+
+

भैरहवामा उडान स्थगन गर्न लागेका तीन विदेशी वायुसेवासँग छलफल गर्दै प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १४:३१

२४ मंसिर, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीले मौसमको कारण देखाउँदै उडान नगर्ने भनेपछि उड्डयन नियामकले छलफलमा बोलाएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले मौसमको कारण देखाउँदै उडान स्थगन गर्ने पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएका थिए ।

भैरहवामा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवाको पत्राचारपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उनीहरूका नेपालस्थित प्रतिनिधिलाई छलफलमा बोलाएका छन् ।

‘आज बिहान फ्लाई दुबईका प्रतिनिधिसँग छलफल गरेँ, उनीहरूले मौसमका कारण भन्दा पनि पर्याप्त यात्रु नभएको बताए,’ प्राधिकरणका महानिर्देशक अधिकारीले अनलाइनखबरसँग भने, ‘फ्लाई दुबईले आगामी जनवरी १३–१४ देखि भैरहवाका लागि टिकट बुकिङ सिस्टममा राखिसकेको छ ।’

उडान स्थगनबारे थप छलफल गर्न कुवेतको जजिरा एयरवेजका नेपालस्थित प्रतिनिधिलाई दिउँसो ४ बजे बोलाएको अधिकारीले जानकारी दिए ।

जाडो मौसम सुरु भएपछि भैरहवा विमानस्थलको भिजिबिलिटी कम हुन थालेको छ । बाक्लो हुस्सुका कारण पछिल्लो समय विमानस्थलको भिजिबिलिटी १ हजार २ सय मिटरसम्म हुने गरेको छ । ठूला जहाज उडान–अवतरणका लागि यो पर्याप्त भिजिबिलिटी होइन । ठूला जहाजका लागि कम्तीमा १ हजार ८ सय मिटर भिजिबिलिटी चाहिन्छ ।

भैरहवा विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड’ (आरएनपीएआर) प्रणाली जडान नभएका कारण न्यून भिजिबिलिटीमा उडान–अवतरण गर्न नसकिएको हो ।

आरएनपीएआर प्रणली जडान भएपछि न्यूनतम ८ सय मिटर भिजिबिलिटी हुँदा पनि ठूला जहाज सजिलै उडान–अवतरण गर्न सक्छन् ।

‘डिसेम्बर १२ मा भैरहवा विमानस्थलमा आरएनपीएआर प्रणाली ग्लोबल्ली प्रकाशित हुन्छ,’ महानिर्देशक अधिकारीले भने, ‘त्यसको ४२ दिनपछि आरएनपीएआर प्रणालीमार्फत उडान–अवतरण गर्न मिल्छ ।’

हाल भैरहवा विमानस्थलमा फ्लाई दुबई र जजिराले दैनिक एक तथा थाई एयर एसियाले सातामा एक उडान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?