काठमाडौं । निर्विवाद विजय बराल अहिलेका सुपरस्टार हुन् । शीर्ष अभिनेताको रुपमा उनको पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा २० करोडको गौरवशाली आँकडा पार गरेको छ । नाटक हुँदै फिल्ममा स्थापित विजय दर्शकमाझ आफ्नो प्राकृतिक र उम्दा अभिनयले प्रिय छन् ।
‘कबड्डी’ श्रृंखलाको बिके पात्र होस् या ‘पूर्णबहादुरको सारङ्गी’को पूर्णबहादुर गन्धर्व । यी दुवै चरित्र घरेलु फिल्मले पाएका महत्वपूर्ण पात्र हुन्, जसमा विजयले प्राण भरे । यी आयाममा अभिनेता विजय बरालसँग अनलाइनखबरकर्मी विष्णु शर्माले संवाद गरेका छन् ।
आफूले अभिनय गरेको फिल्म कतिपटक हेर्नुभयो ?
पहिलो दिन नै दुईचोटि हेरें । बिहान र बेलुका श्रीमतीसँग बसेर सँगै हेरें ।
फिडब्याक कस्तो पाउनुभएको छ ?
अहिलेसम्म राम्रो फिडब्याक पाएको छु । सँगै अभिनय यात्रा तय गरेका साथीहरुले यो गरेको भए राम्रो हुन्थ्यो भन्ने कमेन्ट पाएको छु । अहिलेको अवस्था प्रशंसा बढी भएको अवस्था हो मेरो लागि ।
यत्तिको सफलता प्राप्त गर्नुले एउटा मान्छेको लागि कत्तिको प्रभाव पर्ने रहेछ ?
१७ वर्षको नाट्य यात्रामा मैले नाट्य प्रयोग पहिले नै गरेको हुँ । फिल्म क्षेत्रमा १३ वर्षको यात्रा भयो । यो किसिमको ठूलो सफलताले मान्छेलाई विचलित बनाउँछ । मेरो आफ्नो स्वभावमा यति नबनाउँला । मैले यो भन्दा अगाडि पनि चरित्र गरेकै हो । यो किसिमको उछाल आएको भयंकर अवस्था मेरो जीवनमा थिएन ।
अरु सिनेमा पनि चलेकै अवस्था थियो, त्यतिबेला म मूल पात्र थिइनँ होला । तर पनि मेरो सिनेमा चलेको अवस्था थियो । मूल पात्र भएको अवस्थामा देशैभर सबैले चिन्नु, सबैले भेट्दा थाहा पाउनु र फिल्मको चर्चा हुनु मेरो लागि मेरो लागि ठूलो र सुखद कुरा भए पनि मेरो लागि त्यस्तो उतारचढाव नहोला । म यतिबेला सफलता र असफलताबीचको सहजतामा छु ।
अघिको विजय बराल र पछिको विजय बरालबीच भिन्नता चाहिं के छ ?
विजय बरालको अवस्था उही छ । तर विजय बरालको मनस्थिति थोरै परिवर्तन भएको अवस्था हो । बानी उही हो तर यतिबेला मास्क चाहिं लगाउनुपर्ने बेला भएको छ । अरु बेला मैले मास्क लगाउन जरुरी छैन भन्थें । हामीले अभिनय अरुको लागि गरेको हो भन्थें । हामीले त देखाउने काम गरिरहेका छौं भन्थें । एउटा परिवर्तन यो ममा भयो । धेरै मासले फिल्म हेर्नुभएछ । पसलमा चर्चा भयो । बाहिर चर्चा भयो । चर्चाको हिसाबमा थोरै परिवर्तन भएको अवस्था हो ।
अर्को मनस्थिति के हुने रहेछ भने सफलता पाएपछि सफलता महसुस त गर्नुपर्ने रहेछ । यो इनर्जीलाई कसरी प्रयोग गर्ने भन्ने कुरा हो । म यस कुरामा सचेत छु । मान्छेले हेर्ने, समाजले बुझ्ने र मलाई फोन आउने प्रक्रियाहरु, अँगालो हाल्नुहुन्छ । रुनुहुन्छ । मेरो जीवनमा यस्तो चीज अब कहिल्यै पनि हुँदैन होला सायद । जुन किसिमको इनर्जी र भाइब्रेसन हुन्छ, यस्तो मेरो जीवनमा नहोला ।
विजय बराललाई अहिले सबैभन्दा ठूलो डर केबाट छ ?
