काठमाडौं । स्वरसम्राट नारायणगोपालको जीवनमा आधारित बायोपिक फिल्म निर्माण हुने भएको छ । पोखरामा आयोजित समारोहमा निर्देशक प्रकाश सायमीले फिल्म निर्देशन तथा निर्माणको घोषणा गरेका हुन् ।
‘स्वरसम्राट नारायणगोपाल’ नामक पुस्तक विमोचन गर्न आयोजित समारोहमा सायमीले बायोपिक फिल्म बनाउने योजना सार्वजनिक गरेका हुन् ।
‘यो पुस्तकलाई मैले फिल्ममा एडप्टेसन गर्दैछु । यो फिल्ममार्फत मैले निर्देशकको रुपमा पुनरागमन गर्दैछु’, उनले भने । यदि यसो भयो भने २५ वर्षपछि निर्देशकको रुपमा उनको पुनरागमन हुनेछ ।
एडप्टेसन प्रक्रिया सुरु गर्न अझै हप्ता दिन लाग्ने उनको भनाइ छ । ‘किताब लेख्न ७-८ वर्ष लाग्यो । समय लिएर फिल्म बनाउन लागेका हौं’, अनलाइनखबरसँग सायमीले भने ।
फिल्मलाई सेल्युलोइड संरचना निर्माण गर्ने उनको तयारी छ । ‘अभिलेखीकरणको हिसाबले पनि पुरानै सिर्जना देखियोस् भनेर पुरानै शैलीमा फिल्म बन्नेछ,’ उनले भने ।
नारायणगोपालको भूमिकामा अभिनय गर्ने कलाकारको भने स्केच लगाएर प्रक्रिया पूरा गरेर कास्ट गरिने उनले बताए ।
सायमी निर्देशित पछिल्लो फिल्म ‘हतियार’ २ सेप्टेम्बर १९९९ मा रिलिज भएको थियो । गीतकारका रुपमा उनको पछिल्लो फिल्म ‘कन्यादान’ १६ जुलाई २०१० मा प्रदर्शनमा आएको थियो । उनले बहुचर्चित फिल्म ‘सिमाना’सहित रानीखोला, जमिन, अवतार र पृथ्वी निर्देशन गरेका छन् ।
समारोहमा सायमीले आफूले फिल्म उद्योग नछाडेको बरु केही समय विश्राम लिएको समेत बताए । सायमी सन् १९९० को दशकका चर्चित फिल्म निर्देशक हुन् ।
सायमीले पोखरासँग नारायणगोपालको गहिरो नाता रहेको बताए । पेमलासँग विवाह गरेपछि नारायणगोपाल पोखरा आएको र त्यहाँ कवि भूपि शेरचनसँग राम्रो मित्रता कायम गरेको समेत सायमीले बताए ।
पोखरामा आएर पुस्तक विमोचन गर्दा उनले घरमा आएजस्तो महसुस गरेको समेत बताए । साहित्यकार सरुभक्तले सायमीको उक्त पुस्तक अनुसन्धानको महत्वपूर्ण दस्तावेज रहेको बताए ।
प्रतिक्रिया 4