ्चालनमा अप्ठ्यारो अवस्था आउने वातावरण बनाउन नहुने पनि ओलीले बताएका छन् ।
अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकुल बन्दै गएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘चिन्ता गर्नुपर्ने केही छैन, अन्तर्राष्ट्रिय परिस्थिति समेत अनुकुल बन्दै गएको छ’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले आगामी १७ मंसिरदेखि हुने चार दिने चीन भ्रमणबारे पनि संक्षेपमा जानकारी गराएका थिए । उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार यो भ्रमणमा चीनसँग यसअघि भएका सम्झौता कार्यान्वयनमै जोड दिइनेछ । ‘यसपटक छोटो भ्रमण हुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीहरुले गरेको भ्रमणमा भएको समझदारी कार्यान्वयनमा जोड दिइनेछ’, बैठकपछि ज्ञवालीले भनेका छन् ।
बैठकमा ओलीले आफ्नो पहिलो भ्रमण चीनबाट हुँदा अर्को छिमेकी भारतसँग सम्बन्ध ठीक नरहेको बुझ्न नहुने तर्क गरेका थिए । ‘नाकाबन्दीका बेला हामीले अलिक अडान लियौं । भारत रिसायो, खासमा त्यसबेला पनि रिसाउनुपर्ने कारण थिएन’, ओलीले भने, ‘यो सरकार सन्तुलित परराष्ट्र सम्बन्धका आधारमा अगाडि बढ्छ ।’
प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्कनुअघि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले भ्रमण गर्ने जानकारी पनि दिइएको छ । ‘चिनियाँ कम्युनिष्ट पार्टीकै निमन्त्रणमा २६ कात्तिकदेखि १० दिनसम्म ईश्वर कमरेडको नेतृत्व टोलीले चीन भ्रमण गर्नु हुने भएको छ’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीले यो दुईवटा भ्रमणले सम्बन्ध विकासमै सहयोग पुग्ने बताउनुभउको छ ।’
ओलीले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि विकसित अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि बोलेका छन् । एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओलीले ट्रम्पको पुनरागमनबाट विश्वलाई लाभ नै पुग्ने ब्रिफिङ गरे ।
‘अरुको देशमा सैनिक नराख्ने र हतियारमा लगानी नगर्ने कुरा ट्रम्पले गरेका छन् । उनले आफ्नै देश बनाउन लाग्ने भनेकाले यसलाई राम्रै मान्नुपर्छ’, प्रधानमन्त्री ओलीले बैठकमा भनेका छन् ।
प्रतिक्रिया 4