+
+

यसो गरे बन्न सक्छ भैरहवा साँच्चै अन्तर्राष्ट्रिय विमानस्थल

विभिन्न देशबाट सिधै गौतमबुद्ध विमानस्थल गन्तव्य बनाएर आइरहेका जहाजका ताँतीले बिस्तारै भैरहवालाई व्यस्त सहरमा रूपान्तरण गर्ने अवस्था सिर्जना भएको छ । तर, भैरहवा विमानस्थल कहिलेसम्म यसैगरी गुल्जार हुन सक्ला ?

सुशील भट्टराई सुशील भट्टराई
२०८१ मंसिर ७ गते ९:०१
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध (भैरहवा) मुलुकको अर्थतन्त्रमा ‘बिग अपरचुनिटी’ बनाउन सकिने सम्भावना बलियो छ ।

दुई वर्षअघि सञ्चालनमा आएको गौतबुद्ध अन्तर्राष्ट्रि विमानस्थल केही दिनयता ‘गुल्जार’ जस्तै छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज ओहोरदोहोर हेर्नलायक छ ।

विभिन्न देशबाट सिधै गौतमबुद्ध विमानस्थल गन्तव्य बनाएर आइरहेका जहाजका ताँतीले बिस्तारै भैरहवालाई व्यस्त सहरमा रूपान्तरण गर्ने अवस्था सिर्जना भएको छ ।

तर, भैरहवा विमानस्थल कहिलेसम्म यसैगरी गुल्जार हुन सक्ला ?

प्रश्न पेचिलो छ । प्रश्न जति पेचिलो छ, त्यसलाई सहज अवतरण गराउन सरकार आफैं अग्रसर नभए, भैरहवालाई व्यस्त सहर बनाउन त्यति नै असहज छ ।

खासमा, भैरहवा विमानस्थल एक्कासि गुल्जार भएको होइन । एकमात्र कारण यो विमानस्थल लगभग व्यस्त हुन पुगेको हो ।

मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवनमा २३ कात्तिकदेखि प्यारालल ट्याक्सी वे, जहाज एप्रोन, पार्किङ लगायत निर्माण हुन थालेपछि विमानस्थल सञ्चालन अवधि दैनिक १० घण्टा कटौती भएको छ ।

सञ्चालन अवधि कतौटी हुनासाथ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान लगभग ५० प्रतिशत जति छटनी भइसकेको छ ।

त्रिभुवन विमानस्थल सञ्चालन अवधि पाँच महिनासम्म दैनिक १४ घण्टामा खुम्चिएपछि त्यसको प्रत्यक्ष फाइदा भैरहवालाई पुगेको हो । अहिले जुन–जुन विदेशी वायुसेवाका उडान कटौती भएका छन्, तीमध्ये आधा दर्जन हाराहारीले भैरहवालाई गन्तव्य बनाइरहेका छन् ।

हाल कतारको दोहाबाट कतार एयरवेज, कुवेतबाट जजिरा एयरवेज, दुबईबाट फ्लाई दुबई, थाइल्यान्डको बैंककबाट थाई एयर एसिया र नेपाल वायुसेवा निगमले दोहाबाट सिधा भैरहवा उडान गरिरहेका छन् ।

अहिले भैरहवाका लागि कतार एयरवेज र फ्लाई दुबईले दैनिक एक, नेपाल वायुसेवा निगमले सातामा पाँच, जजिरा एयरवेजले सातामा तीन र थाई एयर एसियाले सातामा दुई उडान गरिरहेका छन् ।

भैरहवालाई साँच्चै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका हिसाबमा स्थापित गर्ने हो भने तत्काल सरकारले आधा दर्जनजति काम गर्नैपर्छ ।

ती काम यी हुन् :

१. सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आवश्यक सम्पूर्ण सेवा सुविधा काठमाडौंमा भए जस्तै अध्यागमन, पासपोर्ट, श्रम, स्वास्थ्य, विद्यार्थीलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लगायत सुविधा भैरहवामा उपलब्ध गराउनुपर्छ ।

२. भैरहवा चल्ने आधार भनेको वैदेशिक रोजगारी हो । भैरहवा हुँदै वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक सबै सरकारी सुविधा उपलब्ध गराउनुपर्छ ।

३. भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय गन्तव्यबाट जहाजहरू ल्याउन लुम्बिनीलाई विश्वव्यापी प्रवर्द्धन गर्नुपर्छ । सरकार आफैंले लुम्बिनी भनेको बुद्धको जन्मस्थल र तपोभूमि हो भन्ने अभियान सञ्चालन गर्नुपर्छ ।

४. अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गरिरहेको भैरहवा विमानस्थल सही तरिकाले सञ्चालन गर्ने सन्दर्भमा उपयुक्त मोडेल अनुसार सरकार र निजी क्षेत्रको सहकार्य (पीपीपी) गर्नुपर्छ । यसबारे अध्ययन हुनुपर्छ । उड्डयन प्राधिकरण एक्लैले यो विमानस्थल सञ्चालन गर्न सक्दैन ।

