२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको पिकअप भ्यान हर्देवामा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
सोमबार नै जाजरकोट भेरी नगरपालिका–१३ कदुमा भएको माइक्रोबस दुर्घटनामा २५ यात्रु घाइते भए भने नलगाडमा भएको जीप दुर्घटनामा ७ जना घाइते भए ।
आइतबार कालीकोट पलाँता गाउँपालिका–३ मा जीप दुर्घटना भयो । दुर्घटनामा ७ जनाको ज्यान गयो । राडुनेटाको उकालोमा अनियन्त्रित भई जीप काप्री खोलामा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले स्थानीय सञ्चारकर्मीलाई बताए अनुसार क्षमताभन्दा तेब्बर बढी यात्रु राखेर जीप चलाएको पाइएको छ ।
गत शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलोमा बस र विद्युतीय माइक्रोबस एकापसमा ठोक्किए । दुर्घटनामा पाँच जनाको मृत्यु भयो । ६ जना घाइते भए । अधिक गति र चालक निदाएका कारण दुई सवारीसाधन एकापसमा ठोक्किएको अनुमान गरिएको छ ।
गत शुक्रबार नै सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर १४ को रातानाङ्ला नजिकै फोर्स गाडी दुर्घटनामा पर्यो । दुर्घटनामा चार जनाको मृत्यु भयो । दुर्घटनामा २५ घाइते भए । सडकबाट २ सय मिटर तल खसेको यो गाडी दुर्घटनाको कारण अझै खुलेको छैन ।
अघिल्लो सोमबार अर्घाखाँची भूमिकास्थान नगरपालिकास्थित जयठाँटीमा देउसीभैलो खेलिरहेकामाथि ब्रेक फेल भएको बस जोतिन पुग्यो । घटनामा दुई जनाको मृत्यु भयो ।
यी दुर्घटना पछिल्लो एक सातामा भएका ठूला र घातक सडक दुर्घटना हुन् । जसले ग्रामीण सडकको दुरवस्था मात्र देखाउँदैन, नेपालको सडक प्रशासनको लापरबाहीको तल्लो हद प्रदर्शन गर्छ ।
त्यसमाथि ग्रामीण भेगमा भएका यी दुर्घटनामा राज्य सञ्चालकको मौनता अझ दयालाग्दो छ । देशभरि बढेका सडक दुर्घटना न्यूनीकरण लिएर अहिलेसम्म सरकारी निकायमा गम्भीर छलफल नै भएको छैन । मन्त्री र प्रधानमन्त्रीले समवेदनाका शब्दसम्म खर्चने जाँगर देखाएका छैनन् ।
दुर्घटना न्यूनीकरणमा उदासीन प्रहरी
गत शुक्रबार सुर्खेतमा फोर्स गाडी दुर्घटनामा प्रहरीको लापरबाही भन्दै स्थानीय आन्दोलनमा उत्रिए । स्थानीयले १५ सिटे बसमा २५ जना राख्न दिएको भन्दै प्रहरीविरुद्ध प्रदर्शनमै उत्रिए । स्थानीय तहमा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राख्दा प्रहरीले कारबाही गर्न सक्छ । तर, प्रहरीले आँखा चिम्लिने गरेको छ । स्थानीयको विरोधपछि आइतबार सुर्खेतमा प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्ने १५ वटा बस नियन्त्रणमा लिएर कारबाही गर्यो ।
दुर्घटना हुनु अगाडिसम्म मौन बसेको प्रहरीलाई घातक दुर्घटनाले केही सचेत गराएको देखिन्छ । तर, देशभरि उही प्रवृत्ति दोहोरिनुबाट प्रहरीको उदासीनता उदाङ्गो पारेको छ ।
सडक सुरक्षाका जानकार आशिष गजुरेल ‘एकातर्फ प्रहरीले आँखा चिम्लिने प्रवृत्ति र अर्कातर्फ सवारी सञ्चालकले प्रहरीको आँखा छल्दै गर्ने लापरबाही दुर्घटनाको कारक बन्दै गएको’ बताउँछन् ।
‘सहरी भेगमा प्रहरीको सक्रियता जति छ, ग्रामीण भेगमा छैन,’ उनी भन्छन्, ‘त्यसमाथि मिलेमतोमा पनि कतिपय स्थानमा देखेको नदेखे झैं गर्ने प्रवृत्ति छ ।’
प्रहरीको प्रभावकारी जाँच नहुँदा स्थानीय स्तरमा सवारी चालकले मादक पदार्थ सेवन गरे–नगरेको समेत थाहा हुँदैन । यसले गल्ती गर्दा पनि चालकको मनोबल बढ्ने सम्भावना हुने उनको भनाइ छ ।
गाडीको स्वास्थ्य कसले जाँच्ने ?
