
१७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस्तो बेला काठमाडौं–१६ मा जित हात पारेको छ, जतिबेला सभापति रवि लामिछानेको गिरफ्तारीलाई लिएर पार्टीका आन्तरिक गतिविधिहरु ठप्प जस्तै छन् ।
सहकारी ठगी आरोपमा पक्राउ सभापति लामिछानेको बचाउमा पार्टीका नेता, कार्यकर्ताहरु लामै समयदेखि अल्मलिइरहेका छन् । विरोधका कार्यक्रमहरु चलिरहँदा देशभर ४४ पदका लागि भएको उपनिर्वाचनमा पार्टीले पर्याप्त ध्यान दिन सकेन ।
कतिसम्म भयो भने, राजधानीको कीर्तिपुरमा आन्तरिक मतभेदका कारण रास्वपाले उम्मेदवारी समेत दिन सकेन । यस्ता अनेकौं प्रतिकुल परिस्थितिका बीच काठमाडौं–१६ मा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि नेता, कार्यकर्ताहरु उत्साही देखिएका छन् ।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, सभापति लामिछानेको गिरफ्तारी र पार्टीप्रति सबैतिरबाट आक्रमण भइरहेका बेला काठमाडौं–१६ को नतिजाले सिंगो पार्टी पंक्तिलाई सान्त्वना मिलेको छ ।
स्थानीय तह निर्वाचनको पहिलो इन्ट्रीमै काठमाडौंको महत्वपूर्ण वडामा भएको जितलाई रास्वपा नेताहरुले अर्थपूर्ण भनेका छन् ।
‘यो २०८४ मा हुने निर्वाचनका लागि पनि सन्देश हो’, रास्वपा सांसद् शिशिर खनाल भन्छन्, ‘रास्वपा पुरानो दलहरुको विकल्पमा स्पष्ट रुपमा आउन सक्ने शक्तिको रुपमा उदाउँदै गएको छ भन्ने बुझेको छु ।’
उपनिर्वाचनमा रास्वपाबाट बागमतीका संयोजक समेत रहेका खनालले जनताले सभापति लामिछानेमाथि लगाइएका आरोपबारे समेत जनताले स्पष्ट बुझेकाले आफूहरुको पक्षमा मत आएको दाबी गरे ।
‘निर्वाचन तयारीका लागि हिँड्दा थुप्रै मतदाताले हाम्रा सभापति रविजीलाई सरकारले अन्याय गरेको बताउनुभयो’, खनालले टिप्पणी गरे, ‘कति दुःख दिन सकेको एउटै मान्छेलाई भन्ने खाल्को कुराहरु पनि आए, यसले पार्टीप्रति मतदाताको माया घटेको छैन भन्ने देखाएको छ ।’
सोमबार सार्वजनिक मतपरिणाम अनुसार, रास्वपा उम्मेदवार श्रेष्ठले २९०२ मत ल्याइन् । एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० र कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत ल्याए ।
२०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका थिए । उनको २१ भदौ २०८० मा निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस भने तेस्रो स्थानमा धकेलियो । यो वडामा कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंह समेत मतदाता थिए ।
काठमाडौं १६ मा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्यले ३३४ मत ल्याए ।
रास्वपाका लागि प्रतिष्ठाको वडा
कीर्तिपुरमा उम्मेदवारी नै नदिए पनि वडा १६ लाई भने रास्वपा नेताहरुले प्रतिष्ठाको विषय बनाएका थिए । किनकि, काठमाडौं–१६ पर्ने निर्वाचन क्षेत्र नं. ७ मा प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सांसद् गणेश पराजुली विजयी भएका थिए ।
पराजुलीले ८७४३ मत ल्याएर एमाले उम्मेदवार शिवकुमार घिमिरेलाई हराएका थिए । यही क्षेत्रबाट माओवादी केन्द्रबाट मानुषी यमी भट्टराई पनि उम्मेदवार बनेकी थिइन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको पृष्ठभूमिले पनि थोरै मेहनत गर्दा जित निकाल्न सक्छौं भन्ने हामीलाई लागेको थियो’, रास्वपाका एक नेता भन्छन्, ‘त्यही अनुसार तयारी पनि गरेका थियौं ।’
