+
+

मोफसलमा फैलिँदै ठूला होटल, कोशी र मधेशमा प्रतिस्पर्धा, कर्णालीमा छैन

पछिल्लो समय लुम्बिनी, मधेश र कोशी प्रदेशमा ठूला लगानीका होटल विस्तार भएको छ । कर्णालीमा भने अझै लगानी आकर्षित हुन सकेको छैन भने सुदूरपश्चिममा तुलनात्मक रूपमा लगानी आइसकेको देखिँदैन ।

अच्युत पुरी अच्युत पुरी
२०८१ मंसिर २७ गते १९:२३
बाराको सिमरामा रहेको होटल इच्छा ।

२७ मंसिर, काठमाडौं । मुलुकका प्रमुख तीन पर्यटन गन्तव्य काठमाडौं, पोखरा र चितवनमा केन्द्रित पर्यटन तथा आतिथ्य सत्कार उद्योग अब बिस्तारै अन्य सहर र प्रदेश तिर फैलिन थालेको छ ।

पर्यटन विभागका अनुसार पछिल्लो समय लुम्बिनी, मधेश र कोशी प्रदेशमा ठूला लगानीका होटल विस्तार भएको छ । तुलनात्मक हिसाबले हेर्दा कर्णालीमा भने अझै लगानी आकर्षित हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा पनि तुलनात्मक रूपमा आतिथ्य सत्कार उद्योगमा लगानी आइसकेको देखिँदैन । पर्यटन विभागका अनुसार अहिले सञ्चालनमा रहेका र नवीकरण गरेका १९ पाँचतारे होटलमध्ये बागमती प्रदेश एक्लैमा १२ वटा छ ।

पाँचतारे होटल धेरै रहेको दोस्रो प्रदेश लुम्बिनी हो । लुम्बिनीमा ३ वटा पाँचतारे होटल छ । मुलुकको पर्यटन राजधानी सहर रहेको गण्डकी प्रदेशमा भने दुइटा मात्र पाँचतारे होटल छ । कोशी र मधेश प्रदेशमा १/१ वटा पाँचतारे होटल सञ्चालनमा छन् ।

तर, कर्णाली र सुदूरपश्चिममा भने पाँचतारे होटल सेवा विस्तार भइसकेको छैन । पर्याप्त पर्यटकीय गन्तव्य रहे पनि पर्यटक जाने वातावरण नबन्दा ती भेगमा होटल उद्योगमा लगानी आकर्षित हुन नसकेको व्यवसायी बताउँछन् ।

होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह भौतिक पूर्वाधार विस्तार र आर्थिक गतिविधि पूर्वी भेगमा विस्तार हुँदा त्यसले आतिथ्य सत्कार उद्योगमा समेत लगानी बढेको बताउँछन् ।

अर्कातर्फ, छिमेकी भारतबाट समेत पूर्वी भेगमा पर्यटक आउने, विवाह तथा अन्य ठूला कार्यक्रममा गर्न आकर्षित हुँदा होटलहरूले राम्रो व्यापार पाइरहेको शाहले बताए ।

तराई भेगका धेरैजसो सहरमा क्यासिनो सञ्चालन गर्न पाउने र त्यसमा भारतीय पर्यटक आउँदा होटलका व्यापार उल्लेख्य दरमा बढिरहेको उनको भनाइ छ ।

त्यस्तै पश्चिम भेगमा पनि लगानीकर्ता जान चाहेको भन्दै त्यसका लागि सबै तहका सरकारले वातावरण बनाउनुपर्ने बताए । ‘सबै प्रदेशमा समान नीति लिँदा लगानी उस्तै प्रकारले विस्तार हुँदैन,’ उनले भने, ‘पश्चिम अझ बढी पर्यटकीय सम्भावना भएको भेग भएकाले अब सरकारी स्तरबाटै पहल आवश्यक छ ।’

लुम्बिनीमा रहेको होटल टाइगर प्यालेस ।

देशभरि रहेका होटलमा अहिले ११ हजार ४५ वटा कोठा र १७ हजार ३ सय ४७ शय्या रहेको देखिन्छ । जसमध्ये पाँचतारे होटलमा २ हजार ८ सय ६५ कोठा र ४ हजार २ सय ६० शय्या छन् ।