वास्तविकता म डराउने मान्छे होइन । अहिले एक कल उठाउँदा १० कल आइरहेको अवस्था छ । सिनेमा हलमा रातै हुँदा मेरो मोबाइल पनि रातै हुन्छ । मलाई माया गर्नेहरुले विजय सम्हालिनु है भन्छन् । फिल्म छान्दा राम्रोसँग छान्नु है भन्छन् । यो समय तिम्रो हो, राम्रो गर्नुपर्छ भन्दा चाहिं डर पैदा हुन्छ । म आफूलाई दिएको चरित्रलाई न्याय गर्छु भन्ने मानसिकतामा हिंड्छु सधैं । क्यारेक्टरलाई लिएर मेरो अडान सधैं त्यही हुन्छ । अबको डर भनेको कामलाई कसरी ह्यान्डलिङ गर्छु भन्ने मात्र हो ।
यति हिट फिल्म दिएपछि अब विजय बरालमा अहमता हुन्छ कि हुँदैन ?
नढाँटिकन भन्नुपर्दा– हुँदैन । म फिल्म मात्र गर्थें भने त्यो हुनसक्थ्यो होला । मसँग थिएटर छ । थिएटर गर्ने भइसकेपछि म फेरि स्टेजमा जानुपर्छ । स्टेजमा गइसकेपछि प्रत्येक दिन दर्शकसँग भेट्नुपर्छ । म फेरि त्यही ठाउँमा आउनुपर्छ । यसकारण म धेरै अहम् हुन्छु कि भन्ने डरले पनि म आफूलाई काबुमा राख्न यस्तो कुरा गर्छु ।
यदि अहमता हुन्थ्यो कस्तो प्रकारको हुन्थ्यो होला ?
मेरो नेचर अहमता पाल्ने छैन । यो त एक्टिङ गरेजस्तो भयो । हामीले एक्टिङमा यदि म डाक्टर भएको भए, यदि म डाक्टर भएको भए भन्ने कुरा प्रयोग गर्छौं । भएको भए भन्नेमा कसरी जानु, यो मेरो नेचर नै होइन । ९५ प्रतिशत म घमण्डी हुन्न । ५ प्रतिशत राखौं । यो मनको कुरा हो ।
कसैले नसोचेको यस्तो सफलता आयो तपाईंको करिअरमा । यो सफलता पछाडिको कारण के देख्नुहुन्छ तपाईंले ?
कारणलाई निवारण गर्ने प्रक्रिया हुन्छन् । जस्तै- यो सफलता आउनुअघि मेरो तयारी थियो । यत्तिको हुन्छु भन्ने त थिएन तर केही हुन्छु भन्ने सोचेरै आएको हो । त्यो बीचको तयारीले मलाई यहाँ पुर्याएको हो । भन्नुको अर्थ, सफलता प्राप्त गर्न तयारी पनि महत्वपूर्ण कुरा हो । सिधै सफलता प्राप्त गर्दा त्यो दिगो नहुन पनि सक्छ । सफलताको पछाडि तयारी आवश्यक छ, मेरो लागि त्यही हो ।
पछिल्लो समय जेजस्ता घटनाक्रम भए, यसबाट तपाईंले के सिक्नुभयो ?
लक्ष्मीपूजापछि मैले के महसुस गरें भने जीवनमा लेखेको कुरासँग एउटा इनर्जी हुन्छ । कर्म गर्दै जाँदा कुनै न कुनै दिन पाइन्छ भन्ने कुरा मैले महसुस गरें । शुभ दिन थियो लक्ष्मीपूजा । हामीले पूजा गर्यौं । प्रमिला र म एउटा हलमा गयौं । जम्मा दर्शक चारजना थियौं । म अलिकति भावुक पनि भएँ । हामी चारजना मात्र दर्शक थियौं । मैले प्रमिला (श्रीमती)लाई दर्शकको मनमा बस्यो भने फिल्म वर्ड अफ माउथमा चल्छ भनेर हामी निस्कियौं । मेरो जीवनमा यो जादूजस्तै हो । एउटा त सफलताको पछाडिको तयारी होला तर यो भित्र एउटा पावर सर्कुलेट भयो होला । यो सबैको इनर्जीले बनेको होला ।
तपाईंसँग फिल्मलाई सफल बनाउने मन्त्र छ त ?
मलाई जुनसुकै क्यारेक्टर दिए पनि त्यो पात्रलाई रोचक बनाउने मेरो मन्त्र छ ।
अब कस्तो शैलीको फिल्म बनाउनुपर्छ भन्ने लाग्छ ?
अहिले फेस्टिभलको माहोल हेर्दा कमेडी जनराको, एक्सनप्रधान वा भुईंको कथा उठाउँदा पनि मनपराएको अवस्था हेर्दाखेरि नेपाली सिनेमाको आफ्नै शैली निर्माण भएको हुनुपर्छ । हाम्रो देशमा धेरै जातजाति र समुदायको बसोबास छ । यसकारण कोर कथा उठ्नुपर्छ । कथा युनिभर्सल हुनुपर्छ । मनसँग कनेक्सन हुनुपर्छ । पूर्णबहादुरले यत्तिको हाइप क्रिएट गर्नुमा चरित्रको मनसँग सम्बन्ध स्थापना गरेको छ । सबै माहोल यसरी क्रिएट भएको अवस्था हो ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
अभिनेता विजय बरालसँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ :
प्रतिक्रिया 4