५. भारतका कारण हवाई रुट र प्रोसिडियोरमा लामो समयदेखि समस्या भइरहेका सन्दर्भमा त्यसलाई सम्बोधन गर्न सरकारकै उच्च तहबाट भारतसँग वार्ता, छलफल गरी सहजीकरण गर्नुपर्छ । प्राधिकरणको तहबाट यो समस्या सल्टिन सम्भव छैन ।

६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुल यात्रुको ३० देखि ४० प्रतिशत तराई भेगका छन् । सहजताका हिसाबमा उनीहरूलाई काठमाडौं आउनुभन्दा भैरहवाबाट उडान–अवतरण गर्न सजिलो हुन्छ । यसमा पनि सरकारले ध्यान दिनुपर्छ । अहिले भइरहेको एकमात्र टर्मिनलले त्यति यात्रु चाप धान्न सक्दैन । तीन–चार वर्षमै अर्को टर्मिनल बनाउनुपर्छ । भैरहवा विमानस्थलको विद्यमान् क्षमता जे छ, त्यतिमै सीमित रहने हो भने अवसर गुम्छ ।

७. अहिले त्रिभुवन विमानस्थलमा विभिन्नखाले निर्माणका कारण दैनिक १० घण्टा बन्द हुँदा जसरी भैरहवामा जहाज जान थालेका छन्, यसले सुखद सुरुवात भएको छ । यसलाई ठूलो अवसरका रूपमा सरकारले लिन सक्नुपर्छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई साँच्चै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने सकेसम्म चाँडो सरकार आफैं तात्नुपर्छ । यसमा प्राधिकरणको मुख ताकेर बस्नु भनेको अवसर गुमाउनु हो ।

‘त्रिभुवन विमानस्थलको अहिलेको अवस्था दृष्टिगत गरी भैरहवा विमानस्थल एकदमै ठूलो अवसरका रूपमा आएको छ । यसलाई बलियो गरी प्रवर्द्धन गर्न सके यो देशकै अर्थतन्त्र कायापलट गर्न सक्ने सम्भावना भएको अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले अनलाइनखबरसँग भने, ‘भैरहवा विमानस्थल एउटा अवसर बनेर आएकाले यसलाई समात्न सक्नुपर्छ । यो अवसर गुम्यो भने ठूलो सम्भावना गुम्ने निश्चित छ ।’

हाल भैरहवामा स्वदेशी तथा विदेशी पर्यटकका लागि पर्याप्त मात्रामा होटल, लज, रेस्टुरेन्ट उपलब्ध छन् । विभिन्न विदेशी गन्तव्यबाट सिधै भैरहवा उत्रिने पर्यटक पनि उताबाट आन्तरिक उडान वा स्थलमार्ग हुँदै काठमाडौं, पोखरा, चितवन लगायत पर्यटन गन्तव्य जान सक्छन् ।

‘भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुने ग्यारेन्टी हुन्छ तब यात्रु त्यतै लाग्छन् । जब यात्रु बढ्छन् तब वायुसेवा कम्पनी स्वतः भैरहवा जान थाल्छन्,’ गौतम भन्छन्, ‘यात्रुलाई सुविधा चाहिएको छ र वायुसेवा कम्पनीलाई सेवा दिएर केही नाफा कमाउनु छ । यी दुईबीच तालमेल मिलाउन सके भैरहवा विमानस्थल एकदमै ठूलो अवसर हो ।’

भैरहवा विमानस्थल केही तथ्य

भैरहवा विमानस्थल ५७ वर्षअघि २०२४ सालमा भारतको सरकारको प्राविधिक सहयोगमा ‘भैरहवा विमानघाट’ नाममा स्थापना भएको थियो । त्यसको २५ वर्षपछि यसको नाम परिवर्तन गरी ‘गौतमबुद्ध विमानस्थल’ राखिएको थियो ।

आन्तरिक विमानस्थलका रूपमा स्थापना भएको यो विमानस्थल २ जेठ २०७९ मा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन हुन थालेको हो ।

यसलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न लगभग ७ अर्ब रुपैयाँ खर्च भएको थियो । तर, भविष्यमा थप विस्तार गर्नुपर्ने योजना अनुसार वरिपरिको जग्गा अधिग्रहण गर्न अर्को करिब २५ अर्ब रुपैयाँ जति खर्च गरिएको छ ।

यसमा हाल एउटामात्र अन्तर्राष्ट्रि टर्मिनल भवन छ । यसको एकमात्र धावनमार्गको लम्बाइ ३ हजार मिटर र चौडाइ ४५ मिटर छ । पुरानो धावनमार्गलाई भने ट्याक्सी वे बनाइएको छ ।

अन्तर्राष्ट्रिय उडान हुनुअघि र हाल आन्तरिक वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन् ।

भैरहवामा पहिलो पटक अन्तर्राष्ट्रिय उडान कुवेतको जजिरा एयरवेजले दुई वर्षअघि गरेको थियो ।

लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?