२८ कात्तिक, काठमाडौं । न्यूयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित गरेको छ । बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन ।
न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका अभियोजक दुवैको अनुरोधमा ट्रम्पविरुद्धको मुद्दामा तत्काल कुनै पनि सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।
न्युयोर्क अदालतले रकम दुरुपयोग सम्बन्धी मुद्दामा ट्रम्पलाई सजायँ प्रक्रिया अघि बढाउने कि रद्द गर्ने भन्ने निर्णय गर्नुपर्ने छ ।
सन् २०१६ मा एक महिलासँगको शारीरिक सम्पर्कलाई गोप्य राख्ने उद्देश्यले ट्रम्पले ती महिलालाई रकम दिएको र त्यससम्बन्धी कागजात नष्ट गरेको आरोप छ । यो आरोपमा जुरीले ट्रम्पलाई दोषी देखाएको थियो । साथै जुरीले ट्रम्पलाई गत मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरेको थियो ।
आफूमाथि लागेका आरोपको भने ट्रम्पले खण्डन गर्दै आएका छन् । चुनाव अगाडि उनीमाथिका मुद्दा खारेज गर्न माग गरेका थिए । तर अभियोजकहरुले भने अस्वीकार गरेका थिए ।
प्रतिक्रिया 4