
काठमाडौं । अस्ट्रेलियामा नेपाली संगीत बजार विस्तार भएको देखिन्छ । फिल्म मात्र होइन, नेपाली संगीत सुन्ने श्रोता र दर्शकको संख्या त्यहाँ उच्च हुन थालेको छ । अहिले दैनिकजसो नेपाली गीत युट्युबको अस्ट्रेलिया चार्ट्समा ट्रेन्डिङ हुन थालेका छन् ।
आइतबार (२९ डिसेम्बर)मा चार नेपाली गीत युट्युब चार्टको ट्रेन्डिङमा छन् । एकैदिन यतिधेरै नेपाली गीत अस्ट्रेलियाको युट्युब चार्टमा ट्रेन्डिङ भइरहेको यो सम्भवतः पहिलोपटक हुनुपर्छ ।
प्लाटफर्मका सबैभन्दा लोकप्रिय गीतलाई सम्बन्धित टेरिटोरीभित्र दैनिक कति हेरिएको छ भन्ने ट्रेन्डिङको आधारमा युट्युबले सूची तयार पार्छ । जसमा नेपाली फिल्म ‘ऊनको स्वीटर’मा समावेश सुजन चापागाईंको गीत ‘मखमली’ अस्ट्रेलियामा सातौं स्थानमा छ ।
सुशान्त केसीको ‘बार्दली’ २२ औं स्थानमा छ । एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ २८ औं स्थानमा छ । फिल्म ‘खुस्मा’मा समावेश एसडी योगी र शान्तिश्री परियारको गीत ‘रुकुम मैकोट’ ७४ औं स्थानमा छ । रोचक के छ भने ‘रुकुम मैकोट’ पुनः ट्रेन्डिङमा फर्किएको छ ।
केही मुलुकमा ‘मखमली’ शीर्ष ट्रेन्डिङमा
वैशाख २६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ केही मुलुकमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । यो गीत नेपालमा शीर्षस्थानमा छ ।
माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र यूएईमा चौथो, कुवेतमा १९ औं स्थानमा रहेको जनाइएको छ । बिहीबार साँझ रिलिज भएको यो गीत १० लाखभन्दा धेरैपटक युट्युबमा हेरिएको छ । टिकटक र फेसबुक रिल्समा लाखौं युजरले भिडियो बनाएका छन् ।
गीतको टिजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकको रुचि बढेको थियो । ‘ट्रेन्डिङको अर्थ दर्शकले फिल्म हेर्न व्यग्र प्रतीक्षा गरिरहेका छन्,’ निर्देशक नवीन चौहानले भने ।
गीतमा गण्डकी प्रदेशमा प्रसिद्ध चुड्का र कौडा भाकालाई समेटिएको छ । यो फिल्मको गीतमा विपिन कार्की र मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । पाँचथर र नेपाल-भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो फिल्मका गीत रुचाइएका छन् ।
प्रतिक्रिया 4