
२३ पुस, काठमाडौं । सेयर बजारमा फाइनान्स र विकास बैंक सेक्टर बढी उतारचढाव हुन थालेका छन् । कारोबारीले यिनै सेक्टरका कम्पनीलाई चलाउने गरेका छन् ।
कमजोर वित्तीय अवस्थाका बाबजुत पनि यी सेक्टरका कम्पनीको मूल्यबाट कारोबार गर्न जान्नेले राम्रो प्रतिफल पनि लिएका छन् । कारोबार गर्न नजान्नेले भने यिनै सेक्टरका कम्पनीमा सबैभन्दा धेरै गुमाउने गरेका छन् ।
फाइनान्स र विकास बैंक सेक्टरका अधिकांश कम्पनीले लाभांश दिन सक्दैनन्, मात्रै मूल्यमा हुने लाभका लागि कारोबारीहरु सक्रिय छन् । यी सेक्टरमा लाभांश दिने सीमित कम्पनी छन्, जुन कम्पनीको मूल्य उतारचढाव भने न्यून हुने गरेको छ ।
यो वर्ष फाइनान्स सेक्टरका तीन कम्पनी मञ्जुश्री, आईसीएफसी र श्रीइन्भेस्टमेन्टले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरे । यी तीनै कम्पनीको बुक क्लोज भइ नयाँ मूल्य समायोजन भइसकेको छ ।
गत वर्ष पनि यिनै तीन कम्पनीले मात्रै लाभांश दिएका थिए । बाँकी फाइनान्सले लाभांश दिन सक्ने स्थिति छैन ।
त्यस्तै विकास बैंक सेक्टरमा जम्मा ८ वटा कम्पनीले लाभांश दिए । अरुले लाभांश दिन नसक्ने अवस्थामा छन् । विकास बैंक अधिकांशले सेयर बोनसलाई जोड दिएका छन् ।
गरिमाले नगद लाभांश दिएको छ भने सांग्रिला, ग्रीन, मितेरीले बोनस सेयर दिएका छन् । त्यस्तै लुम्बिनी, महालक्ष्मी, साइन र कामना सेवाले नगद तथा सेयर बोनस दुवै दिएका छन् ।
प्रतिक्रिया 4