२६ मंसिर, काठमाडौं । त्रिविका स्ववियु सभापति श्यामराज ओझाले डिन र क्याम्पस प्रमुख नियुक्ति मेरिटको आधारमा हुनुपर्ने बताएका छन् ।
एमाले निकटका विद्यार्थीले आफू निकटका प्राध्यापकलाई पनि डिन बनाउन दबाब दिएको गुनासो आएपछि सभापति ओझाले मेरिटको आधारमा नै नियुक्ति हुनुपर्ने बताएका हुन् ।
‘मेरिट मिच्न दबाब दिनेका विरुद्ध संघर्ष गार्छौं,’ उनले भने । मेरिटका आधारमा प्राप्ताङ्क सार्वजनिक गरी पदाधिकारी नियुक्ति गर्न उनले माग गरेका छन् । विश्वविद्यालयमा स्वार्थ समूह हाबी भएको उनले बताए ।
एमाले निकटका स्ववियु सचिव सिद्धान्त भट्ट भने भीसी कार्यकक्ष अगाडि धर्नामा बसेका छन् ।
यसैगरी नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले पनि मेरिटकै आधारमा विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्ति हुनुपर्ने माग गरेका छन् ।
‘विगतका विश्वविद्यालय सभामा पनि मेरिटोक्रेसीको बारेमा पटक-पटक कुरा उठ्दा राजनीतिक दलले आफ्नो स्वार्थ नमिल्दा यसलाई विवादमा ल्याउने गरेका थिए । तर विश्वविद्यालयको मेरिटोक्रेसीमा नियुक्त गरिने एउटा विधि बनाउन निवर्तमान उपकुलपतिले चालेको कदमलाई विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ताले पूर्वाग्राही ढंगले विरोध गर्नु लज्जास्पद विषय हो,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मेरिटोक्रेसीको विरोध गरेर आफ्नै दलका कार्यकर्तीहरूलाई नियुक्ति गराउन खोजिएको उनले बताए ।
प्रतिक्रिया 4