+
+

फुटबल खेल्न ग्रीस जान लागेकी एञ्जिलालाई फिल्म ‘अञ्जिला’ले गर्‍यो बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १९:५३

काठमाडौं । युरोपेली क्लबमा व्यवसायिक फुटबल खेल्न जान लागेकी फिल्म ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बालाई फिल्म युनिटले बिदाइ गरेको छ ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा २०२४/२५ सिजनका लागि अनुबन्धित भएर खेल्न जान लागेकी सुब्बालाई सम्मानसहित बिदाइ गरियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ, महिला फुटबल टिमकी पहिलो कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका व्यक्ति उपस्थित थिए ।

उक्त अवसरमा फिल्मको विश्व प्रिमियर मंसिर २३ (डिसेम्बर ८)मा हङकङमा आयोजना गरिने जानकारी गराइयो । निर्देशक मिलन चाम्स र सुब्बा प्रिमियरमा सहभागी हुनेछन् । हङकङमा एक हप्तामै टिकट सोल्डआउट भइसकेको उल्लेख गर्दै निर्देशक चाम्सले दर्शकको चासो र उत्साहप्रति आभार व्यक्त गरे ।

हङकङ पछि प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीमा जापान, फेब्रुअरी १५ मा बेलायत र मार्च २ मा दक्षिण कोरियामा हुने भएको छ । फागुन २९ गतेदेखि नेपालका हलसहित विश्व बजारमा फिल्म रिलिज हुने जनाइएको छ ।

सांसद नेम्बाङले एञ्जिलाको संघर्ष र सफलता नेपाली खेलकुद र फिल्मको लागि प्रेरणादायी भएको बताए । पूर्व कप्तान सिंहले यो फिल्मलाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन् । पुरुष फुटबल टिमका कप्तान चेम्जोङले यो फिल्मलाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा खुसी रहेको बताइन् । फिल्म ‘अञ्जिला’सुब्बाको जीवन संघर्ष र सफलतामा आधारित छ । यसमा एञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । अन्य कलाकारमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने सह-निर्मातामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?