 
																			७ मंसिर, काठमाडौं । नेकपा एमालेले सत्तामा रहेको दलले सभा र र्याली गर्न नमिल्ने भन्दै भएका टिप्पणीप्रति आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा र्यालीसहित एमालेले ‘जनजागरण सभा’ नाम दिएर प्रदर्शन गरिरहेको छ ।
र्यालीपछि दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महासचिव शंकर पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने र आफूहरूले पनि त्यही गरेको दाबी गरे।
महासचिव पोखरेलले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विभिन्न सभामा पुगेर सम्बोधन गर्ने गरेको र भारतीय लोकतन्त्र देखेका नेताहरूले यस्तो टिप्पणी गर्न नमिल्ने बताए।
‘लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने गर्छन् । टाढा जानै पर्दैन, हाम्रो छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिनदिनै विभिन्न राज्यको दौडाहामा जनताको बीचमा भाषण गरिरहेका समाचार सुनिरहनुहुन्छ,’ महासचिव पोखरेलले भने, ‘लोकतन्त्रमा प्रधानमन्त्रीले भाषण गर्न हुन्छ कि हुँदैन ? लोकतन्त्रमा प्रधानमन्त्रीको पार्टीले सभा र र्याली गर्न मिल्छ कि मिल्दैन ? कम्तीमा भारतीय लोकतन्त्र देखेका नेताहरू यस प्रकारको टिप्पणी नगरे हुन्थ्यो ।’
एमाले जनताको पार्टी भएको उल्लेख गर्दै उनले जनताका बीचमै गएर षड्यन्त्र चिर्ने पनि बताए।
‘जनताको पार्टी हो, जनताका बीचमा गएरै षड्यन्त्र र भ्रमलाई चिर्छ। राष्ट्रका पक्षमा उभिन्छ,’ महासचिव पोखरेलले भने, ‘नेकपा एमाले जनताको पार्टी भएकाले जनताको बीचमा जाने फैसला गरेको हो । यो कुनै सरकारको कार्यक्रम होइन। पार्टी सधैँ जनताको बीचमा छ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4