+
+

साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला, के हो उद्देश्य ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १६:२६

२६ कात्तिक, काठमाडौं। अरब र मुस्लिम राष्ट्रका नेता सोमबार साउदी अरेबियाको राजधानी रियादमा भेला भएका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित रहने साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाले जनाएको छ।

वाफालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘इजरायली आक्रमण सहित प्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ, त्यसकारण  सम्मेलनको आयोजना गरिएको हो ।’

प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा र यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु यस सम्मेलनको मुख्य प्राथमिकता रहेको बताइएको छ।

रियादमा हुन लागेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् । उनले एक्समा लेखेका छन्, ‘म रियाद पुगेको छु जहाँ गाजाको बिग्रँदै गएको अवस्थाबारे छलफल गर्न र प्यालेस्टिनीहरूको अधिकारका लागि आवाज उठाउन संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गरिएको छ ।’

कार्यक्रममा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार पनि सहभागी हुने तय छ ।

काहिरोस्थित अरब लिग र जेद्दास्थित इस्लामिक सहयोग संगठन (ओआईसी) को रियादमा यस्तै भेला भएको एक वर्षपछि अहिले यो सम्मेलन आयोजना हुन लागेको हो ।

इस्लामिक नेताहरूले गाजामा भइरहेको इजरायली गतिविधिलाई ‘बर्बर’ भनी निन्दा समेत गरेका छन् ।

सम्मेलनमा डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकाल सुरु हुन लागेको बारेमा पनि चर्चा हुने उल्लेख गर्दै वरिष्ठ खाडी विश्लेषक अन्ना जेकब्स एजेन्सीसँगको कुराकानीमा भनेकी छिन्, ‘यो सम्मेलन आगामी ट्रम्प प्रशासनबाट उनीहरूले अमेरिकी संलग्नताको सन्दर्भमा के चाहन्छन् भनेर संकेत गर्ने अवसर समेत हुन सक्छ।’

सन् २०२३ को अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । आक्रमणमा परी हालसम्म ४३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?