News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाली विकास बैंकले नेपाललाई १० करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण दिने सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबी निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे।
- ऋणको ग्रेस अवधि ८ वर्ष र भुक्तानी अवधि २४ वर्ष रहनेछ, ब्याजदर ग्रेस अवधिमा १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत हुनेछ।
- यस ऋणले सार्वजनिक वित्त व्यवस्थापन सुधार, बजेट निर्माण र खर्च व्यवस्थापनमा सुधार गर्ने र स्थानीय सरकारलाई सबलीकरण गर्ने अपेक्षा गरिएको छ।
२ पुस, काठमाडौं । एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ ।
सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा आज सम्झौता भएको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भयो । यस्तो सहायता नीतिमा आधारित ऋणका रूपमा उपलब्ध गराइएको अर्थले जनाएको छ ।
यो ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यसपछि १.५ प्रतिशत रहने छ ।
ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे ।
कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारको स्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताए ।
एडीबीका नेपाल निर्देशक कुश्वा तथा अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाह सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहने भएको छ ।
यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणाम नतिजामुखी बनाउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
प्रतिक्रिया 4