काठमाडौं । गायिका स्मिता दाहाललाई बलिउड सेलिब्रेटीबाट शुभकामना सन्देश आइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड अभिनेता सञ्जय दत्तले शुभकामना दिइसकेका छन् ।सञ्जयले त नेपालमै आएर आशीर्वाद दिने भनेका छन् ।
यस्तोमा अर्का बलिउड अभिनेता विवेक ओबरायले पनि भिडियो सन्देश पठाउँदै स्मिता र सायुज्यलाई शुभकामना दिएका छन् । ओबरायले नवविवाहित जोडीलाई कसरी वैवाहिक जीवनलाई खुसी राख्न सकिन्छ भन्नेबारेमा मन्त्र नै दिएका छन् । उनले दाम्पत्य जीवनको अनुभव पनि सुनाएका छन् ।
दाम्पत्य जीवनलाई सुखी र खुसी राख्न श्रीमानले श्रीमतीका सबै सल्लाह मान्नुपर्ने उनको मन्त्र छ । ‘विवाह त्यतिबेला महान् हुन्छ, जतिबेला श्रीमती सधैं सही हुन्छिन् । मेरो विवाहमा मेरो बुवाले यस्तै भन्नुभएको थियो’ विवेकले भनेका छन्, ‘विवाहमा पनि श्रीमती राइट (दायाँ) बस्छिन्, किनभने उनी सही हुन्छिन् ।’
दाम्पत्य जीवनलाई खुसी राख्न आफूले १४ वर्षदेखि यो मन्त्रलाई पछ्याएको उनले बताए । उनले स्मिताका हरेक सल्लाहलाई शिरोपर गर्न पनि सायुज्यलाई सल्लाह दिएका छन् । गायिका स्मिता र उनका प्रेमी सायुज्यले मंसिर २१ गते काठमाडौंको नर्लिङ रिसोर्टमा लगनगाँठो कसेका थिए ।
ओबरायले सन्देशमा के भनेका छन् ?
स्मिता र सायुज्यलाई जीवनभरका लागि खुसी र अन्त्यहीन प्रेमका लागि शुभकामना । विवाह यतिबेला महान् हुन्छ, जहाँ श्रीमती सधैं सही हुन्छिन् । मेरो विवाहमा मेरो बुवाले यस्तै भन्नुभएको थियो । श्रीमती सधैं राइट (दायाँ) बस्छिन् किनभने श्रीमती सधैं सही हुन्छिन् । म निश्चित छु कि सायुज्य, स्मिताले भन्ने सबै कुरालाई तिमीले यस्तै गर्नेछौ । विश्वास गर्नुस्, यो वैवाहिक जीवनलाई खुसी राख्ने मन्त्र हो जसलाई मैले १४ वर्षदेखि पछ्याइरहेको छु । म पनि प्रतिबद्धता जनाउँछु कि मैले सधैं यसलाई निरन्तरता दिन्छु । विशेषगरी पुष्पकमल दाहालजी र गंगा दाहालजीसहित सम्पूर्ण परिवारलाई हृदयदेखि बधाई छ । खुसीले भरिएको वैवाहिक जीवनका लागि शुभकामना स्मिता र सायुज्यलाई ।’
प्रतिक्रिया 4