 
																			३ पुस, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले जनतासँग जोडिने अरू मोर्चाहरूमा पनि सक्रिय रहने नीति लिएको छ । संसदमा सत्तारुढको भूमिका निर्वाह गरिरहेको एमालेले जनप्रदर्शन, संगठन निर्माण र सामाजिक सञ्जाल उपयोगलाई एकसाथ अगाडि बढाउन खोजिरहेको देखिन्छ ।
गत ३० मंसिरमा सम्पन्न केन्द्रीय संगठन विभागको कार्यशालाले गरेको निर्णयबाट पनि एमाले सबै मोर्चामा सक्रिय हुन खोजेको प्रस्ट हुन्छ । प्रदेश, जिल्ला र जनसंगठनका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखहरू सम्मिलित कार्यशालाबाट एमालेले ६ बुँदे संकल्प गरेको छ ।
उक्त ६ बुँदे संकल्पमा जनतासँग जोडिने कार्यक्रम प्राथमिकतामा छ । आगामी ३ चैतसम्म ‘वडा केन्द्रित अभियान’ सञ्चालन गर्ने, ‘जनतासँग जनसंगठन अभियान’ चलाउने र चैतभित्रै पार्टी सदस्यहरूको सदस्यता नवीकरण सक्ने संकल्प गरिएको छ ।
यी संकल्प पूरा गर्दा एमालेको आधारभूत तहका कार्यकर्ता चलायमान हुने संगठन विभाग प्रमुख काशीनाथ अधिकारी बताउँछन् ।
‘पार्टी बन्नलाई आधारभूत तहका कार्यकर्ता सक्रिय हुन आवश्यक छ । जनतासँग जोडिने कमिटीमा खेप्नु परिरहेको समस्या पहिचान र समाधानको योजना निर्माण आवश्यक छ,’ अधिकारी भन्छन् ।
जनतासँग जोडिएर संगठन निर्माण अभियान चलाउँदा यसपटक एमालेले सामाजिक सञ्जालको उपयोगलाई अधिकतम उपयोग गर्ने नीति लिएको छ ।
‘संगठन संरचनामा हामी बलियो छौं । तर बढ्दो सूचना प्रविधिको पहुँचले सामाजिक सञ्जाल प्रयोग गर्नु मानिसको जीवन प्रणाली नै बनिसक्यो’ स्थायी कमिटी सदस्य भानुभक्त ढकाल भन्छन्, ‘अब हाम्रो पार्टी निर्माण अभियान प्रविधिको क्षेत्रबाट पनि हुन्छ ।’
प्रविधिलाई भरपूर उपयोग गर्ने नीति अन्तर्गत यही वर्षभित्रै पार्टी सदस्यहरूको विवरण अनलाइन माध्यममा अपडेट गरिसक्ने एमालेको संकल्प छ । स्थायी कमिटी सदस्य ढकाल, आमनागरिकको जीवन प्रणाली सूचना प्रविधिमा आधारित हुँदा पार्टी सञ्चालन प्रणाली पनि परिवर्तन गर्न आवश्यक ठानिएको बताउँछन् ।
अर्थात् आगामी चुनावबाट बहुमत ल्याउन ‘मिसन ०८४’ को लक्ष्य लिएको एमालेले सत्ता, संसद र सडकसँगै सामाजिक सञ्जालको उपयोगलाई सशक्त बनाउने योजना बनाएको छ ।
६ बुँदे संकल्पको अन्तिम बुँदाबाट पनि पार्टी निर्माणको नयाँ क्षेत्रमा एमाले प्रवेश गर्न लागेको उल्लेख छ । ‘यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्ध षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गर्दछ’, संकल्पमा भनिएको छ ।
यसअघि २८ मंसिरमा सम्पन्न सचिवालय बैठकबाट पनि सामाजिक सञ्जाल उपयोग बढाउन एमालेले कार्यकर्ताहरूलाई आह्वान गरेको थियो ।
‘…हाम्रो पार्टीले गलत प्रचारको आलोचना गर्नुपर्छ, खण्डन गर्नुपर्छ, सही विचारहरूको पक्षमा दृढतापूर्वक उभिनुपर्छ’ सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए, ‘गलत कुराहरूको यथोचित प्रतिवाद (राजनीतिक रूपले त्यसको खण्डन) पनि गर्नु, यो कुरामा पार्टी पंक्तिलाई आह्वान गरेको छौं ।’

संगठन विभागको कार्यशालामा (२९–३० मंसिरमा) महासचिव शंकर पोखरेलले त सामाजिक सञ्जालको उपयोग नेताहरूको मूल्यांकन गर्ने एउटा मानक नै हुनुपर्ने बताएका थिए ।
‘नेताहरूको मूल्याकंनको एउटा आधार सामाजिक सञ्जालमा पार्टी मान्यताहरूको रक्षा र अफवाहरूको प्रतिवाद उसले कसरी गर्छ भन्ने हुनुपर्छ,’ महासचिव पोखरेलले भनेका थिए, ‘तर सामाजिक सञ्जालको सक्रियता एउटा मूल्यांकनको सम्पूर्ण आधार होइन ।’