देशभरि १८८ तारे र हेरिटेज होटल, बागमतीमा ११७

पर्यटन विभागको तथ्यांक अनुसार अहिले देशभरि तारे र हेरिटेज स्तरका होटल संख्या १ सय ८८ छ । तीमध्ये बागमती प्रदेशमा मात्र १ सय १७ होटल छ । बागमतीमा ३३ वटा एकतारे होटल सञ्चालनमा छन् । दुईतारे ३१ वटा छन् ।

त्यस्तै तीनतारे होटल संख्या २७ छ । चारतारे ८ वटा छन् । १२ वटा पाँचतारे होटल बागमती एक्लैसँग छ । यस्तै डिलक्स हेरिटज होटल ३ पनि यहीँ छन् । लक्जरी हेरिटेज बुटिक होटल भने २ वटा छ ।

नर्मल हेरिटेज एकसहित बागमतीमा १ सय १७ स्तरीय होटल सञ्चालनमा रहेको पर्यटन विभागले जनाएको छ । यी होटलमा ७ हजार १ सय ८४ कोठा र ११ हजार ५ सय ८५ शय्या छ ।

गौतमबुद्ध विमानस्थल प्रभाव : लुम्बिनीमा खुल्दैछन् ठूला होटल

लुम्बिनी प्रदेश बागमतीपछि धेरै ठूला होटल रहेको प्रदेश हो । यस प्रदेशमा ३ पाँचतारे सहित २५ वटा स्तरीय होटल सञ्चालनमा छ । यो प्रदेशमा एकतारे होटल ३, दुईतारे ४, तीनतारे ३ र चारतारे होटल १२ वटा छ । यी होटलमा १ हजार ४ सय ८० कोठा र २ हजार २ सय ४९ शय्या रहेको विभागले जनाएको छ ।

पर्यटन राजधानी रहेको गण्डकीमा सुस्त विस्तार

नेपालको पर्यटन राजधानीका रूपमा पोखरालाई घोषणा गरिएको धेरै भएको छैन । पोखरा रहेको गण्डकी प्रदेशमा पछिल्लो समय आतिथ्य सत्कार उद्योगमा लगानी सुस्त देखिन्छ । यहाँ ठूला र स्तरीय होटलका तुलनामा पर्यटकीय स्तरका साना होटलमा बढी लगानी देखिन्छ ।

गण्डकी प्रदेशभरि जम्मा दुइटा पाँचतारे होटल छन् । एकतारे होटल ३, दुईतारे ८, तीनतारे २ र चारतारे होटल ७ वटा मात्र यस प्रदेशमा रहेको तथ्यांकमा देखिन्छ । यस प्रदेशमा रहेका कुल तारे होटलमा १ हजार २ सय ८४ कोठा र २ हजार ६३ शय्या छ ।

झापामा रहेको होटल मेची क्राउन ।

प्रतिस्पर्धामा कोशी र मधेश

आतिथ्य सत्कार उद्योगमा लगानीका दृष्टिकोणबाट कोशी र मधेश प्रदेशबीच प्रतिस्पर्धा देखिन्छ । तथ्यांक अनुसार कोशीमा तारे स्तरका ९ होटल सञ्चालनमा छन् । जसमा एउटा पाँचतारे र एक पाँचतारे डिलक्स छन् । कोशीमा एकतारे २, दुईतारे १, तीनतारे २ र चारतारे होटल २ वटा सञ्चालनमा छन् ।

यस्तै मधेश प्रदेशमा भने कुल ११ तारे स्तरका होटल सञ्चालनमा छन् । जसमा १ पाँचतारे सहित एकतारे २, दुईतारे ४, तीनतारे २ र चारतारे २ होटल रहेको तथ्यांकमा देखिन्छ ।

कर्णालीमा छैनन् तारे होटल, सुदूरपश्चिममा पनि छैन ठूलो लगानी

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने होटलमा उल्लेख्य लगानी आएको देखिँदैन । कर्णालीमा अहिलेसम्म तारे होटल सञ्चालनमा छैनन् । सुदूरपश्चिममा भने एकतारे ३ वटा र एउटा चार तारेसहित ४ वटा तारेस्तरका होटल सञ्चालनमा छन् । यी होटलमा १ सय ४९ कोठा र १ सय ८८ शय्या छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?