मैले युजी (घरमा पालेको कुकुर) लाई जबर्जस्ती बिस्कुट खान दिएँ । थाहा छैन किन हो बेखुश छ ऊ आज हामी (म र अरुणा) सँग । मेरो जबर्जस्तीले हो कि ! युजीका आँखा रसाएका थिए । अब म हच्किएँ । मलाई युजीको आँशुले उद्वेलित गरिदियो ।
शायद मेरो मन राख्न होला, उसले दुईवटा बिस्कुट खाएको छ । सारमा ऊ दिनभरि नै भोको बसेको छ ।
………
आँशु ! पीडाको भयङ्कर ठूलो विस्फोट जस्तो लाग्छ । तर म सित्तिमिति पीडाले आँशु झार्ने पक्षमा छैन । त्यसैले मलाई अरू कसैको आँशुको प्रत्येक थोपाले पनि गहिरो चोट दिने गर्छ ।
पीडामा मेरो रोदन आँशु हैन शब्दका बान्की बनेर बगेका हुन्छन्, चोटका प्रत्येक खाटाहरूमा ।
त्यही चोटको एउटा खाटा थियो ‘पत्रकारको दुःख’ । यो चोट मैले पाएको छु र म जस्ता सयौं पत्रकारले पाएका छन् । जसले सत्य, सन्तुलित र विश्वसनीयतालाई आफ्नो धर्म मानेर पत्रकारिता गरिरहेका छन् ।
पत्रकारको दुःख धेरैले रुचाउनुभयो । पत्रकारहरूको वास्तविक पीडाको अभिव्यक्ति भनेर धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुभयो । धेरैले मलाई भेटेर वा टेलिफोनै गरेर पनि धन्यवाद भन्नुभयो । पत्रुकारिता बढ्दै गएकोले तथ्य लेख्ने पत्रकारहरू समस्यामा परेको भनेर व्यङ्ग्य पनि गरिएको छ ।
केही साथीहरूले व्यक्तिगत समस्या नलेखेको भए हुने भनेर पनि सुझाउनुभएको छ । उहाँहरूको सुझावको म सम्मान गर्छु । तर यसले तथ्यलाई प्रमाणीकरण गर्न सहयोग पुग्छ भन्ने मेरो निष्कर्ष रहेकोले ती कुराहरू उल्लेख गरेको हुँ । यसमा सहानुभूतिको फिटिक्कै लालसा छैन ।
विश्व इतिहासलाई हेर्दा पत्रकारिताको सुरुवात भएको ३०० वर्ष नाघेको छ । नेपालमै पनि १९५५ बाट पत्रकारिताको सुरुवात भएको मान्दा १५० वर्ष भन्दा बढीको इतिहास छ । म आफूले पत्रकारिता गरेको अवधि पनि ३० वर्ष नाघिसकेको छ ।
३०० वर्ष अघिदेखिको पत्रकारिताको इतिहास पढ्ने र यो पेशामा आफ्नो भोगाइलाई सूक्ष्म ढंगले अनुभूति गर्ने हो भने पत्रकारको दुःख कतिसम्म छ भन्ने कुरा शब्दका केही वाक्य र हरफहरूले मात्र बयान हुँदैन ।
तथ्यको भारी बोकेर फिल्डमा रिपोर्टिङको लागि निस्कने प्रत्येक पत्रकारले दुःखलाई नजिकबाट नियालिरहेका हुन्छन् । हरेक पाइलामा अर्थको पीडा, स्रोतको सुरक्षा, पीडकको त्रास र परिवारको अस्तव्यस्तता भोगिरहेका हुन्छन् पत्रकारले । अलिकता पीडितको खुशीले मात्र हो पत्रकारलाई तथ्यमा अडिन बल मिल्ने ।
पत्रकारको दुःख पढेपछि काठमाडौंका तिलक कोइरालाले मलाई मेसेज बक्समा लेख्नुभयो-त्यसैले मैले सात वर्ष अघि पत्रकारिता छोडे !
किनभने उहाँले पनि पत्रकारिता गर्दा शायद धेरै दुःख खेप्नुभएको थियो । तिलकजीले मलाई सुझाव दिनुभएको छ– पत्रकारिता नछोडे पनि अर्को मुख्य पेशा चाहिं सुरु गरिहाल्नुस् !
