News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन गर्ने ४ उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
- सरकारले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि बजारमा यसको प्रयोग रोकिएको छैन।
- विभागले काठमाडौं, ललितपुर र काभ्रेका ९ वटा फर्म तथा पसलहरूलाई ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाहरू बिक्री नगर्न निर्देशन दिएको छ।
२३ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ ।
बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि बजारमा यसको प्रयोग नरोकिएपछि विभागले उद्योगमै पुगेर अनुगमन थालेको छ ।
विभागले गरेको निरीक्षणका क्रममा ती उद्योगहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) र दफा ३८ (ङ) बमोजिमको कसुर गरेको ठहर भएको थियो ।कारबाहीमा पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ स्थित औद्योगिक क्षेत्रमा रहेका प्रज्ञा प्लास्टिक उद्योग र श्री विन्दवासिनी प्लास्टिक उद्योग रहेका छन् । यी दुवै उद्योगलाई विभागले जनही २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
त्यसैगरी, ललितपुर महानगरपालिका–२ स्थित औद्योगिक क्षेत्रमा सञ्चालित राधाकृष्ण प्लास्टिक उद्योगलाई पनि मापदण्ड विपरित कार्य गरेको कसुरमा २ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ । काठमाडौंको इन्द्रचोकमा सञ्चालित संघाई प्लास्टिक इण्डष्ट्रिज प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ ।
विभागले उद्योगसँगै थोक तथा खुद्रा बिक्रेताहरूमाथि पनि निगरानी बढाएको छ । बुधबारको अनुगमनमा काठमाडौं, ललितपुर र काभ्रेका ९ वटा विभिन्न फर्म तथा पसलहरूलाई ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाहरू बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।
निर्देशन पाउनेहरूमा सेतोपुलस्थित मेरो नेपाल इन्टरप्राइजेज, आरआर स्टोर, कालोपुलको एसके इन्टरप्राइजेज, कमलामाई स्टोर, सुमित प्लास्टिक पसल लगायत छन् ।
साथै, ललितपुरका पूर्ण ट्रेडिङ इन्टरनेसनल, बस्नेत प्लास्टिक स्टोर र काभ्रेका चण्डीका प्रिन्ट प्याक तथा लड्केश्वर प्लास्टिक प्रोडक्सनलाई पनि मापदण्ड विपरितका प्लास्टिक नबेच्न सचेत गराइएको छ ।
यस्तै धुलिखेल नगरपालिका–५ स्थित राधाकृष्ण बिस्कुट इण्डष्ट्रिजलाई पनि विभागले आवश्यक सामान्य निर्देशन दिएको छ ।
प्रतिक्रिया 4