+
+

होटलहरूको आम्दानी बढ्दा पनि नाफा खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ८:५६

३ मंसिर, काठमाडौं । सेयर बजारमा आइतबार सबैभन्दा धेरै बढेको सेक्टर हो – होटल तथा पर्यटन । यो सेक्टर विगत तीन साताको अवधिमा ११.५ प्रतिशत बढेको छ । कात्तिक ८ गते ६,३३८ अंकमा रहेको होटल तथा पर्यटन सेक्टर अहिले ७,०७२ मा छ ।

तर यो सेक्टरका धेरै कम्पनीको वित्तीय स्थिति खस्किएको छ । बजारमा कुल ६ वटा कम्पनी यस सेक्टरमा सूचीकृत छन् । तीमध्ये सिटी होटल पहिलेदेखि नै नोक्सानीमा छ । पहिले नाफामा रहेको कालिन्चोक दर्शन यसपटक नोक्सानीमा गएको छ ।

ओरियन्टल होटलको नाफा ९७ प्रतिशत घटेको छ । बाँकी तीन कम्पनी सोल्टी होटल, तारागाउँ रिजेन्सी र चन्द्रागिरि हिल्सको नाफा सामान्य बढेको छ । ६ कम्पनीहरुको औसत आम्दानी बढेको छ । यी कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २५ करोड रुपैयाँ औसत आम्दानी गरेका थिए ।

यो आर्थिक वर्षको पहिलो त्रैमासमा भने १ अर्ब ३१ करोड आम्दानी गरेका छन् । औसत आम्दानी बढे पनि कम्पनीहरुको औसत नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ कम्पनीहरुको औसत खुद नाफा १४ करोड ६८ लाख रुपैयाँ रहेकोमा अहिले १२ करोड ७७ लाख रुपैयाँ छ ।

ओरियन्टल होटल
यस कम्पनीको नाफामा सबैभन्दा ठूलो ९७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा जम्मा ३ लाख २० हजार कमाएको छ ।

कम्पनीको नाफामा यति ठूलो गिरावट आउनुको प्रमुख कारण आम्दानी घट्नु तर कर्मचारीको सेवासुविधावापतको खर्च बढ्नु देखिन्छ । यस्तो खर्च पहिले ७ करोड ६९ लाख रुपैयाँ रहेकोमा अहिले ८ करोड २१ लाख रुपैयाँ छ ।

आम्दानी पहिले २१ करोड १४ लाख रहेकोमा अहिले २१ करोड ७ लाख छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ पैसा छ । प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ९७८ रुपैयाँ  छ ।

सोल्टी होटल
सोल्टी होटलको नाफा १८ प्रतिशत बढेको छ । कम्पनीले पहिलो त्रैमासिक अवधिमा १२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा यसको नाफा १० करोड २३ लाख रुपैयाँ थियो । कुल आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । यस्तो आम्दानी पहिले ३९ करोड ९६ लाख रुपैयाँ रहेकोमा अहिले ५१ करोड ४३ लाख रुपैयाँ छ ।

यस कम्पनीको सेयरको अंकित मूल्य १० रुपैयाँ हो । प्रतिसेयर आम्दानी १ रुपैयाँ ३० पैसा छ भने प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७२ पैसा छ । यसको सेयर मूल्य अहिले ५५९ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपातका आधारमा कम्पनीको सेयर मूल्य ‘ओभरभ्यालुड’ छ । मूल्य आम्दानी अनुपात ४३० गुणा बढी हो । आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ छ ।

तारागाउँ रिजेन्सी
तारागाउँ रिजेन्सी होटलको नाफा ३.५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक अवधिमा खुद नाफा ४ करोड ५६ लाख रुपैयाँ छ । पहिले यस्तो नाफा ४ करोड ४० लाख थियो । कम्पनीको आम्दानी वृद्धिले नाफा बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानी २३ करोड २२ लाख रुपैयाँ रहेकोमा अहिले २७ करोड ५२ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ १९ पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ११८४ रुपैयाँ छ । होटल सेक्टरमा यो कम्पनीको मूल्य सबैभन्दा धेरै हो ।

सिटी होटल
सिटी होटलको नोक्सानी घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ५ करोड ६२ लाख नोक्सानी ब्यहोरेको छ । पहिले यस्तो नोक्सानी ६ करोड ३ लाख रुपैयाँ थियो । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ४९ पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ९४७ रुपैयाँ छ ।

चन्द्रागिरि हिल्स
चन्द्रागिरि हिल्सको नाफा १९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २ करोड ५५ लाख रुपैयाँ छ ।

गत आवको पहिलो त्रैमासमा यस्तो नाफा २ करोड १३ लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन आम्दानी घटेको छ । तर वित्तीय लागत घट्दा नाफा बढेको देखिन्छ । सञ्चालन आम्दानी पहिले २० करोड ६१ लाख रुपैयाँ रहेकोमा अहिले १९ करोड ५८ लाख रुपैयाँ छ ।

त्यस्तै वित्तीय लागत पहिले ६ करोड ३३ लाख रुपैयाँ रहेकोमा अहिले ४ करोड ४९ लाख रुपैयाँ छ । तीन महिनाको कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ९० पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १०११ रुपैयाँ छ ।

कालिन्चोक दर्शन
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको यसै अवधिमा कम्पनी २ करोड ६६ लाख रुपैयाँ नाफामा थियो ।

कम्पनीको आम्दानी घट्दा नाफामा असर परेको छ । आम्दानी पहिले ८ करोड ५४ लाख रुपैयाँ रहेकोमा अहिले ४४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दनी १ रुपैयाँ ४३ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा छ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११५० रुपैयाँ छ ।

कम्पनी आम्दानी ८० असोज आम्दानी ०८१ असोज नाफा ०८० असोज नाफा ०८१ असोज
तारागाउँ रिजेन्सी २३ करोड २२ लाख ६२ हजार २७ करोड ५२ लाख ४६ हजार ४ करोड ४० लाख ८७ हजार ४ करोड ५६ लाख ३९ हजार
सोल्टी होटल ३९ करोड ९६ लाख ९९ हजार ५१ करोड ४३ लाख ८३ हजार १० करोड २३ लाख ४२ हजार १२ करोड ११ लाख १३ हजार
ओरियटल होटल २१ करोड १४ लाख ७४ हजार २१ करोड ७ लाख ११ हजार १ करोड २७ लाख ३ हजार  ३ लाख २० हजार
सिटी होटल ११ करोड ५९ लाख ५९ हजार ११ करोड २ लाख २३ हजार – ६ करोड ३ लाख ३९ हजार -५ करोड ६२ लाख ७७ हजार
चन्द्रागिरि हिल्स २० करोड ६१ लाख ५९ हजार १९ करोड ५८ लाख ७५ हजार २ करोड १३ लाख ७३ हजार २ करोड ५५ लाख २९ हजार
कालिन्चोक दर्शन ८ करोड ५४ लाख ४९ हजार ४४ लाख ६५ हजार २ करोड ६६ लाख ६६ हजार – ८५ लाख ७० हजार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?