तिलकजीको सदाशयता आत्मीय छ । तर पत्रकारितालाई मुख्य पेशा बनाएका पत्रकारहरूको लागि अर्को मुख्य पेशा अँगाल्न पनि समस्यै हुने रहेछ । पत्रकारिता चटक्क छोडेर अर्को पेशामा जान पनि समस्यै छ । उमेरको समस्या, आत्मसम्मानको समस्या र मुख्य त अर्थकै समस्या ।
इमानदारीपूर्वक अर्को मुख्य पेशा अपनाउन पर्याप्त अर्थ नै चाहिन्छ । जो एउटा इमानदार पत्रकारले कहिल्यै जम्मा गर्न सक्दैन । अनि ऋण लिएर अर्को पेशा गर्दा भएको अलिअलि पुख्र्यौली सम्पत्ति समेत डुबाएर बिल्लीबाठमा परिने । जुन पीडा अहिले म भोगिरहेको छु ।
पेशागत दक्षता भएका थोरै पत्रकार इमानदारीपूर्वक टिकेका पनि छन् तर त्यो थोरैमा धेरै साथी अट्न सक्नुहुन्न । त्यसमा पनि मोफसलमा बसेर पत्रकारिता गर्ने साथीहरू जतिसुकै दक्ष र सक्रिय भए पनि त्यो थोरै संख्यामा अट्नै सक्नुहुन्न । किनभने नेपालका अधिकांश मिडिया थोरै पत्रकारलाई मात्र अटाउन सक्ने क्षमताका छन् । अरू धेरै पत्रकारहरू कि पत्रुकारको बाटोमा पुग्ने कि पीडाको चक्रव्यूहमा ।
अलिकता बल गरेर मोफसलबाट राजधानी लम्कन पनि इमानको बोझले आत्मविश्वासलाई थिलथिलो पारिदिएको छ ।
मोफसलका हामी पत्रकारहरू रिपोर्टिङसँगै सामाजिक अभियान, मानवअधिकारको रक्षा, शान्ति र विकास जस्ता धेरै अभियानमा निष्पक्ष ढङ्गले जोडिने भएकोले पनि इमान भन्दा अरू केही कमाउनै सकेका छैनौं ।
इमान मात्र भएका पत्रकार राजधानीमा कसरी टिक्ने ? राजधानीमा बसेर इमानमा तैरिएका थोरै पत्रकार पनि पत्रुकारको झुण्डमा बेपत्तासँग जिप्टिएका छन् । मोफसल छोड्ने निर्णय गर्न यस्तै–यस्तै प्रश्नले रन्थनाउँछ । अनि, घर–परिवार, सामाजिक परिवेश, आँगन, बार्दली, कौसी, चिया जक्सन र चौतारी, वन–बुट्यान, साथी–संगी… यस्तै–यस्तै परिवेशले मोफसल नै प्यारो लाग्छ ।
अहिले त झन् अनियन्त्रित अनलाइन र युट्युबहरूले इमानमा अडिग पत्रकारलाई ठूलै झट्का लगाइदिएको छ । राजधानी छिरेर के गर्नु क्यामेरा भिरेर युट्युबरको नाममा कसैको घर–परिवार, व्यक्तिगत जीवनशैली, व्यक्तिगत चरित्र माथि प्रश्न उठाउँदै फलाक्ने बानी नै परेन । त्यो सीप नभएपछि कसले पत्रकार भनेर चिनिदिने !
हाम्रो सामाजिक चेतनाले त अपुष्ट आरोप र व्यक्तिगत चरित्रमाथि किचड उछाल्ने उद्दण्ड सूचना वाहकलाई असली पत्रकार ठान्दछ । जसले मिहिनेतपूर्वक स्थलगत पुगेर तथ्यगत सूचना सम्पे्रषण गर्छ, जसले सकारात्मक समृद्धि र सन्देशलाई समाचार बनाउँछ त्यो त पत्रकार नै हुँदैनन् ।
हामी सूचनाको उद्दण्डतालाई पत्रुकारको व्यवसाय भनेर गाली त गर्छौं तर त्यसको नियन्त्रण र अन्त्यको लागि हाम्रै भूमिका महत्वपूर्ण हुन्छ भन्ने हेक्का चाहिं कहिल्यै राख्दैनौं । हरेक श्रोता र पाठकले सूचनामा उद्दण्डता छ भन्ने जान्दाजान्दै पनि आफ्नो अनुकूल हुँदा स्यावासी दिने चरित्रलाई सुधार गरौं त ।
कसले आँट गर्छ सूचनामा उद्दण्डता खोज्ने ? अनुकूल हुँदा स्याबास भन्ने अनि प्रतिकूल हुँदा उद्दण्ड देख्ने श्रोता र पाठकको चरित्र सुध्रियो भने मिडिया व्यवसायमा पत्रुकारको हाइ–हाइ कहिल्यै हुँदैन ।
श्रोता या पाठकले अन्तरमनको आवाज सुनेर निर्णय गरेनन् भने आफ्नो खर्चमा स्थलगत पुगेर स्रोतसँग नजिकिंदै तथ्यलाई समाचार बनाउने पत्रकार सधैं आर्थिक र सामाजिक रूपमा प्रताडित बनिरहन्छन् । उरन्ठेउलो र काल्पनिक सूचनालाई समाचारको स्कूप दाबी गर्दै गैरकानुनी युट्युब र अनलाइनमा प्रचार गर्ने टिपोर्टरहरू सम्पन्न र सम्मानित बनिरहन्छन् ।
पत्रकार र पत्रुकार वा रिपोर्टर र टिपोटरको भेद छुट्याउन नियामक निकाय प्रेस काउन्सिल, सूचना विभाग लगायतले निश्चित कानुनी प्रक्रिया अगाडि बढाउनै पर्छ । पत्रकारहरूलाई लाइसेन्स दिने व्यवस्था गर्नै पर्छ ।
म पत्रकार महासंघको नेतृत्वमा हुँदा पटक–पटक पत्रकारलाई लाइसेन्सको व्यवस्था हुनुपर्छ भनेर आवाज उठाएँ । तर सुनुवाइ भएन । किनभने पत्रकारलाई लाइसेन्सको व्यवस्था गरियो भने आत्मसम्मानमा चोट पुग्छ रे ! अनुशासनको लागि पत्रकार आचारसंहिता नै पर्याप्त हुन्छ भन्ने केही विशिष्ट सञ्चारकर्मीहरूको तर्क छ ।
एउटा भनाइ छ नि– सुतेको मानिसलाई उठाउन सजिलो हुन्छ, निदाएको नाटक गर्नेलाई उठाउन सकिन्न । हो, अनुशासन नै नभएका टिपोटर र पत्रुकारको जमात हावी भएको अहिलेको अवस्थामा पत्रकार आचारसंहिताको के अर्थ होला र ?
