News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाली विकास बैंकले सन् २०२५ मा २९ अर्ब ३० करोड अमेरिकी डलर बराबर लगानी प्रतिबद्धता गरेको छ।
- यस प्रतिबद्धता २०२४ को तुलनामा २० प्रतिशत बढी रहेको र ३३ लाख रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
- दक्षिण एसियामा ९ अर्ब ७० करोड डलर र निजी क्षेत्रमा ५ अर्ब ५० करोड डलर सहायता प्रतिबद्धता गरिएको छ।
१० वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा आफ्नो लगानी प्रतिबद्धता २९ अर्ब ३० करोड अमेरिकी डलर बराबर पुर्याएको छ ।
एडीबीले आफ्नो वार्षिक प्रतिवेदन २०२५ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । एडीबीका अनुसार योे प्रतिबद्धता आफ्नो स्रोतबाट हुने लगानी हो ।
एडीबीले सन् २०२५ लाई जटिल र अनिश्चितताले भरिएको वर्ष भनेको छ । यस्तो अवस्थामा पनि एडीबीले व्यापक सहायता प्रतिबद्धता गरेको हो । बैंकका अनुसार यो प्रतिबद्धता २०२४ को तुलनामा २० प्रतिशत बढी हो ।
‘यसबाट ३३ लाखभन्दा धेरै रोजगारी सिर्जना हुने र १८ करोडभन्दा बढी जनसंख्या लाभान्वित हुने अपेक्षा छ,’ एडीबीले भनेको छ ।
एडीबी अध्यक्ष मासातो कान्डाले एसिया प्रशान्त क्षेत्रको माग अनुसार सेवा पुर्याउन एडीबी सक्षम भएको बताएका छन् ।
एडीबीका अनुसार यो रकम सरकार र निजी क्षेत्रमा प्रवाह हुने ऋण, अनुदान, इक्विटी लगानी तथा प्राविधिक सहायता समेत हो । यस वर्ष निजी क्षेत्रका लागिमात्र एडीबीले ५ अर्ब ५० करोड डलर बराबर सहायता प्रतिबद्धता जनाएको छ ।
बैंकका अनुसार मध्यपश्चिम एसियामा ८ अर्ब ३० करोड डलर, पूर्वी एसियामा १ अर्ब ४० करोड डलर र प्रशान्त क्षेत्रमा ६८ करोड डलर बराबर सहायता विनियोजन गरिएको छ । नेपाल समेत रहेको दक्षिण एसियामा भने ९ अर्ब ७० करोड डलर प्रतिबद्धता व्यक्त गरेको छ ।
दक्षिण–पूर्वी एसियामा ९ अर्ब डलर विनियोजन गरिएको एडीबीको भनाइ छ । सन् १९६६ मा स्थापना भएको एडीबीमा ६९ सदस्यको स्वामित्व छ । जसमध्ये एसिया प्रशान्त क्षेत्रका ५० सदस्य छन् ।
प्रतिक्रिया 4