+
+

कर्णाली सरकारले जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको शेयर किन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १६:३१

१९ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले डोल्पा रहेको जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको शेयर किन्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शेयर किन्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

१२० मेगावाट क्षमता रहेको उक्त आयोजनाको निर्माण कम्पनीले आह्वान गरेको शेयरमध्ये ४१ करोड ४९ लाख ३० हजार ३६० रुपैयाँ बराबरको शेयर लगानी प्रदेश सरकारले गर्ने निर्णय गरेको हो ।

उक्त आयोजनाको संस्थापक सेयर धनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ । यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

शेयर धनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

आयोजनाको कुल लागत २३ अर्ब रुपैयाँ बराबर रहेको छ । जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी ६.१ किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ इलमा विद्युत्‌गृह निर्माण हुनेछ ।

यस्तै, बैठकले वित्तीय सुशासन जोखिम मुल्या‌ंकन कार्यविधि स्वीकृत गरेको छ । कर्णाली प्रदेश जलचर संरक्षण विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत समेत प्रदान गरेको सरकारका प्रवक्ता शाहले बताए ।

उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबिच विकास तथा समृद्धिका लागि गरिएका प्रतिबद्धता अनुमोदन समेत गरेको छ ।

कर्णाली प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना पारित, कर्णाली प्रदेश आमसञ्चार व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि बनेको सैद्धान्तिक अवधारणापत्र स्वीकृत र कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरिएको छ भने मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम कार्यविधि स्वीकृत गरिएको छ । यस्तै विद्यालय पूर्वाधार विस्तार सुधार कार्यक्रम कार्यविधि, महिला उद्यमी पुरस्कार वितरण कार्यविधिदेखि वृत्ति मार्ग निर्देशन सेवा केन्द्र सञ्चालन कार्यविधि स्वीकृत गरिएको प्रवक्ता शाहले जानकारी दिए ।

बाल गृह स्थापना तथा सञ्चालनको विषयमा पनि निर्णय भएको छ भने स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, ०८१ स्वीकृत गरिएको छ । कर्णाली प्रदेश जीवनाशक विषादी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको सरकारका प्रवक्ता शाहले जानकारी दिए ।

कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?