नेपालको पहाडी भेगमा अधिकांश थोत्रा सवारीसाधन चलाइएको छ । यस्ता सवारीसाधन नियमित जाँच पनि हुँदैन ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्थानीय स्तरमा आफूखुसी चल्ने यस्ता सवारीसाधनमा कसैको पनि निगरानी नहुँदा दुर्घटनाको जोखिम बढी हुने बताउँछन् ।
‘सामानमात्र बोक्न मिल्ने ५ सिटे गाडीले १५ यात्रु लिएर हिँडेको हुन्छ,’ उनी भन्छन्, ‘त्यो सवारी यात्रु बोक्न योग्य छ कि छैन, कसले जाँच गर्ने ?’
सार्वजनिक यातायात व्यवस्थित र सुरक्षित बनाउन तीन तहका सरकार गम्भीर नहुँदा सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरिरहेको उनी बताउँछन् ।
अर्घाखाँचीमा देउसी भैलो खेलिरहेका माथि ब्रेक फेल भएको बस जोतिनु सवारीसाधनको स्वास्थ्य जाँचविना सवारी कुदाइने लापरबाहीको एक उदाहरण हो ।
सडक कति सुरक्षित ?
भर्खरै सकिएको मनसुनका कारण देशभरिका ग्रामीण सडकको अवस्था बिग्रिएको छ । तर, नेपालमा एक डोजरले बाटो सफा गरेको भरमा विनापरीक्षण सडकमा सवारीसाधन चलाउने अनुमति दिने गरिन्छ ।
सडक सुरक्षाविद् गजुरेल भन्छन्, ‘पक्की राजमार्गमा त डिलमा बार होला, ग्रामीण सडकमा के छ त ? धेरै सडक भासिएको छ, त्यो चल्न योग्य छ कि छैन भनेर कसले जाँच गर्ने ? भगवान भरोसामा यात्रुवाहक सवारी चलाउँदा दुर्घटना दोहोरिरहेको छ ।’
चालक कति दक्ष ?
स्थानीय स्तरमा यात्रु लिएर हिँड्ने सवारीसाधनका चालकको योग्यता र दक्षतामा समेत प्रश्न उठ्ने गर्छ । नेपालमा सवारीसाधन चलाउने पेसालाई अहिले पनि सम्मानजनक रूपमा हेरिँदैन ।
‘एक मान्छेको हातमा ५०औं मानिसको जिन्दगी जोडिन्छ, उनीहरूको आर्थिक अवस्था, मानसिक अवस्था, योग्यता र क्षमताबारे कसले हेर्ने ?,’ गजुरेल भन्छन् ।
कतिपय अवस्थामा सहयोगीले सवारी हाँकिराख्दा पनि लाइसेन्स जाँच नहुने अवस्था रहेको भन्दै उनले यसमा स्थानीय प्रशासन चनाखो हुनुपर्ने उनी बताउँछन् । अर्कातर्फ, सडक सुरक्षा सचेतना अभाव, कम उमेरका चालकले गर्ने लापरबाही समेत दुर्घटना निम्तिने गरेको छ ।
स्थानीय तह : कर उठाउन हतार, सडक सुरक्षामा छैन चासो
ग्रामीण सडक र यातायात सुरक्षामा स्थानीय तहको भूमिका सबैभन्दा अगाडि आउँछ । तर, अहिलेसम्म स्थानीय तहले आफ्नो प्रभावकारी भूमिका देखाउन सकेका छैनन् ।
यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सिटौला प्रश्न गर्छन्, ‘स्थानीय तहको जिम्मेवारी पटके कर उठाउने मात्र हो त ? सवारी साधन कन्डिसनमा भए–नभएको, सडक सवारी चलाउन योग्य भए–नभएको पनि हेनुपर्यो नि !’
उनले सार्वजनिक यातायात सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरणमा प्रदेश र स्थानीय सरकारले आफ्नो भूमिका प्रभावकारी निर्वाह गर्न नसकेको समेत उनले बताए ।
किन मौन छ सरकार ?
शृङ्खलाबद्ध सडक दुर्घटनापछि पनि केन्द्र सरकारलाई भने कुनै चासो छैन । संसद नभएका कारण जनता सडकमा मरिरहेको खबर सञ्चारमाध्यममा आउनु बाहेक सार्वजनिक बहसमा छैन ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता इश्वरीदत्त पनेरु देशभरि स्थानीय स्तरमा भइरहेका दुर्घटनाबारे विभाग जानकार रहेको बताउँछन् ।
अहिले भइरहेका धेरै दुर्घटना संघीय सरकार मातहत भन्दा पनि स्थानीय स्तरको अधिकार क्षेत्रका सडकमा भइरहेको उनको भनाइ छ ।
‘यसो भन्दैमा हाम्रो जिम्मेवारी छैन भन्न खोजेको होइन,’ उनले भने, ‘सबै सरोकारवालासँग समन्वय गरेर दुर्घटना न्यूनीकरणमा हामी लाग्छौं ।’
प्रतिक्रिया 4