+
+

फिल्म निर्माण बढ्यो, ४ महिनामा ६७ ले लिए निर्माण इजाजत

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १३:३३
तस्वीर : ‘लाज शरणम्’को छायांकन सेटबाट

काठमाडौं । यस वर्ष फिल्मको निर्माणको क्रम वृद्धि हुने देखिएको छ । पछिल्लो भदौदेखि मंसिरसम्म मात्र चलचित्र विकास बोर्डबाट ६० कथानक फिल्मले निर्माण इजाजत लिएका छन् ।

सोही अवधिमा सात डकुमेन्ट्रीले पनि निर्माण अनुमति लिए । १२ विदेशी फिल्मले नेपालमा छायांकनका लागि आफूसँग ल्याउने यन्त्र उपकरणको सिफारिस सोही अवधिमा लिए ।

अनलाइनखबरलाई प्राप्त निर्माण इजाजत सूची हेर्दा अधिकांश निर्माता नयाँ छन् । निर्माण इजाजत लिंदैमा फिल्म निर्माणको ग्यारेन्टी त हुँदैन तर यसले निर्माणको ट्रेन्ड र योजनालाई भने चित्रण गर्छ ।

६० वटा फिल्मको सूचीमा केही प्रतीक्षित फिल्म पनि छन्, जसलाई लिएर उत्साहित हुन सकिन्छ । ‘नाका’, ‘हल्कारा’, ‘होल टाइमर्स’जस्ता चर्चित फिल्म निर्माण गरेको मिडिया पोर्टले ‘एभ्रिथिङ्नेस’ र ‘द याक हर्डर’ फिल्मका लागि निर्माण इजाजत लिएको छ ।

निश्चल बस्नेतले यही अवधिमा आगामी एक्सन फिल्म ‘ड्यानी डेन्जरस’को निर्माण इजाजत लिएका छन् । अनुपविक्रम शाहीले निर्माण गर्न लागेको फिल्म ‘अज्ञात’, टंक बुढाथोकीको ‘मन विनाको धन ठूलो कि धन विनाको मन’, सम्पदा मल्लको ‘बुवा’, सौरभ चौधरीले ‘कर्मा’, प्रियंका कार्कीले ‘सिक्का’ र ‘ख्या’को लागि निर्माण अनुमति लिएका छन् ।

मधुसुदन शर्माले ‘माग्ने राजा’, अविनाशविक्रम शाहले ‘एलिफेन्ट्स इन द फग’, दीपेन्द्र के खनालले ‘श्रीमान श्रीमती’, अनिल योञ्जनले ‘कुस्ती’, सुशीलकुमार पोखरेलले ‘परालको आगो’, सलोन बस्नेतले ‘रंगी’, केदार भुसालले ‘बडादशैं’, सरोज थापा (रोज राणा)ले ‘खलनायक : द रिभेन्ज’को इजाजत लिएका छन् ।

अनन्तराज घिमिरेले ‘मिसन ८४’, प्रसन्न पौडेलले ‘हर्ष’, सजाद अली शाहले ‘प्रेम गीता’ लगायत फिल्मको निर्माण इजाजत लिएका छन् ।

सोही अवधिमा ६ डकुमेन्ट्रीले पनि निर्माण इजाजत लिएका छन् । आइसफल प्रोडक्सनको ‘नेपाल : द टुरिजम डेस्टिनेसन’, क्लिक म्यान प्रोडक्सनले ‘थामे’, कुलुङ चलचित्र संघले ‘दख्खु’, लोकेसन नेपाल प्रालिले ‘छेसाङ’, ‘यात्रा’ र ‘दुविधा’, ह्वाइट मिडियाले ‘मौनता’ डकुमेन्ट्रीको इजाजत लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?