News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका होटल, रेस्टुरेन्ट तथा खाजा पसलमाथि अनुगमन गरी ८७ व्यावसायिक फर्मलाई कारबाही गरेको छ।
- अनुगमनमा होटल ब्लिसफुललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको र ७० भन्दा बढी फर्मलाई सुधार निर्देशन दिइएको विभागले जनाएको छ।
- विभागले उपभोक्तालाई अनिवार्य मूल्यसूची हेर्न र बिल माग्न सुझाव दिँदै अस्वच्छ खाना पाए तुरुन्त खबर गर्न आग्रह गरेको छ।
२७ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाजा पसलमाथि निगरानी बढाउँदै कारबाही गरेको छ ।
उपभोक्ता स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने तथा सरकारी मापदण्ड पूरा नगर्ने ८७ व्यावसायिक फर्म विभागको कारबाहीमा परेका हुन् ।
विभागले ४ देखि २२ पुससम्म कोटेश्वर, कलंकी, गोंगबु, चाबहिल र बालाजुजस्ता अत्यधिक भिडभाड हुने व्यापारिक केन्द्रमा अनुगमन गरेको थियो । अनुगमन क्रममा अधिकांश व्यवसायले न्यूनतम कानुनी प्रक्रिया समेत पूरा नगरेको पाइएको छ ।
विभागका निरीक्षण अधिकृत अमितकुमार झाका अनुसार होटल तथा रेस्टुरेन्टले उपभोक्तालाई मेनु (मूल्यसूची) नदेखाइ जथाभावी शुल्क लिने गरेको र कतिपय व्यवसाय दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ ।
‘हामीले मुख्य पाँच कुरामा केन्द्रित भएर अनुगमन गरेका छौं,’ अधिकृत झाले भने, ‘व्यवसाय दर्ता, मेनु वा मूल्य सूची, सामान खरिदको बिल र बिक्री गर्दा प्यान वा भ्याट बिल काट्ने गरिएको छ कि छैन भन्ने कुरालाई हामीले सुक्ष्म ढंगले हेरेका छौं ।’
धेरै ठाउँमा मूल्यसूची नराख्ने र दर्ता नगरी व्यवसाय चलाउने भेटिएको भन्दै त्यस्ता व्यवसायीलाई तत्कालै जरिबाना गरिएको विभागले जनाएको छ । सरसफाइमा कमजोरी देखिएकालाई भने तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
होटल ब्लिसफुललाई ५० हजार जरिबाना, अन्यमाथि कडाइ
विभागले यो कारबाही ‘उपभोक्ता संरक्षण ऐन २०७५’ को दफा ३८ र ३९ ले दिएको अधिकार प्रयोग गर्दै स्थलगत रूपमै गरेको हो । दर्ताविना व्यवसाय सञ्चालन गर्ने, मूल्यसूची नराख्ने, बिलिङ प्रणाली चुस्त नभएका र अस्वच्छ वातावरणमा खाद्य सामग्री तयार पार्नेलाई आर्थिक दण्ड गरिएको छ ।
विभागले सार्वजनिक गरेको २२ दिने प्रतिवेदन अनुसार काठमाडौंका प्रतिष्ठित भनिएका होटलले समेत लापरबाही गरेको देखिएको छ । काठमाडौं महानगर–३२ कोटेश्वरमा रहेको होटल ब्लिसफुल प्रालिलाई सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिबाना गरिएको छ ।
यसैगरी ललितपुरको इन्द्रेणी फुड वर्ल्ड एन्ड ब्यांक्वेट प्रालिलाई २० हजार, काठमाडौं–१४ को थकाली भान्छा घरलाई १५ हजार रुपैयाँ जरिबाना तोकिएको छ ।
त्यस्तै गोंगबुको मटका बिरयानी, कालीमाटीको पाकशाला प्रालि, गैरीगाउँको लेकाली किचन एन्ड कटिया हाउस, सिनामंगलको ॐ आमाको भान्साघर र ललितपुरको जुली केक एन्ड पेस्ट्रीलाई जनही १० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ ।
त्यस्तै गोंगबुका फ्रेस टप क्वालिटी म:म एन्ड फास्ट फुड सेन्टर र आई क्याफे रेस्टुरेन्ट, कोटेश्वरका चण्डेश्वरी नेवारी खाजा घर र गोल्मादेवी भोजनालय तथा जडीबुटीको जिरी खिम्ती होटललाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । अन्य ७० भन्दा बढी फर्मलाई भने तत्काल सुधारका लागि निर्देशन दिइएको छ ।
होटल केसर प्रालि र होटल कोजी इन लगायत केही व्यवसायलाई कागजात सहित ३ देखि ७ दिनभित्र विभागमा उपस्थित हुन ‘डेडलाइन’ दिइएको छ ।
सरसफाइ र खाद्य स्वच्छतामा प्रश्न
अनुगमन टोलीले होटलहरूको भान्सा र फोहोर व्यवस्थापनमा गम्भीर त्रुटि फेला पारेको छ । प्रयोग भइसकेका डिस्पोजेबल ग्लासको उचित व्यवस्थापन नभएको र हात धुने ठाउँ अभाव देखिएकाले विभागले व्यवसायीलाई सचेत गराएको छ ।
निरीक्षण अधिकृत झाले उपभोक्ताले के खाँदैछ र त्यसको मूल्य कति हो भन्ने स्पष्ट हुनुपर्ने भन्दै दर्ताविना व्यवसाय चलाउन नपाइने बताए ।
विभागले अहिले सामान्य निर्देशन दिइएका व्यवसायको २–३ महिनापछि पुन: ‘फलोअप’ गर्ने र गल्ती दोहोरिए अझ कडा कारबाही गर्ने जनाएको छ ।
विभागले उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै होटल तथा रेस्टुरेन्टमा अनिवार्य मूल्यसूची हेर्न र बिल माग्न सुझाव दिएको छ । कतै ठगी वा अस्वच्छ खाना पाइए तुरुन्त विभागमा खबर गर्नसमेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4