अहिले म प्रेस काउन्सिलको बोर्ड सदस्य छु । अहिले पनि मैले लाइसेन्सको विषयलाई पटक–पटक उठाउने गरेको छु । तर खै यसको कार्यान्वयन होला जस्तो लाग्दैन । हामीले आफ्नो लागि कानुनी दायरा प्रष्ट गरेनौं भने सरकारलाई निरंकुश हुने बाटो खुल्नेछ ।
किनभने सरकार सधैं सूचनाको अराजकतामा मूकदर्शक बनेर त पक्कै बस्दैन होला । यस्तो अवस्थामा आचारसंहिता मात्र भनेर निश्चित कानुन नबनाउने हो भने सरकारले अन्तैको धारा–उपधाराको व्याख्या गर्दै धरपकड सुरु गर्ला । अनि हामीले विज्ञप्ति जारी गर्दै हातमा कालोपट्टी बाँध्नुको के अर्थ रहला र !
पत्रकारको शुद्धीकरण, आर्थिक सबलीकरण र सम्मानको लागि पनि सूचनाको वाहक स्वयम् पत्रकार, सूचनाका श्रोता तथा पाठक र सरकारले कानुनी प्रक्रियाबाट शुद्धीकरणको बाटो तय गर्न सहयोगी भूमिका खेल्नै पर्छ । श्रोता तथा पाठकले पक्षधरतालाई हैन तथ्यलाई आत्मसात् गरौं, सरकारले न्याय, समानता, अभिव्यक्ति स्वतन्त्रता र लेखन स्वतन्त्रताको रक्षा गर्दै पत्रकार लाइसेन्सको व्यवस्था गरौं र पत्रकारले आत्मसम्मानको दम्भलाई त्यागेर लाइसेन्सको व्यवस्थालाई स्वीकार गरौं । पेशागत शुद्धताको लागि लाइसेन्स स्वीकार गर्ने चिकित्सक, कानुन व्यवसायी, नर्सहरूको आत्मसम्मान गुमेको छ र ?
म पत्रकारिता पेशाबाट विस्थापित बन्न चाहन्नँ । जीवनको अन्तिम दिनसम्म पनि सत्य, तथ्य र सन्तुलित सामाजिक परिवेश लेख्न चाहन्छुु । म जस्ता धेरै पत्रकार साथी तथ्यमा आफ्नो शुद्धता परीक्षण गर्न चाहन्छन् । जसको लागि कानुनी (लाइसेन्स) बाटो प्रमुख हो । अकबरी सुनलाई कसी लगाउनुपर्दैन ।
हामी अकबरी सुन हुनसकेका छैनौं । पक्षधरताको सामाजिक रोगले गलेका हामीलाई कहीं न कहीं शुद्धीकरण हुनैपर्छ । हामी आफूले बनाएको शुद्धीकरणको कुण्ड आचारसंहिता हो । तर यो दूधको पोखरी बनाउने भन्दा सबैले पानी खन्याए जस्तै भएको छ । त्यसैले आत्मसम्मानको दम्भलाई आवश्यकताको अग्निमा विसर्जन गरौं र कानुनी मान्यता खोजौं ।
आधुनिक परिवेशमा सूचना व्यक्तिको मात्र हैन राष्ट्रकै शक्ति हो । यो शक्तिलाई उपयोग गर्न पत्रकारको शुद्धता अपरिहार्य छ । तथ्य खोज्न कसैलाई बदनाम गर्नुपर्दैन । तथ्य उजागर गरेपछि बदमासहरू आफैं बद्नामित हुन्छन् । र, त्यतिबेला मिडियाका हरेक श्रोता र पाठकले पत्रकारहरूलाई सम्मान गर्नेछन् । अनि, पत्रकारिता गर्दा भोगेका पीडा र झरेका आँशुको मूल्य श्रोता र पाठकको प्रशंसाले पूरा हुनेछ ।
प्रतिक्रिया 4