नयाँको दबाबमा एमाले
यसरी पार्टीको औपचारिक फोरममा अहिले यस्तो निर्णय गरिए पनि आन्तरिक प्रशिक्षणहरूमा नेताहरूले सामाजिक सञ्जालको उपयोग बढाउन निर्देशन दिंदै आएका थिए । सामाजिक सञ्जालमा लाइक, कमेन्ट र सेयर बढाउन निर्देशन दिने क्रममा उपमहासचिव विष्णु रिमाल त विवादमै परेका थिए ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा फलोअर बढाउन निर्देशन दिने क्रममा उपमहासचिव रिमालले धरानका मेयर हर्क साम्पाङको समेत उदाहरण दिएका थिए । काठमाडौं महानगरका मेयर बालेन, रास्वपाका सभापति रवि लामिछानेसँगै धरानका मेयर साम्पाङबारे दिएको अभिव्यक्ति विवादमा परेपछि रिमालले प्रष्टोक्ति नै दिनुपरेको थियो ।
नेताहरूका अनुसार रिमाल विवादमा परेर चर्चामा आएपनि अहिले पार्टीका हरेकजसो प्रशिक्षणमा सामाजिक सञ्जालको प्रयोग बढाउन प्रोत्साहन गरिँदै आएको छ । ‘पार्टीका अध्यक्षविरुद्ध भइरहेको गलत प्रचारको खण्डन गर्नुपर्छ । नेताहरूले लेख्ने स्टाटस सेयर गर्नुपर्छ भन्ने निर्देशन भइरहेको छ,’ बागमती प्रदेशका एक नेता भन्छन्, ‘नेताहरूमा सामाजिक सञ्जाल पनि पार्टीको कामको अनिवार्य क्षेत्र हो भन्ने बुझाइ छ ।’
२०७९ को आमचुनावमा रवि लामिछाने, बालेन र हर्कहरूले पाएको अप्रत्याशित मतको आधार सामाजिक सञ्जालमा हुने प्रचार नै भएको एमाले नेताहरूले निष्कर्ष छ । यद्यपि सस्तो प्रचारबाजीबाट बनेको जनमत दिगो नहुने पनि उनीहरूको तर्क छ ।

तर पनि सामाजिक सञ्जालको उपयोग बढाउनैपर्नै दबाबमा एमाले नेतृत्व परेको देखिन्छ । बेलाबेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा देखिने लफडा त्यसैको उदाहरण हो ।
गत भदौ दोस्रो साता काठमाडौं मेयर बालेनका समर्थकहरूबाट प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको फेसबुक पेज अनफलो अभियान चल्यो । असंगठित समूहबाट चलेको त्यो अभियानबाट एमाले नेताहरू त्रसित देखिए ।
महासचिव पोखरेलले स्टाटस लेखेरै ओलीको पेज फलो गर्न निर्देशन दिनुले अनफलो अभियानको डर कुन तहसम्म थियो भन्ने बुझ्न सकिन्छ । ह्यास ट्यास अनफलो अभियानको विपक्षमा फलो अभियान चलाइनुमा ओलीको लोकप्रियता घटेको सन्देश नआजोस् भन्ने नेताहरूको बुझाइ कारण थियो ।
अहिले त प्रधानमन्त्री ओलीको पेजमा फलोअर नदेखिने बनाइएको छ । तर पार्टीले कार्यक्रम नै बनाएर सामाजिक सञ्जालमा कार्यकर्ता उतार्ने अभियान सुरु गरेको छ ।
स्थायी कमिटी सदस्य ढकालका अनुसार, आगामी चैतसम्म चल्नेगरी तय गरिएको वडा केन्द्रित अभियानमा कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल उपयोगबारे प्रशिक्षण दिइनेछ । ‘सामाजिक सञ्जाल र सञ्चारका नयाँ क्षेत्रमा कसरी जाने भन्ने ठोस कार्यक्रम बनाइएको छैन तर, यसको सैद्धान्तिक पक्ष प्रस्ट पार्दै नेतृत्व र नीतिको रक्षामा उत्रन आग्रह गरिंदैछ’, ढकालले भने ।
केन्द्रीय सदस्य विष्णु रिजाल पनि भर्चुअल क्षेत्रको बिस्तार र यसको दुरुपयोग रोक्न पनि पार्टीले यसतर्फ ध्यान दिनुपरेको बताउँछन् । ‘सामाजिक सञ्जालको क्षेत्र असाध्यै व्यापक भयो । संसारभरि फैलिएका मानिस भर्चुअल माध्यमबाट क्षणभरमै सूचित हुन थाले’ रिजाल भन्छन्, ‘सत्य कुरा लिएर हामी त्यो माध्यममा गएनौं भने त्यहाँ गलत सूचना स्थापित हुनेछ । त्यसैले अबको पार्टी कामको एउटा मुख्य क्षेत्र भर्चुअल संसार हो ।’
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4