गाडी थोत्रो र चल्दै नचल्ने भयो भने त्यसलाई कवाडीमा दिनुको विकल्प हुँदैन । तर, कोही मानिसले आफ्नो गाडीलाई यतिधेरै माया गर्दारहेछन् कि उक्त प्यारो गाडीलाई कवाडीमा दिनुको साटो मृतक मानिसको जस्तै गरी अन्त्येष्टि गरेर चिहानमा गाड्छन् ।
हालै एउटा भारतीय परिवारले आफ्नो पुरानो सुजुकी वागन कारको भव्य अन्त्येष्टि कार्यक्रमको आयोजना गर्यो ।
गुजरातको पादरसिंहा गाउँमा बस्ने पोलारा परिवारले हालै आफ्नो १८ वर्ष पुरानो उक्त प्रिय कारलाई बिदाइ गरे । उनीहरुले एक अन्त्येष्टि कार्यक्रमका बीच उक्त कारलाई जमिनमा खनिएको खाडलमा गाडेर अन्तिम संस्कार गरेका हुन् । उक्त कार अन्त्येष्टि कार्यक्रममा १५ सय जना पाहुनाहरु सहभागी भएका थिए ।
उक्त लोकप्रिय मोडेलको कार आफूहरुको लागि लक्की कारको रुपमा रहेको भन्दै उनीहरुले कवाडीमा दिनुको साटो त्यसलाई राम्रोसँग बिदाइ गर्न चाहे ।
कारधनी सन्जय पोलाराका अनुसार उनीसँग धेरैवटा अरु महँगा कार पनि छन् । तर, उनका लागि त्यो पुरानो सुजुकी वागन कार निकै विशेष छ । किनभने त्यो कार किनेदेखि नै उनको परिवारको भाग्य चम्किन थालेको हो ।
सो कारको अन्त्येष्टिका लागि १५ फुट गहिरो चिहान खनिएको थियो र विस्तारै कारलाई उक्त खाडलमा राखियो । त्यसपछि कारको माथि फूलका पत्रसँगै रंगीविरंगी मालाको साथ सिंगारेर संगीतको धुन बजाइएको थियो । त्यसपछि परिवारजनले उक्त कारलाई हरियो कपडाले छोपे र हिन्दू परम्परा अनुरुप अन्त्येष्टिको संस्कार पूरा गरियो । त्यसपछि उक्त कारलाई माटोले पुरियो। उक्त अन्त्येष्टि समारोहमा करिब साढे ४ हजार डलर खर्च भएको बताइएको छ । उक्त कारको माथि समाधी समेत स्थापित गरिएको छ ।
सञ्जय भन्छन् – यो कार केवल सवारी साधन मात्रै होइन । यो हाम्रो सफलतातर्फको यात्राको एक हिस्सा हो । यसलाई बेच्नुको साटो हामीले यसलाई भावी पुस्ताको स्मरणका लागि समेत सम्मान गर्न चाह्यौं ।
सञ्जय पोलारा भारतको सुरतमा बस्ने निर्माण व्यवसायी हुन् ।
प्रतिक्रिया 4