
५ मंसिर, काठमाडौं । नेकपा एमालेले भोलि दरबारमार्गमा गर्ने सभा अराजकताविरुद्ध सन्देश हुने जनाएको छ ।
बानेश्वरस्थित एक होटलमा पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै एमाले नेताहरुले ७ मंसिरमा दरबारमार्गमा हुने सभाबारे जानकारी दिएका थिए । अन्तर्क्रियामा नेताहरुले देशभित्र केही भइरहेको छ भन्ने सन्देश दिनु सभाको उद्देश्य रहने बताए ।
‘भइरहेका कुराहरुलाई सम्पूर्ण रुपले पर्दा लगाएर देश बर्बाद भइरहेको छ भन्ने निराशाको खेती गर्ने प्रयत्न भइरहेको छ, त्यसमा केही बोल्नुपर्छ भन्ने हो । सडक कब्जा गर्ने उद्देश्य होइन’, उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने ।
सभा मार्फत् एमाले कार्यकर्ता र जनतालाई सत्य कुरा भन्न लागेको ज्ञवालीले बताए । अराजकता सह्य नहुने सत्य जनसभा मार्फत् भन्न लागेको उनको भनाइ छ ।
‘अरु कुरामा हामी माक्र्सलाई धेरै फलो गर्छाै, यस मामलामा (स्वतन्त्रता) धेरैजसो भोल्टियरलाई कोट गर्ने गरेको छु’ ज्ञवालीले भने, ‘उनले भन्छन् कि तपाईंका विचारसँग असहमत छु, तर तपाईंले बोल्न पाउने अधिकारका निम्ति चाहिँ जीवनभर लडिरहनेछु, नेकपा एमालेको हकमा यही कुरा लागू हुन्छ ।’ तर अहिलेको अराजकताले लोकतन्त्र कमजोर पार्ने उनले बताए ।
यद्यपि अराजकताको समाधान जनसभा नरहेको पनि ज्ञवालीले स्वीकारे । ‘समाधान डेलिभरी नै हो । तर डेलिभरी भइरहेको छ भन्ने कुरा मान्छेले बुझ्नै चाहेन भने बुझाउन सकिएन भने डेलिभरीबाट जाग्नुपर्ने आशा पनि जाग्दैन’, उनले भने ।
पत्रकारहरुले भने अराजकता फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंबारे एमालेले विगतमा गरेको निर्णयमाथि प्रश्न उठाएका थिए । यसमा उपमहासचिव ज्ञवलीले विगतमा गल्ती भएको स्वीकारे ।
‘दुर्गा प्रसाईं हाम्रो पार्टीको केन्द्रमा पनि पुगे । अब कसरी पुगे त्यसमा हामीले पर्याप्त ध्यान पुर्याउन सकेनौं भन्ने कुरा सबैलाई रियलाइजेसन भएकै कुरा हो । त्यसमा चाहिँ आगामी दिनमा ध्यान दिनुपर्छ’, ज्ञवालीको जवाफ थियो । यद्यपि लोकतन्त्रको रक्षा अहिले सवैको दायित्व भएको पनि उनले निष्कर्ष सुनाए ।
जनसभा तयारी समितिका संयोजकसमेत रहेका बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले पनि सरकारले गरिरहेको कामबारे जनतालाई जानकारी दिन जनसभा गर्न लागिएको बताए ।
‘सत्तामा नहुँदा मात्र सडकमा जाने भन्ने हुँदैन । सत्तामा हुँदा पनि सडक र जनतामा गएर जनताको कुरा सुन्नुपर्छ, सरकारको कुरा भन्नुपर्छ, यो संसारको अभ्यास हो’, भट्टराईले भने ।
सभाको अर्को उद्देश्य उपचुनावमा मत माग्नु पनि रहेको भट्टराईले बताए । उनले एमालेको सभामा एक लाख हाराहारी सहभागिता रहने दावी पनि गरे ।
‘हामीले आँकलन गरे अनुसार लाख हाराहारीमा मानिस आउँछन्, ठ्याक्कै त्यति नपुगेपनि उल्लेख्य सहभागिता हुनेछ’, भट्टराईले भने ।
प्रतिक्रिया 4