
३० कात्तिक, काठमाडौं। एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स) भेटिएको छ ।
प्रहरीले पक्राउ परेका बेला उनको साथमा लाइसेन्स भेटिएको थिएन । त्यसपछि प्रहरीले उनको लाइसेन्समाथि अनुसन्धान अघि बढाएको थियो । अहिले भने भुजेलले लाइसेन्स पेश गरेको बौद्ध प्रहरीले जनाएको छ ।
भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन्। उनको अहिले ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
यता भुजेलमाथि अनुसन्धान गर्न भन्दै बिहीबार काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ ।
प्रतिक्रिया 4