+
+
Shares

लाङटाङ ट्रेल रन २३ जेठमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा र नुवाकोट जिल्लाको पर्यटन प्रवर्द्धनका लागि दोस्रो लाङटाङ ट्रेल रन आगामी २३ जेठमा आयोजना हुने भएको छ।
  • प्रतियोगिता रसुवाको क्याङ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेसीसम्म ३२ किलोमिटर दूरीमा हुनेछ।
  • पुरुष र महिलातर्फ विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् र सहभागी खेलाडीले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ।

१० वैशाख, काठमाडौं । रसुवा र नुवाकोट जिल्लाको पर्यटन प्रवर्द्धनका लागि आयोजना हुन लागेको ‘लाङटाङ ट्रेल रन’ को दोस्रो संस्करण आगामी २३ जेठमा हुने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो ।

साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यो ट्रेल रन रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित क्याङ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुनेछ । दौड मार्ग स्याङ्गजिन गुम्बा, लाङटाङ गाउँ, घोडातबेला र लामा होटल हुँदै तय गरिएको छ ।

प्रतियोगिता बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको प्रमुख आर्थिक सहयोगमा तथा प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड तथा स्थानीय तहहरूको सहकार्यमा आयोजना हुन लागेको हो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैतर्फका विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै दोस्रोदेखि पाँचौं स्थानसम्म हुनेले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ । क्याङ्जिनबाट सहभागी हुने नेपाली खेलाडीका लागि १५०० तथा काठमाडौंबाट सहभागी हुनेलाई ५ हजार रुपैयाँ तोकिएको छ ।

विदेशी खेलाडीका लागि क्याङ्जिनमा ३५ अमेरिकी डलर तथा काठमाडौंमा १०० अमेरिकी डलर शुल्क तोकिएको छ । सार्क राष्ट्रका खेलाडीका लागि २५०० रुपैयाँ र ७५०० रुपैयाँ शुल्क हुनेछ ।

गत वर्ष भएको पहिलो संस्करणमा पुरुषतर्फ मिलन कुलुङ राई र महिलातर्फ सुनसरी रोकाय च्याम्पियन बनेका थिए ।

आयोजकका अनुसार, प्रतियोगिताले लाङटाङ क्षेत्रलाई पदयात्रा मात्र नभई ट्रेल रन तथा साहसिक खेलकुदको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

साथै यसले स्थानीय पर्यटन, रोजगारी र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

कार्यक्रम तालिका:
जेठ १९: काठमाडौं–स्याफ्रुबेसी यात्रा तथा बम्बुसम्म पदयात्रा
जेठ २०: बम्बुदेखि लाङटाङसम्म पदयात्रा
जेठ २१: लाङटाङदेखि क्याङ्जिन गुम्बासम्म पदयात्रा
जेठ २२: क्याङ्जिनमा तयारी तथा लेक पचाउने
जेठ २३: मुख्य दौड (क्याङ्जिन गुम्बा–स्याफ्रुबेसी, ३२ किमि)
जेठ २४: काठमाडौं फिर्ता यात्रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?