
२१ पुस, काठमडौं । पुस १६ मा काठाडौं महानगर पालिकाले विषयगत शिक्षकको तालिम २१ गते आइतबारदेखि गर्ने सूचना निकाल्यो । तर सूचना ढिलो निकालेको भनेर शिक्षकहरूले तालिम नलिने निर्णय गरे । जसका कारण महानगरले गर्न लागेको तालिम अनिश्चतसँगै महानगर र शिक्षकबीच दूरी बढेको छ ।
१८ गतेबाट जाडो बिदा भएकाले तालिममा सहभागी हुन नसकिने शिक्षकहरूको भनाइ छ । ‘जाडो बिदा भएकाले १७ गते नै शिक्षकहरू घर जानुभयो। जाडो बिदामा नगर्नुहोस् भनेको हो । एसईई सकिएपछि गर्न महानगरलाई भनेका छौँ,’ नेपाल शिक्षक महासंघ काठमडौं महानगरपालिका अध्यक्ष राजेन्द्र अधिकारीले भने ।
अधिकांश विद्यालयका प्रधानाध्यापकको बैठक बसेर शिक्षकलाई तालिममा नपठाउने निर्णय गरेको अधिकारीले बताए । ‘प्रधानाध्यापकहरूको बैठकले तालिम स्थगन गर्न भनेको छ । हेडसरहरूले शिक्षकलाई तालिममा पठाउनु भएको छैन,’ उनले भने ।
महानगरले भोलि सोमबार पनि तालिम राखेको छ तर शिक्षकहरूले नजाने बताएका छन् । महानगरले जो आउँछन् उनीहरूलाई तालिम दिलाउने बताएको छ । यदि शिक्षक नआएमा तालिम नहुने महानगर शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए । ‘आवश्यकता हुनेले लिने हो । शिक्षक आउनु भयो भने तालिम हुन्छ । आउनु भएन भने हुँदैन,’ उनले भने । तालिमको सूचना निकाल्न ढिलाइ भने भएको उनको भनाइ छ ।
‘नयाँ पाठ्यक्रम आएपछि तालिम चाहिने भनेर शिक्षकहरूले नै भन्नु भएको थियो । नयाँ पाठ्यक्रमका लागि शिक्षकको स्किलका लागि तालिम राखेका हौँ । सूचना ढिला भएकाले कम्युनिकेशनमा ग्याप भएको हो । अर समस्या छैन,’ उनले भने ।
शिक्षकहरूले बिदामा घर गएको बताए पनि झाले अहिले पनि कतिपय विद्यालयमा अतिरिक्त कक्षा चलिरेहको समेत उनले बताए । तालिमका लागि केयू, टियू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका विज्ञहरू तालिमका लागि छनौट गरिएको थियो । तर शिक्षकहरूले तालिम दिने व्यक्तिहरूमाथि पनि योग्यतामा प्रश्न उठाएका छन् । यसरी शिक्षक र महानगरबीच मतभेद सतहमा आएको छ ।
प्रतिक्रिया 4