काठमाडौं । केही सातायता नेपालको फिल्म बजार ‘कीर्तिमान’का शब्दावली वरपर फन्को मारिरहेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ले गत महिना एकपछि अर्को गरी कीर्तिमानका मानक तयार पार्यो ।
हुन त कीर्तिमान भनेकै तोडिनलाई हो । बिहीबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘पुष्पा २’ ले कीर्तिमानलाई पछ्याइरहेको छ । रिलिजको पहिलो दिनमै अल्लु अर्जुन स्टारर फिल्मले नेपाली बक्स अफिसमा तीन कीर्तिमान रच्ने देखिएको छ ।
पहिलो– रिलिजअघि नै सर्वाधिक ५९१ शो पाएर फिल्मले नेपाली बक्स अफिसमा अहिलेसम्म सर्वाधिक शो पाउने फिल्मको रेकर्ड रच्यो । यसअघि झण्डै ५०० शो ‘पूर्णबहादुरको सारङ्गी’को नाममा थियो ।
दोस्रो– नेपाली फिल्म बजारमा सर्वाधिक ओपनिङ गर्ने फिल्मको रुपमा ‘पुष्पा २’ ले रेकर्ड रच्ने निश्चितजस्तै छ । सुकुमार निर्देशित फिल्मले रिलिजअघि नै बिहीबारका लागि ३ देखि साढे ३ तीन करोडसम्मको अग्रिम टिकट बिक्री गरिसकेको थियो । बिहीबार बिहानसम्मको शो संख्या र अकुपेन्सी हेर्दा यो फिल्मले ४ करोडभन्दा धेरैको ओपनिङ गर्ने प्रक्षेपण छ ।
यसअघि सर्वाधिक ओपनिङ गर्ने कीर्तिमान ‘कबड्डी ४’ को नाममा थियो जसले २ करोड ९० लाखको ओपनिङ गरेको थियो । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’को ओपनिङ जम्मा १७ लाख रुपैयाँ थियो ।
तेस्रो– ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा एकैदिनमा सर्वाधिक कमाउने फिल्मको अर्को रेकर्ड रच्न सक्छ । यो भनेको फिल्मले बिहीबार कति कमाउँछ भन्ने हो । यसअघि यो रेकर्ड ‘पूर्णबहादुरको सारङ्गी’को नाममा थियो, जसले प्रदर्शनको दशौं दिनमा एकैदिन ३ करोड ८९ लाख ग्रस कमाएको थियो ।
सुरुका तीन रेकर्ड निश्चित भएपनि तेस्रो रेकर्डका लागि भने आधिकारिक हिसाबको प्रतीक्षा गर्नुपर्ने हुन्छ । ‘पुष्पा २’ कति अघि जान्छ भन्ने कुरा आइतबार र सोमबारदेखि निर्भर हुनेछ । यसले प्रारम्भमा सकारात्मक माउथ पब्लिसिटी प्राप्त गरिरहेको छ ।
प्रतिक्रिया 4