
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ऊर्जा क्षेत्रको विकासमा भएको पाँच दशक लामो साझेदारीको अवसरमा काठमाडौंमा साताव्यापी फोटो प्रदर्शनी सुरु भएको छ । फोटो पत्रकार क्लब नेपालसँगको सहकार्यमा नेपाल कला परिषद्, बबरमहलमा मंगलबार सुरु प्रदर्शनी २४ मंसिरसम्म चल्नेछ ।
फोटो प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपाल मिसनका निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वेजियन राजदूत डिप्टी हेड अफ मिसन तथा मन्त्री परिषद् सदस्य क्रिस्टिन हाउग स्टोर्होल्टले संयुक्त रुपमा उद्घाटन गरे ।
प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ऊर्जा क्षेत्रमा भएको पाँच दशकको साझेदारीको क्रममा गरिएको कार्यलाई तस्वीरमा महसुस गराउने उद्देश्य राखिएको छ ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रमा एडीबीले पुर्याएको योगदानप्रति धन्यवाद दिए । ‘हालसालै यस क्षेत्रमा धेरै सकारात्मक कार्य भएका छन् । हाम्रो देशको ऊर्जा क्षेत्र सुधार गर्न एसियाली विकास बैंकले गरेको कार्यप्रति हामी आभारी छौं’ उनले भने ।
एडीबी नेपाल मिसन निर्देशक काउचोइसले विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा आत्मनिर्भरता र निर्यात सम्भावना बढाउन नेपाल सरकारसँगको साझेदारीबारे चर्चा गरे ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विशेषगरी ठूला जलविद्युत् परियोजनाहरू र वैकल्पिक नवीकरणीय ऊर्जा पहलमा बैंकले पुर्याएको सहयोगको प्रशंसा गरे । उनले एडीबीसँग अझै बलियो साझेदारी बन्ने विश्वास रहेको बताए ।
अन्य तस्वीर
प्रतिक्रिया 4