रास्वपाको पार्टी कार्यालय समेत काठमाडौं १६ मै पर्छ । ‘पार्टी कार्यालय भएकै वडा जितिएन भने त राजनीतिक रुपमा कमजोर रहेछौं भन्ने सन्देश जानसक्छ भन्ने हिसाबले पनि मेहनत गरेका थियौं’, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा भन्छन्, ‘त्यसअनुसार काठमाडौं १६ को जित हाम्रो लागि अपेक्षित नै थियो ।’
नेताहरुका अनुसार पार्टीका उपसभापति डिपी अर्यालसमेत १६ नम्बरका मतदाता थिए भने सांसद असिम शाह पनि यहीँ बस्दै आएका छन् । सीमा पर्ने क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ र क्षेत्र नं. ६ मा शिशिर खनाल निर्वाचित भएकाले काठमाडौं–१६ मा जित निकाल्न सहज हुने रास्वपा नेताहरुको विश्लेषण थियो ।
उम्मेदवार श्रेष्ठ आफैं रास्वपाको क्षेत्रीय सभापति थिइन् । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महिलातर्फ समानुपातिकतर्फको सूचीमा थिइन् ।
‘यो सबै हिसाबले हामीले जित्न सकिन्छ र जित्नुपर्छ भन्ने लागेको थियो’, रास्वपाका ती नेताले विश्लेषण सुनाए, ‘विराजभक्तजी, सुमनाजी लगायतको व्यक्तिगत र पारिवारिक सम्बन्धका कारण पनि हाम्रा लागि परिस्थिति सहज थियो भन्ने लाग्छ ।’
त्यसो त रास्वपाको जित पछाडिको एउटा मुख्य कारण भनेको उम्मेदवार श्रेष्ठ स्वयंको व्यक्तित्व पनि हो । उनी स्थानीय स्तरमा भिजेकी नेतृ हुन् । रास्वपा स्थापना भएपछि सक्रिय राजनीतिमा आएको भए पनि उनी पहिल्यैदेखि सामाजिक कार्यमा सक्रिय थिइन् । बालाजुमा जन्मे, हुर्केकी श्रेष्ठले स्थानीय तरुण माविमा अध्ययन गरेकी थिइन् ।
पहिले उनका बुबाआमा बालाजु औद्योगिक क्षेत्रमा काम गर्थे । अहिले पनि परिवार व्यवसाय क्षेत्रमा सक्रिय छ । उनले एसएलसी सकेपछि नर्सिङ होममा काम गर्दै बाँकी अध्ययन अघि बढाएकी थिइन् । पछि उनले व्यापार प्रशासनमा स्नातकोत्तर गरिन्, उनले कानून समेत स्नातक अध्ययन गरिन् ।
त्यतिबेला उनले गुठी, महिला समूह लगायतमा रहेर स्वयम् सेवा गरिरहिन् । स्थानीयका अनुसार, उनकी आमाले पनि वडामा सबैभन्दा धेरै रक्तदान गर्नेमध्येमा पर्छिन् । आमाले एक सय पटक भन्दा बढी रक्तदान गरेकी छन् । पछिल्लो समय श्रेष्ठले स्थानीय ज्येष्ठ नागरिकलाई वडाको काममा समेत सहयोग गर्दै आएकी थिइन् ।
‘राजनीतिमा लागेपछि उहाँलाई वडाको कामहरुबारे पनि बढी जानकारी भयो, त्यति उहाँले काठमाडौंमा ७० वर्षभन्दा माथिका बुबाआमाहरुको निःशुल्क स्वास्थ्य बिमा हुने रहेछ भन्ने थाहा पाउनुभयो र घरघर गएर बुबाआमालाई विमाका लागि सहयोग गरिदिनु भयो’, एक स्थानीय रास्वपा नेता भन्छन् ।
यी आधारहरुको बलमा श्रेष्ठ काठमाडौं महानगरपालिकाकी एक्ली महिला वडाध्यक्ष बनेकी छन् । ‘हामीले उम्मेदवार छनौट गर्दा पनि काठमाडौंका ३२ वडामध्ये कुनैमा पनि महिला वडाध्यक्ष नभएकाले उहाँलाई अघि सार्नुपर्छ भनेर उहाँको नाममा सहमति गरेका थियौं’, रास्वपा नेता झा सम्झन्छन् ।
प्रतिक्रिया 4