 
																			१८ पुस, काठमाडौं । विधेयक, कानुन निर्माण सहजीकरण कार्यदलले समितिमा विचाराधीन विधेयकलाई छिटो पारित गर्न फोकल पर्सन तोक्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको विधेयक कानुन निर्माण सहजीकरण कार्यदलले सो निर्णय गरेका नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।
‘विधेयकका बारेमा उठेको कतिपय अन्तरवस्तुका बारेमा समीक्षा गर्यौँ । दुवै दलले संसदको ६ वटा समितिहरूमा विधेयकहरू छन्, अर्थ समितिमा ५, राज्य व्यवस्थामा ४, शिक्षा २ वटा, पूर्वाधारमा २ वटा, कानूनमा एउटा र उद्योगसँग सम्बन्धित समितिमा एउटा छ,’ बर्तौलाले भने, ‘यो विधेयक रहेका समितिको कांग्रेस र एमाले दुवैले फोकल पर्सन तय गर्ने निर्णय गरेका छौँ ।’
उनका अनुसार फोकल पर्सन (विषयगत रुपमा जिम्मेवारी दिएका व्यक्ति) सहितको बैठक २४ पुसमा बस्ने गरी तय भएको छ । संसदीय काम र प्रक्रिया हरेक सांसदको पहिलो काम भएकाले सोहीअनुसार लाग्न सांसदहरूसँग आग्रह गरिएको पनि उनले बताए ।
‘२४ गते दुवै फोकल पर्सनसहितको बैठक आयोजना गर्छौं । त्यसपछि विषयगत समितिका सभापतिसँग छलफल गर्नेछौँ । सम्बन्धित मन्त्रीहरूले अधिकतमसमय दिनेगरी थप छलफल गर्नेछौँ,’ बर्तौलाले भने ।
बैठकमा सरकारका मुख्यसचेतक तथा नेकपा एमालेका प्रमुखसचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुखसचेतक श्याम घिमिरे, नेपाली कांग्रेस संसदीय विभाग प्रमुख जीवन परियार, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका सचेतक सुनिता बराललगायतको उपस्थिति थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4